काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको र यो संकट धेरै नरहने बताउनु भएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ले आयोजना गरेको अनलाइन कक्षा सञ्चालन सम्बन्धी भिडियो कन्फ्रेन्समा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।
कन्फ्रेन्समा अध्यक्ष प्रचण्डले भन्नुभयो, “विश्वमा देखा परेको कोरोना भाइरसका कारण झण्डैझण्डै संसार नै लकडाउनमा छ। सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको छ । तर, यो संकट सँधै रहँदैन।’
अध्यक्ष प्रचण्डले हरेक चुनौतीभित्रै सम्भावना हुने भएकाले कोरोना महामारीपछि विश्व व्यवस्थामा फेरबदल आउनसक्ने पनि बताउनु भएको छ ।
“हरेक चुनौतीभित्र अवसर पनि हुन्छ। मानवजातिले भोगेको महामारी यो नै पहिलो होइन। मानवजातिले यस्ता धेरै चुनौती झेलेको छ । अहिलेको परिस्थितिबाट पनि मानवजातिले छिटै मुक्ति पाउनेछ । कोरोना भाइरसका प्रभावपछि विश्व नै नयाँ व्यवस्थातिर जाने सम्भावना छ’ अध्यक्ष प्रचण्डले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले संकटका बिच पनि प्रविधिको प्रयोग गरेर शिक्षकहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै, “संकटले नयाँ शिक्षा प्रणाली, शिक्षामा प्रविधिको प्रयोगको सम्भावना पनि बढेर गएको छ। यस्तो बेला यति महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभएकोमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेताहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।” भन्नुभयो ।
नेकपानिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ले लकडाउनको अवधिलाई सदुपयोग गर्दै देशैभरि अनलाइन कक्षाका लागि शिक्षकहरुलाई तालिम दिएको छ। सातै प्रदेशमा सम्पन्न तालिमबाट २०० भन्दा बढी प्रशिक्षकहरु तयार पारिएको संगठनका अध्यक्ष शंकर अधिकारीले बताउनुभयो ।
बिहीबार कन्फरेन्समा खुला विश्वविद्यालयका कुलपति प्रा.डा. लेखनाथ शर्मा, शिक्षा मन्त्रालयका अधिकारीहरु, विभिन्न शिक्षक संगठनका नेताहरुले शुभकामना मन्तव्य राख्दै प्रशिक्षक-प्रशिक्षण कार्यक्रम मौलिक र अनुकरणीय भएको बताउनु भएको थियो ।