PM kp sharma oli, prime minister, khadga
 

काठमाडौँ । चीनको उहानबाट सुरू भएको नोवेल कोरोना भाइरसबारे सर्वसाधारण बिच व्यापकरूपमा सन्त्रासको वातावरण फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले नोवेल कोरोना भाइरसको संक्रमणबाट अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभाव र प्रतिक्रियालाई गम्भीर ढंगले नियालिरहेको बताउँदै सो नियन्त्रणमा सक्रियता देखाउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसहितलाई प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक आयोजना गरेर भाइरस संक्रमण नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो । उहाँले कोरोना भाइरसबाट संक्रमितहरूको पहिचान हुनासाथ उच्च सतर्ककासाथ आइसोलेसन कक्षमा पुर्‍याएर गरिने उपचारका लागि आवश्यक सबै तयारी गर्न समेत निर्देशन दिनुभएको जानकारी प्राप्त भएको छ ।

आकस्मिकरूपमा आयोजना गरिएको बैठकमा प्रधानमन्त्री ओली नोवेल कोरोना भाइरसको बढ्दो प्रकोपका बारेमा अत्यन्त संवेदनशील र गम्भीर रूपमा प्रस्तुत हुनुभएको थियो । प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री ढकालसँग संक्रमण नियन्त्रणबारे भइरहेको तयारीको विषयमा जानकारी माग्नुभएको थियो भने संस्कृति तथा पर्यटन मन्त्री भट्टराईसँग भाइरस संक्रमणका कारण ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय कार्यक्रममाथि पर्नसक्ने प्रभावबारे र त्यसलाई निस्तेज पार्न मन्त्रालयको जनशक्ति परिचालनको अवस्थाबारे जिज्ञासा राख्नु भएको थियो । त्यसैगरी परराष्ट्र मन्त्री ज्ञवालीसँग भाइरस संक्रमणलाई नियन्त्रण गर्न कसरी अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्न सकिन्छ भन्ने जिज्ञासा राख्नुभएको थियो ।

आकस्मिक बैठकमा स्वास्थ्य, परराष्ट्र, पर्यटन मन्त्रालयका सचिवहरू समेतको सहभागितामा रहेको थयो । थियो । बैठकमा सहभागी सबैले आ-आफ्नो मन्त्रालय अन्तर्गत भइरहेका पूर्वतयारीका कार्यहरूबारे प्रम ओलीलाई व्रिफिङ गरेका थिए ।

चीनको उहान प्रान्तबाट सुरू भएको नपवेल कोरोना भाइरसले रुघाखोकी, सास फेर्न अफ्ठ्यारो हुने र मृत्यु समेत गराउँछ । चीनसँगै अहिले भारत, नेपाल, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, फ्रान्स, मलेसिया, दक्षिण कोरिया, ताइवान, हङकङ, थाइल्याण्ड,क्यानाडा सिंगापुरमा नोवेल कोरोना भाइरसको संक्रमण देखिएको छ ।