Prime Minister KP Sharma Oli Left Review Online
 

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिँदै सो कुरा बताउनुभएको हो ।

संघीय संसदको प्रतिनिधि सभालाई सम्बिधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म खुसी व्यक्त गर्न चाहन्छु र यस काममा सफलता मिलोस् भनेर मेरो दल, मेरो र नेपाल सरकारको तर्फबाट र सबै साथीहरूको तर्फबाट समेत शुभकामना भन्न चाहन्छु ।”

प्रधानमन्त्री ओलीले सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित हुनु खुसीको कुरा भएको बताउँदै यसले एउटा राम्रो लक्षण देखाएको बताउनुभयो । संविधानको रक्षा र मर्मअनुसार संसदलाई मर्यादित ढंगले अगाडि बढाउन सापकोटा सफल हुनेमा आफू आशावादी रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ।

संसद सञ्‍चालनमा आफू र आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।

एमसीसीलगायत कैयौँ विषय संसदले पारित गर्नुपर्ने अवस्था रहेको बताउँदै यसका बारेमा आफूले पछि विस्तारमा चर्चा गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । संसदको केही समय खेर गएको बताउँदै प्रधानमन्त्री ओलीले अब यसलाई खेर जान दिन नहुने बताउनुभयो ।