काठमाडाैँ । नेपालबाट प्रकाशित हुने एक अंग्रेजी दैनिक ‘द काठमाण्डु पोस्ट’मा प्रकाशित फोटो तथा सामग्रीले सबै चिनियाँ नागरिक, चीनको सार्वभौमिकता र चीनप्रति घोर अपमान गरेको भन्दै चाइना मिडिया ग्रुप (सीएमजी) ले गम्भीर आपत्ति जनाएको छ ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा ‘द काठमाण्डु पोस्ट’का सम्पादकका नाममा एक पत्र लेख्दै चिनियाँ सरकारी सञ्चार माध्यम चाइना मिडिया ग्रुप (सीएमजी)का नेपाल प्रमुख चाङ युए ‘वर्षा’ले सो सामग्री प्रकाशन गरेकोमा क्षमा याचना गर्न र कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई साथ दिन अनुरोध गर्नुभएको हो ।
लामो समयदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा कार्य गर्नुभएका र नेपालभर वर्षा नामले लोकप्रिय सञ्चारकर्मी चाङ युएले लेख्नुभएको छ, “‘द काठमाडु पोष्ट’को यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ ।”
कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित ‘द काठमाण्डु पोस्ट’को फागुन ६ गते प्रकाशित ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको सामग्रीमा १०० आरएमबीमा अंकित रहेको चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका प्रणेता, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका आदरणीय व्यक्तित्व तथा सर्वहारा वर्गका महान गुरु अध्यक्ष माओत्सेतुङ (माओ चतुङ) को फोटोमा मास्क लगाएर विकृत बनाउने र अपमानित गर्ने कोशिस गरिएको थियो ।
‘द काठमाण्डु पोस्ट’ले मंगलबार प्रकाशित गरेको सो सामग्री अमेरिकी सैन्य अखडा राखी हजारौँको संख्यामा अमेरिकी सेनालाई आश्रय दिइरहेको दक्षिण कोरियाबाट प्रकाशित हुने ‘कोरिया हेराल्ड‘ नामक पत्रिकाबाट साभार गरेको जनाएको छ, जबकी विश्व मामिला सम्बन्धी सिकागो परिषद्का अध्यक्ष तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का लागि अमेरिकी पूर्वराजदूत इभो डाल्डरको सो लेख ‘सिकागो ट्रिब्युन‘मा पहिल्यै प्रकाशित भएको थियो । परन्तु ती दुबै सञ्चारमाध्यममा त्यस्तो फोटो भने प्रकाशित गरिएको थिएन ।
सोहीतर्फ इंगित गर्दै सिएमजीका नेपाल प्रमुख चाङ युए ‘वर्षा’ लेख्नुहुन्छ, “विदेशी सञ्चारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ” । चीनले आफ्ना नेताप्रति उच्च आदरभाव राख्ने बताउँदै उहाँ थप्नुहुन्छ, “तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ ।”
नेपाली भाषा धाराप्रवाह रुपमा बोल्न र लेख्न सक्ने चाङ युएले चिनियाँले मात्र नभई अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको बताउँदै चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए आफूले दिनसक्ने अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सकिने बताउनु भएको छ । उहाँले आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीन बिचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु तथा चीन र चिनियाँलाई घोर अपमान गर्नु भएको दावी गर्दै चिनियाँहरुले नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्ने गरेको समेत उल्लेख गर्नुभएको छ । उहाँले नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्दो सहयोग गरेको पनि स्मरण गर्नुभएको छ ।
चाङ युए ‘वर्षा’ ले फेसबुकमा राख्नुभएको भनाई, जस्ताको त्यस्तैः
आदरणीय सम्पादकज्यू
द काठमाडु पोष्ट
नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित ‘द काठमाडु पोष्ट’को यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ ।
अध्यक्ष माओ चतुङलाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन् । चिनियाँ जन बैंकले निस्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ चतुङको फोटो राखिएको हुन्छ। तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ । यतिबेला चीन कोरोना भाइरसको संक्रमण विरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै चिनियाँहरुले मास्क लगाउने गरेका छन् । चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको छ । तपाईंलाई चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु । अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ। आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो । चीन र चिनियाँलाई घोर अपमान गर्नु हो । हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौं। नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्तो सहयोग गरेकै छन् । कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन् । तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु। रोग र संक्रमणको कुनै भौगोलिक सिमा हुँदैन । रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ । यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सचारमाध्यम पनि पश्चिमा संचारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन ।
आशा छ नेपाली पत्रपत्रिका र संचार माध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन् । अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन् । धन्यवाद।