काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा करिब ३ घण्टा लामो भेटघाट तथा कुराकानी भएको छ । बिहीबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले गोयलसँग शिष्टाचार भेटघाट गरेको पुष्टि गर्नुभएको हो ।
भारतका सहसचिव तहका कर्मचारीको नेतृत्वमा आएको गुप्तचरहरूको टोलीसँग भएको प्रधानमन्त्री केपी ओलीको भेटघाटलाई सुरुमा गोप्य राख्न खोजिए पनि सो भेटघाट सार्वजनिक भई व्यापक बहस र आलोचना भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले वक्तव्य नै जारी गरी भेटघाटबारेको जानकारी सार्वजनिक गर्न बाध्य भएको हो ।
प्रधानमन्त्री ओलीलाई भारतको जम्बो गुप्तचर टोलीले बुधवार उहाँको निजी निवास बालुवाटारमा भेटघाट गरेको घटनाबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटका क्रममा उनले नेपाल-भारत बिचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको प्रेस नोटमार्फत जानकारी दिनुभएको छ ।
“भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा बिहीबार जारी प्रेस नोटमा उल्लेख गरिएको छ, “भेटका क्रममा उहाँले नेपाल-भारत बिचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।” गोयलको प्रस्तावबारे प्रधानमन्त्रीको धारणा के रह्यो ? यसबारे थापाको प्रेस नोटमा उल्लेख गरिएको छैन ।
नेकपाको पार्टी निर्णय अनुरूप प्रधानमन्त्री केपी ओलीको सरकारले देशको नयाँ नक्शा सार्वजनिक गरेदेखि नै नेपाल-भारत सम्बन्धमा चिसोपना आएको छ, जुन एक प्राचीन साहित्यिक कृति ‘रामायण’ का एक काल्पनिक पात्र ‘राम’को ‘वास्तविक’ जन्म भारतमा नभई नेपालमा भएको भनी कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले मनगढन्ते कुतर्क अघि सारेपछि थप समस्याग्रस्त भएको थियो । तत्पश्चात नेपाल र भारतले सार्वजनिक गरेका नयाँ नक्शाहरू सम्बन्धी वार्ता गर्न र सीमा सम्बन्धी विवादहरू समाधान गर्न नेपाल सरकारले पटक पटक आग्रह गर्दा भारतले अस्विकार गर्दै आएको छ । यस्तो असाधारण परिस्थितिमा कुटनीतिक भ्रमणको नाममा गुप्तचर निकायको जम्बो टोलीले नेपालको भ्रमण गर्नु र आफ्ना समकक्षीलाई नभई सोझै सरकार प्रमुखलाई भेट्नु अत्यन्तै अशोभनीय कुरा भएको विश्लेषकहरूको दावी छ । संसारमा विरलै घट्ने यस्तो घटनाले नेपाल राष्ट्रको स्वाभिमानमा गम्भीर आँच आएको र प्रधानमन्त्री ओलीको यस्तो हर्कतले सम्पूर्ण नेपालीको शिर निहुरेको आम सर्वसाधारणको राय छ ।
त्यसरी नै भारतीय सेनाप्रमुख कात्तिक तेस्रो हप्ता नेपाल आउने र त्यही भ्रमणको तयारी बुझ्ने सिलसिला तथा चिसिएको सम्बन्धलाई पुरानै अवस्थामा न्यानो बनाउन सकिन्छ भन्ने बारेमा अनौपचारिक परामर्श गर्न गोयल नेपाल आएको भनाइले जनतालाई थप आक्रोशित बनाएको छ । विगतमा पनि भारतका सेनाप्रमुखहरू नेपाल आउने जाने भए पनि त्यसको तयारी बुझ्न भारतीय वायु सेनाको जहाज चढेर गुप्तचर विभागको प्रमुख आउनु असामान्य भएको कुटनीतिक वृत्तमा चर्चा छ । यसबाट सरकारप्रति आम जनसमुदायको आशंका बढेको छ । अमेरिकी सैन्य योजना अनुसारको एमसीसी पास गर्न सरकार मतिहत्ते गरेर लागेको, तर सफल नभएपछि संशोधनसहित मात्रै अनुमोदन गरिने पार्टी निर्णय भएको र भारत-चीन सम्बन्ध अति तिक्ततापूर्ण रहेको अवस्थामा भारतीय सेनाप्रमुखको भ्रमण अस्वभाविक भएको सैन्यविद्हरूको राय छ । नेपालको सिमाना दैनिक मिचिइरहेको र कालापानीमा भारतीय सेनाले परेड खेलिरहेको बेला रअ प्रमुख र भारतीय सेनाप्रमुखको नेपाल भ्रमणको कुरो नेपाली जनताको मुटुमा किला बनेर बिझेको छ । कतै यो नेपाललाई सिक्किमीकरणतर्फ लैजाने प्रयासको पूर्व संकेत त होइन ? सर्वत्र प्रश्न उठेको छ ।
प्रधानमन्त्री ओलीको कार्यकाल सुरुदेखिनै विवादित रहँदै आएको छ । सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको, व्यापक रूपमा भ्रष्टाचार तथा स्वेच्छाचारिता बढेको र पार्टी निर्णय उलङ्घनका घटनाहरू घटेको समयमा पार्टीभित्र र आमजनमानसमा सरकारको बारेमा पटक पटक तीव्र आलोचना हुने र कैयौँ पटक प्रधानमन्त्री ओलीको राजीनामा समेत माग्ने गरिएको छ । व्यक्तिगत अहङ्कार, सरकारको असफलता र भ्रष्टाचारीहरूलाई संरक्षण गरेको कारण जनताका बिचमा मात्र अत्यन्तै अलोकप्रिय हुन पुगेका र लामो समयदेखि पार्टीभित्र निरन्तर अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी संकटमा परेको बेला भारतीय गुप्तचर निकायहरूको नेपालमा सक्रियता बढ्ने गरेको छ ।
नेकपाका एक स्थायी समिति सदस्यले विगतमा पनि पटक पटक यसरी नै भारतीय गुप्तचर विभागका प्रमुख र अन्य तल्लो तहका कर्मचारीहरूसँग आफूले भेटघाट गर्ने र आम सञ्चार माध्यममा भने पूर्वप्रधामनमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताहरू क. झलनाथ खनाल र क. माधवकुमार नेपालले भेटेको भनेर झुठा समाचार सम्प्रेषण गरी जनता र कार्यकर्तालाई धोका दिँदै आएकोमा यसपटक भने बालुवाटार त्यसो गर्न असफल भएको बताउनु भयो । उहाँले धोखाघडीमा टिकेको बालुवाटारको सत्तालाई यसपटक आफैले खनेको खाल्डोमा आफै जाकिने अवस्था सिर्जना भएको कुरा लेफ्ट रिभ्यु अनलाइनलाई नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो ।
भ्रम छरेर, झुठो बोलेर, अरूलाई लोभ देखाएर, धम्काएर, तर्साएर त क्षणिक रूपमा सत्ता जोगिएला, जनता र पार्टी कार्यकर्ताको बिचमा केही समयका लागि भ्रम छर्न सफल भए पनि लामो समय त्यस्तो कुरा नटिक्ने बताउनु भयो ।
क. माधवकुमार नेपालले यो सरकार दशैँपछि ढल्छ भनेको केही दिनपछि भारतीय गुप्तचर टोलीलाई नेपालमा बोलाएर नेकपाका आफू विरोधी नेतालाई दोष थोपर्न खोजेको चालबाजी प्रधानमन्त्री ओलीलाई नै उल्टो परेको र ‘पाडो लाटो भएर दुध खाने र कौवा (काग) बाठो बएर फोहोर खाने’ उखान उहाँकै सन्दर्भमा चरितार्थ भएको विश्लेषकहरूको धारणा छ ।
संधैभरि नेपाललाई आफ्नो देशको एउटा प्रान्तजत्तिको समेत व्यवहार नगर्ने र नेपालका अत्यन्तै स-साना कुराहरूमा सुक्ष्म व्यवस्थापन गर्दै आएको भारतीय शासक वर्गका प्रतिनिधिको रुपमा नेपाल आएका ‘रअ’का प्रमुख गोयलसहित भारतीय अधिकारीहरूको विशेष टोली बुधबार भारतीय वायु सेनाको विशेष विमानमार्फत् नेपाल आएको थियो । काठमाडौँ बसाइका क्रममा उनीहरूले केही सरकारी अधिकारीहरू तथा आफ्ना खुफिया संयन्त्रका मानिसहरूसँग अनौपचारिक परामर्श गरी आवश्यक परिचालन गरेको दावी स्रोतले गरेको छ ।
पूर्वप्रधानमन्त्रीद्वय एवं नेकपा अध्यक्ष क. प्रचण्ड र वरिष्ठ नेता क. माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको भन्दै भ्रममा नपर्न आग्रह गर्नु भएको छ । त्यसरी नै नेकपाका नेता क. भीम रावलका साथै धेरै कुटनीतिज्ञहरूले प्रधानमन्त्री ओलीको गोयलसँगको भेटलाई कुटनीतिक मर्यादा विपरित बताउनु भएको छ । आम नेपाली जनताले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको यस कार्यको तीव्र विरोध गरेका छन् । करिब २२ घन्टाको बसाइपछि गोयल बिहीबार नै स्वदेश फर्किएका छन् ।
नेपाली जनता सार्वभौम छन् । बेलायती उपनिवेशवादलाई धुलो चटाएका र आफूलाई विष्णुको अवतार ठान्ने राजा-महाराजाहरूलाई राजदरबारबाट घिस्याएर नागार्जुनको जंगलमा पुराएका नेपाली जनतासँग भारतीय विस्तारवाद र त्यसका नेपाली दलालहरूको विरूद्ध लड्ने हिम्मत र उर्जा अझै ताजै छ । नेपाललाई सिक्किम बनाउन संभव छैन । त्यस्तो चाहने नेपाली हुन् वा विदेशी, तिनलाई धुलो चटाएर तिनको नाक आफ्नो जुत्तामा रगडाउने तागत नेपाली जनतासँग कायमै छ । इतिहासको राजनीतिक तथा सैन्य शिक्षा थप काम लाग्ने छ ।