६ किसान संगठन, संयुक्त किसान संघर्ष समिति, 6 left peasant organization, joint peasant struggle committee nepal
 

काठमाडौँ । कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले २०८१ चैत्र १५ गते घटाएका  उदण्ड, विध्वंशात्मक तथा आततायी घटनाहरूको तीव्र निन्दा तथा भर्त्सना गर्दै सो दिनका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न माग गरिएको छ । नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालद्वारा आज एक विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो ।

संयुक्त किसान संघर्ष समिति, नेपालद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा “विभिन्न स्वार्थ बोकेका पूर्वपञ्चहरू र कथित राजावादीहरूले यही २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, जडिबुटी, कोटेश्वरसहित विभिन्न स्थानमा २ जना निर्दोष नागरिकको ज्यान जाने गरी घटाएका विध्वंसात्मक गतिविधिहरू, रक्तपातपूर्ण घटनाहरू र तिनबाट उत्पन्न परिस्थितिबारे नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालको गम्भीर ध्यानाकर्षण भएको” बताउँदै, “२०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा भएका ढुङ्गामुढा, नागरिकका घर, पसल, सुपर मार्केट, कार्यस्थल, सार्वजनिक सम्पत्ति, पार्टी कार्यालय, राष्ट्रिय औद्योगिक प्रतिष्ठान र यातायातका साधनहरूमा आगजनी, तोडफोड, लुटपाटसहित राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने, कथित धर्मगुरूहरू गेरुवश्त्र धारण गरेर हिन्दु धर्मावलम्बीहरूकै बेइज्जत हुने गरी प्रहरी र नागरिकमाथि ढुङ्गामुढा गर्ने र टलिभिजनकर्मी सुरेश रजकलाई आगो लगाएर जिउँदै जलाउने लगायतका कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिका उदण्ड, विध्वंशात्मक तथा आततायी घटनाहरूको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ”, भनिएको छ ।

संयुक्त किसान संघर्ष समिति, नेपालमा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ (अन्फा), नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघ सहित ६ प्रभावशाली किसान संगठनहरू आबद्ध रहेका छन् ।

६ वटै किसान संगठनका प्रमुख नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत्र १५ गतेको घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै “चैत्र १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न, सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार गर्न तथा आगामी दिनमा यस्ता घटना घट्न नदिन” नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

संयुक्त किसान संघर्ष समिति, नेपालद्वारा जारी प्रेस वक्तव्यको पूर्णपाठः

विभिन्न स्वार्थ बोकेका पूर्वपञ्चहरू र कथित राजावादीहरूले यही २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, जडिबुटी, कोटेश्वरसहित विभिन्न स्थानमा २ जना निर्दोष नागरिकको ज्यान जाने गरी घटाएका विध्वंसात्मक गतिविधिहरू, रक्तपातपूर्ण घटनाहरू र तिनबाट उत्पन्न परिस्थितिबारे नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाली किसानहरूसहित आम जनसमुदायको अपूर्व त्याग, तपस्या, संघर्ष र बलिदानबाट प्राप्त भएका सीमित लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता पनि पटक-पटक प्रतिगमनको शिकार हुने गरेको, जनता र राष्ट्र कमजोर हुँदा राष्ट्रिय स्वाधीनता, जनजीविका र जनतन्त्र नै खतरामा पर्ने गरेको कटु इतिहास हामीले बेहोर्दै आएका छौँ । जनतालाई अधिकारसम्पन्न हुन नदिने, संघर्षबाट प्राप्त गरेका नैसर्गिक हकअधिकार पटक पटक खोसिने गरेको यथार्थ बुझ्न २०१७ पुष १ गते, २०५८ असोज १८ गते र २०६१ माघ १९ गतेका निकृष्ट उदाहरणहरू पर्याप्त छन् । यसैको निरन्तरताको रूपमा २०८१ चैत्र ६ गते आएको पूर्वराजा श्री (१) ज्ञानेन्द्र शाहको वक्तव्य, चैत्र ९ गतेको प्रहसन, चैत्र १५ गते मञ्चन गरिएका रक्तपातपूर्ण घटनाहरू र विदेशी हस्तक्षेप निम्ताउने गरी भएका भारत र भुटान भ्रमणबाट सबैलाई प्रष्ट भइसकेको छ । अनावश्यक रूपमा प्रहरीले बल प्रयोग गर्दा कीर्तिपुरबासी युवा सबिन महर्जनको निधन भएको छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा ‘सर्वधर्म समभाव’को अन्तर्य बोकेको धर्मनिरपेक्षतालाई विकृत ब्याख्या गर्दै हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने नाममा परस्पर मिलेर बसेका नेपालीहरू र त्यसमा पनि खास गरी किसानहरूको बिचमा फाटो पार्ने, उक्साउने, आपसमा लडाउने र देशमा धार्मिक द्वन्द्व फैलाउँदै त्यसको बलमा प्रतिगमन गर्ने, जनताका अधिकार खोस्ने र देशलाई पछि धकेल्ने कुचेष्टासहित स्वदेशी-विदेशी प्रतिगामी तथा प्रतिक्रियावादी तत्त्वहरूले षडयन्त्र गरिरहेका छन् । यस्ता चरमपन्थी, जनघाती र देशद्रोही गतिविधिविरुद्ध समयमै सचेत, संगठित र संघर्षशील रहनुपर्ने आवश्यकता आज झन्‌ बढेको छ । देशको जनसंख्याको दुईतिहाइ हिस्सा ओगट्ने, राष्ट्रिय अर्थतन्त्रमा एकतिहाइ योगदान गर्ने देशको मुख्य उत्पादक शक्ति एवम्‌ नेपालको लोकतान्त्रिक आन्दोलनको वास्तविक मेरुदण्ड तथा जीवनदायिनी शक्तिको रूपमा रहेका किसानहरू सामन्ती तथा टुक्रे उत्पादन पद्धतिबाट पूर्णरूपमा मुक्त हुन सकेका छैनन् । क्रान्तिकारी भूमिसुधारसहित समग्र कृषि क्षेत्रको रूपान्तरण तथा उत्पादक शक्तिको विकास हुन नसक्दा बाह्य वित्तीय पुँजीको समेत शिकार हुन पुगेकोले देशको अर्थतन्त्र किसानहरूको जीवन र जीविका अत्यन्तै कठिन, कमजोर र परनिर्भर बन्न पुगेको छ । नेपाली किसान-मजदुर र आम जनताको हितमा जनवादी क्रान्ति र समाजवादी क्रान्तिका कार्यभारहरूलाई पूरा गर्दै न्याय, स्वतन्त्रता, समानतायुक्त समृद्ध नेपाल निर्माण गर्ने हाम्रो कार्यभार बाँकी नै छ । तसर्थ वर्तमान व्यवस्थाको विकल्प प्रतिगमन होइन, अग्रगमन मात्रै हुन सक्दछ भन्ने कुरामा हामी सबै सचेत हुन जरुरी छ ।

यसै परिप्रेक्ष्यमा २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा भएका ढुङ्गामुढा, नागरिकका घर, पसल, सुपर मार्केट, कार्यस्थल, सार्वजनिक सम्पत्ति, पार्टी कार्यालय, राष्ट्रिय औद्योगिक प्रतिष्ठान र यातायातका साधनहरूमा आगजनी, तोडफोड, लुटपाटसहित राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने, कथित धर्मगुरूहरू गेरुवश्त्र धारण गरेर हिन्दु धर्मावलम्बीहरूकै बेइज्जत हुने गरी प्रहरी र नागरिकमाथि ढुङ्गामुढा गर्ने र टलिभिजनकर्मी सुरेश रजकलाई आगो लगाएर जिउँदै जलाउने लगायतका कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिका उदण्ड, विध्वंशात्मक तथा आततायी घटनाहरूको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ । सो घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै हामी चैत्र १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न, सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार गर्न तथा आगामी दिनमा यस्ता घटना घट्न नदिन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । साथै, जनआक्रोश बढाउने, बाह्य तथा आन्तरिक जनविरोधी तथा प्रतिगामी शक्तिहरूले खेल्ने र जनाधिकारमाथि प्रहार गर्ने आधार तयार गर्ने गरी देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी, तस्करी, कालोबजारी, नातावाद, कृपापाद र जनविरोधी हर्कतहरू अविलम्ब रोक्न र संयुक्त किसान संघर्ष समिति, नेपालले नेपाल सरकारसमक्ष बुझाएका ६५ बुँदे मागहरू अविलम्ब पूरा गर्न माग गर्दछौँ, अन्यथा सशक्त संघर्षबाहेक अर्को कुनै विकल्प नरहने कुरा यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।

हार्दिक क्रान्तिकारी अभिवादन सहित।

चित्रबहादुर श्रेष्ठ, अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

बलदेव चौधरी, संयोजक, अखिल नेपाल किसान महासंघ (अन्फा)

भैरवराज रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान महासंघ (अप्फा)

सीताराम तामाङ, अध्यक्ष, क्रान्तिकारी किसान महासंघ नेपाल

लोकनारायण सुवेदी, इन्चार्ज, अखिल नेपाल किसान यूनियन

दुर्गाप्रसाद जैसी, अध्यक्ष, अखिल नेपाल प्रगतिशील किसान संघ

मितिः २०८१ चैत्र २१ गते

6 peasant organisation, संयुक्त किसान संघर्ष समिति