Bishnu Rima, Vishnu Rimal, Advisor, Gefont
 

कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य विष्णु रिमालले प्रधानमन्त्रीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भइरहेको खबरलाई उडन्ते भन्दै खण्डन गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका विष्णु रिमालले अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको ‘प्रधानमन्त्रीको थप उपचारका लागि अमेरिका लैजाने तयारी’ शिर्षकको समाचार ‘भ्रामक’ भएको दावी गर्दै सामाजिक सञ्जालमार्फत खण्डन पनि गरेका छन्

मङ्गलबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत मुख्य सल्लाहकार रिमालले ‘कुन तत्त्वले हाम्रा मिडियाहरूलाई आधारहिन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला ?’ भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजाने विषयमा कुनैपनि छलफल नभएको भन्दै मिडियालाई बतासे नबन्न आग्रह समेत गरेका छन् ।

bishnu rimal tweet

आक्रोश मिश्रित ट्वीटमा रिमालले ‘मिडियामा आउने यस्ता उडन्ते समाचार देख्दा दुःख मात्रै हैन, मिडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ । मुलधारका मिडियाहरुले आफूलाई यसरी ‘बतासे’ नबनाएर उनीहरु कै भलो हुने थियो कि ?’ भनेका छन् ।

केही दिन अगाडि मात्रै एपेन्डिसाइटिसको शल्यक्रिया गरेर त्रिविस्थित मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचार गराइ्रहेका प्रधानमन्त्री ओलीले हिजो मात्रै एक भिडियो संदेशमार्फत आफ्नो स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको बताएका थिए ।