काठमाडौँ । संघीय प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गर्दै कोरोना भाइरसको परीक्षणलाई तीव्र र फराकिलो पार्न अपिल गर्नुभएको छ ।
सभामुख सापकोटाले एक अपिल जारी गर्दै ‘लकडाउन’बाट प्रभावित विभिन्न क्षेत्रका समुदायलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि बढाएकोमा नेपाल सरकारको प्रशंसा गर्दै दैनिक ज्यालामा निर्भर नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी रहेको पनि उल्लेख गर्नुभएको छ ।
उहाँले कोरोना भाइरसको सङ्क्रमण सङ्क्रमण भयावह हुन नदिन लकडाउन विकल्पहीन भएको जिकिर गर्दै यसको नियन्त्रणका लागि सबैले बाह्य कृयाकलाप बन्दाबन्दी अर्थात लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको र सबैले लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन पनि सबैमा अपिल गर्नुभएको छ ।
अपिलमार्फत सभामुख सापकोटाले सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेको, अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको तथा विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेको उल्लेख गर्दै देशभित्र र बाहिरबाट प्रतिष्ठान र व्यक्तिगत रूपमा भइरहेका सहयोगको सह्राना गर्दै थप सहयोग परिचालनका लागि सचेत गराउनु भएको छ ।
उहाँले प्रतिनिधिसभाको गत फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गरेको स्मरण गराउँदै थप पहलकदमीका लागि सङ्घीय संसद् सदैव तयार रहेको उल्लेख गर्नुभएको छ ।
अपिलमा सभामुख सापकोटाले यो महामारी निश्चय नै लामो समय नरहने तर, यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा सामूहिक प्रतिबद्धतामा निर्भर रहने उल्लेख गर्दै आत्मानुशासन कायम गर्न र यो महामारीलाई परास्त गर्न आह्वान गर्नुभएको छ ।