अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), Flag of ANPFa RC, All Nepal Peasants' Federation (Revolutionary centre)
 

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले भारतका रक्षामन्त्री राजनाथ सिंहले हालसालै उद्घाटन गरेको ‘कैलाश मानसरोवर यात्रा मार्ग’ नेपाली भूमि मिचेर बनाइएको उल्लेख गर्दै त्यसको जोड्दार भर्त्सना गरेको छ भने त्यति लामो बाटो बनेर उद्घाटन हुँदासम्म थाहा नपाएको वा थाहा पाएर पनि विरोध गर्न नसकेको भन्दै नेपाल सरकारलाई नेपाली जनतासँग माफी माग्न भनेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सबैभन्दा ठूलो भातृसंगठको रूपमा रहेको किसान महासंघले अज एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताएको छ ।

किसान महासंघका संयोजक क. हरि पराजुली र सहसंयोजक क. चित्रबहादुर श्रेष्ठद्वारा संयुक्त हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा भारतका रक्षामन्त्री श्री राजनाथ सिंहले चीनको सीमाहुँदै मानसरोवर जोड्ने गरी भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुला जिल्लाको गुञ्जी क्षेत्रसहित कुटी, कालापानी, नाभिढाङ हुँदै लिपुलेकसम्मको नेपाली भूमि मिचेर बोर्डर रोड अर्गनाइजेसन (बिआरओ) द्वारा निर्माण गरी ‘कैलाश मानसरोवर यात्रा मार्ग’को रुपमा प्रचार गरिएको झण्डै ८० किलोमिटर सडक उद्घाटन गरिएको घटनाप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

किसान महासंघले सो घटना नेपालको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि चुनौतीपूर्ण हस्तक्षेप तथा आक्रमण भएको र सन् १८१६ मा भएको सुगौली सन्धि विपरीतको यो कदम नेपाल–भारत बिचको कुटनीतिक तथा दौत्य सम्बन्धमाथिको गम्भीर प्रहार समेत भएको निष्कर्ष निकाल्दै नेपालको दुई तिहाई जनसंख्या ओगट्ने किसानहरुको प्रतिनिधित्व तथा नेतृत्व गर्ने देशको सबैभन्दा विशाल किसान संगठनको रुपमा अखिल नेपाल किसान महासंघ सो घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै भारत सरकारको एक पक्षीय हस्तक्षेपकारी हर्कतको घोर निन्दा तथा भर्त्सना गरेको छ ।

यसका साथै किसान महासंघले भारतीय पक्षलाई नेपाल र नेपाली जनताको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न र सो सडक अबिलम्व बन्द गरी नेपाल–भारतका लिम्पियाधुरा, कुटीयाङ्दी, लिपुलेक, कालापानी, सुस्ता, महेशपुर, पशुपतिनगरसहितका सम्पूर्ण सीमा विवादहरु अबिलम्व वार्ताद्वारा समाधान गर्न अपिल समेत गरेको छ ।

सरकारका सकरात्मक कामहरूको खुला रूपमा समर्थन प्रचार-प्रसार समेत गर्दै आएको किसान महासंघले यसपटक भने छिमेकी भारतले यति लामो सडक मार्ग तयार गरी उद्घाटन गरिसक्दा समेत कुनै जानकारी प्राप्त नगर्नु वा जानकारी प्राप्त गरेर पनि सोप्रति विरोध जनाउन नसक्नुले नेपाल सरकार नेपालको राष्ट्रियता र क्षेत्रीय अखण्डताप्रति गम्भीर हुन नसकेको सन्देश दिएको भन्दै यसबाट राष्ट्रभक्त नेपाली जनताको मनमा गम्भीर आशंका उत्पन्न हुन पुगेकोले सरकारलाई नेपाली जनतासँग माफी माग्दै भारतको भारत सरकारको यो एकपक्षीय हैकमवादी प्रवृत्तिको विरोधमा तत्कालै प्रोटेस्ट नोट जारी गर्ने र कुटनीतिक पहलद्वारा सम्वाद आरम्भ गरी नेपाली भूमिभित्रको सडकखण्डमा नेपाल सरकारको स्वामित्व कायम हुने वैधानिक लिखत गरी सार्वजनिक गर्न जोडदार माग गरेको छ ।

किसान महासंघले भारतसँगका सम्पूर्ण सीमा समस्याको दीर्घकालीन समाधान गर्न र भारतद्वारा मिचिएको सम्पूर्ण नेपाली भूमि फिर्ता गराउन अनुरोध पनि गरेको छ ।

यसका साथै किसान महासंघले नेपाली बहुसंख्यक जनताको प्यारो तथा राष्ट्रभक्त किसान संगठनको रुपमा नेपालको गुमेको भूमि फिर्ता लिन र नेपाली जनता तथा नेपाल राष्ट्रको सार्वभौमसत्ता रक्षा गर्न हामी जनुसुकै बलिदान गर्न पनि तयार रहेको कुरा पनि उल्लेख गरेको छ ।

अखिल नेपाल किसान महासंघद्वारा जारी प्रेस वक्तव्यः

अखिल नेपाल किसान महासंघ
केन्द्रीय समिति

मितिः २०७७ बैशाख २७ गते

प्रेस वक्तव्य

भारतका रक्षामन्त्री श्री राजनाथ सिंहले चीनको सीमाहुँदै मानसरोवर जोड्ने गरी भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुला जिल्लाको गुञ्जी क्षेत्रसहित कुटी, कालापानी, नाभिढाङ हुँदै लिपुलेकसम्मको नेपाली भूमि मिचेर बोर्डर रोड अर्गनाइजेसन (बिआरओ) द्वारा निर्माण गरी ‘कैलाश मानसरोवर यात्रा मार्ग’को रुपमा प्रचार गरिएको झण्डै ८० किलोमिटर सडक उद्घाटन गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो घटना नेपालको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि चुनौतीपूर्ण हस्तक्षेप तथा आक्रमण हो । सन् १८१६ मा भएको सुगौली सन्धि विपरीतको यो कदम नेपाल–भारत बिचको कुटनीतिक तथा दौत्य सम्बन्धमाथिको गम्भीर प्रहार पनि हो ।

तसर्थ नेपालको दुई तिहाई जनसंख्या ओगट्ने किसानहरुको प्रतिनिधित्व तथा नेतृत्व गर्ने देशको सबैभन्दा विशाल किसान संगठनको रुपमा अखिल नेपाल किसान महासंघ यस घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै भारत सरकारको यो एक पक्षीय हस्तक्षेपकारी हर्कतको घोर निन्दा तथा भर्त्सना गर्दछ । भारतीय पक्षलाई नेपाल र नेपाली जनताको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न र सो सडक अबिलम्व बन्द गरी नेपाल–भारतका लिम्पियाधुरा, कुटीयाङ्दी, लिपुलेक, कालापानी, सुस्ता, महेशपुर, पशुपतिनगरसहितका सम्पूर्ण सीमा विवादहरु अबिलम्व वार्ताद्वारा समाधान गर्न अपिल गर्दछ ।

छिमेकी भारतले यति लामो सडक मार्ग तयार गरी उद्घाटन गरिसक्दा समेत कुनै जानकारी प्राप्त नगर्नु वा जानकारी प्राप्त गरेर पनि सोप्रति विरोध जनाउन नसक्नुले नेपाल सरकार नेपालको राष्ट्रियता र क्षेत्रीय अखण्डताप्रति गम्भीर हुन नसकेको सन्देश दिएको छ भने राष्ट्रभक्त नेपाली जनताको मनमा गम्भीर आशंका उत्पन्न हुन पुगेको छ । तसर्थ हामी नेपाल सरकारसँग कुटनीतिक क्षेत्रमा देखिएको आफ्नो कमजोरीप्रति याचना गरी आम नेपाली जनतासँग माफी माग्दै भारत सरकारको यो एकपक्षीय हैकमवादी प्रवृत्तिको विरोधमा तत्कालै प्रोटेस्ट नोट जारी गर्ने र कुटनीतिक पहलद्वारा सम्वाद आरम्भ गरी नेपाली भूमिभित्रको सडकखण्डमा नेपाल सरकारको स्वामित्व कायम हुने वैधानिक लिखत गरी सार्वजनिक गर्न जोडदार माग गर्दछौँ । यसका साथै भारतसँगका सम्पूर्ण सीमा समस्याको दीर्घकालीन समाधान गर्न र भारतद्वारा मिचिएको सम्पूर्ण नेपाली भूमि फिर्ता गराउन अनुरोध गर्दछौँ ।

नेपाली बहुसंख्यक जनताको प्यारो तथा राष्ट्रभक्त किसान संगठनको रुपमा नेपालको गुमेको भूमि फिर्ता लिन र नेपाली जनता तथा नेपाल राष्ट्रको सार्वभौमसत्ता रक्षा गर्न हामी जनुसुकै बलिदान गर्न पनि तयार रहेको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

क्रान्तिकारी अभिवादन सहित ।

हरि पराजुली
संयोजक

चित्रबहादुर श्रेष्ठ
सहसंयोजक