Hou Yanqi, HE Ambassador of China to Nepal
 

काठमाडौँ । कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित ‘द काठमाण्डु पोस्ट’ले महान नेता क. माओत्सेतुङको अपमान गर्ने कोशिसलाई जनवादी गणतन्त्र चीनले चिनियाँ जनताको अपमान र चीनको राजनीतिक प्रणालीमाथिको क्रुर आक्रमण भएको बताउँदै गम्भीर आपत्ति जनाएको छ ।

‘द काठमाण्डु पोस्ट’मा फागुन ६ गते (फेब्रुअरी १८ तारिख) मा ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स‘ शीर्षकमा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै जनवादी गणतन्त्र चीनको नेपालस्थित राजदूतावासले एक विज्ञप्ति जारी गर्दै सो प्रतिक्रिया जनाएको हो ।

कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित ‘द काठमाण्डु पोस्ट’को फागुन ६ गते दक्षिण कोरियाबाट प्रकाशित हुने ‘कोरिया हेराल्ड‘ नामक पत्रिकाबाट साभार गरेको जनाउँदै ‘सिकागो ट्रिब्युन‘मा पहिल्यै प्रकाशित लेख साभार गरी पुनः प्रकाशित गरेको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको सामग्रीमा चिनियाँ मुद्रा १०० आरएमबीमा अंकित रहेको चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका प्रणेता, चीनका मात्र नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व तथा सर्वहारा वर्गका महान गुरु अध्यक्ष माओत्सेतुङ (माओ चतुङ) को फोटोमा मास्क लगाएर विकृत बनाउने र अपमानित गर्ने कोशिस गरिएको थियो ।

MAo zedong, mask, the kathmandu post
द काठमाण्डु पोस्टमा जनवादी गणतन्त्र चीनका प्रणेता माओत्सेतुङप्रति अपमान गर्नेगरी छापिएको सामग्री

स्मरणीय छ, विश्व मामिला सम्बन्धी सिकागो परिषद्‌का अध्यक्ष तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का लागि अमेरिकी पूर्वराजदूत रहिसकेका इभो डाल्डरको सो लेख प्रकाशित गर्ने ती दुबै पत्रिकामा विश्वक्रान्तिका प्रेरणाका स्रोत तथा चिनियाँ जनताका प्यारा नेता क. माओत्सेतुङको त्यस्तो फोटो भने छापिएको थिएन ।

चिनियाँ राजदूतावासले ‘द काठमाण्डु पोस्ट’को लेखमा द्वेषपूर्ण मनसायको तस्बिर राखेर चिनियाँ सरकार र नयाँ कोरोनाभाइरस निमोनिया विरूद्ध लड्ने जनताको प्रयासलाई जानाजानी चोट पुर्‍याउन खोजिएको बताएको छ ।

नेपालसँग लामो दौत्य सम्बन्ध रहेको, बिना शर्त नेपालको विकास-निर्माणमा महत्त्वपूर्ण योगदान गर्दै आएको र नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने चीनले दूतावास मार्फत विज्ञप्ति जारी गर्दै सो लेख र फोटोले चिनियाँ जनताको भावनालाई गहिरो चोट पुर्‍याएको, चिनियाँ जनता र सबै क्षेत्रका नेपाली मित्रहरुमा कडा क्रोध र निन्दाको अभिव्यक्ति पैदा भएको पनि जनाएको छ ।