काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेता, वामपन्थी अगुवा तथा समाजवादी अभियन्ता क. स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःखित तुल्याएको बताउँदै उहाँको आदर्श कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुने बताउनुभएको छ ।
आज एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले “हाम्रो पार्टीका राष्ट्रिय सल्लाहकार परिषदका सदस्य कमरेड स्वनाम साथी (शशी शेरचन)को शुक्रवार राति ९ः३० बजे मोडल अस्पताल, काठमाडौँमा असामयिक निधन भएको खबरले हामीलाई दुःखित तुल्याएको” बताउनु भएको छ ।
उहाँले पार्टीको तर्फबाट कमरेड स्वनाम साथीप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
शोक वक्तव्यको पूर्ण पाठः
हाम्रो पार्टीका राष्ट्रिय सल्लाहकार परिषदका सदस्य कमरेड स्वनाम साथी (शशी शेरचन)को शुक्रवार राति ९ः३० बजे मोडल अस्पताल, काठमाडौंमा असामयिक निधन भएको खबरले हामीलाई दुखित् तुल्याएको छ ।
उहाँको जन्म २००७ साल श्रावण १७ गते म्याग्दी जिल्लाको दर्वाङ–२ हाल मालिका गाउँपालिका रातो ढुंगामा बुबा नयन्त्र प्रसाद शेरचन र आमा सुनकुमारीको कोखबाट भएको थियो । संभ्रान्त परिवारमा जन्मेर पनि विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्ति लागि सम्पूर्ण जीवन अर्पण गर्नुभयो ।
कमरेड स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०३३ सालमा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भयो । २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उहाँले किसान आन्दोलन चलाउनुभयो । कमरेड शेरचनको आदर्शपूर्ण पक्ष नै आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो । उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् ।
हाम्रो पार्टी कमरेड स्वनाम साथीप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
११ पौष, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष