नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालका शोषित, उत्पीडित, देशभक्त र क्रान्तिकारी जनताको नेतृत्वदायी राजनीतिक पार्टी हो । यो नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि हो । यो नेपाली सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता हो र नेपालको भावी सामाजिक क्रान्तिको नेतृत्व गर्न सक्ने एक मात्र शक्ति हो । यो दस वर्षे महान जनयुद्धमा सहभागी भएका र त्यसमा सहभागी नभएका तर नेपालको कम्युनिस्ट आन्दोलनका विभिन्न मोर्चाहरुमा निरन्तर रुपमा निष्ठापूर्वक क्रियाशील रहेका लाखौँ कम्युनिस्ट क्रान्तिकारीहरुको आस्थाको साझा धरोहर हो ।

मार्क्सवाद, लेनिनवाद र माओवादका साथै नेकपा (माओवादी केन्द्र) को सिद्धान्त, विचार, नीति तथा कार्यक्रमलाई निःशर्त स्विकार गर्नेहरु, दस वर्षे महान् जनयुद्धलाई स्विकार तथा सम्मान गर्नेहरु र राष्ट्र, राष्ट्रियता, क्रान्ति तथा पार्टीका लागि सर्वस्व अर्पित गर्न तयार हुनेहरु नै आजको माओवादी केन्द्रमा छन् र हुनु पर्दछ । वर्ग संघर्ष, क्रान्तिमा बल प्रयोगको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्व, निरन्तर क्रान्तिको सिद्धान्त, लेनिनवादी संगठनात्मक पद्धति र जनवादी केन्द्रीयतालाई निशर्त स्विकार गर्नेहरु मात्रै सच्चा मालेमावादी हुन् । वर्गहरुसँगै नीजि सम्पतिको उन्मूलन गर्ने समाजवादी क्रान्तिको ध्येय पूरा गर्न योगदान गर्ने मानिसहरु मात्रै माओवादी बन्न सक्दछन् र माओवादी केन्द्रका नेता–कार्यकर्ता बन्न सक्छन् । नीजि, पारिवारिक वा गुटगत स्वार्थ बोकेका मानिसहरु माओवादी त के बामपन्थी पनि बन्न सक्दैनन् ।

नेपालको समग्र माओवादी आन्दोलन र नेकपा (माओवादी केन्द्र) मुलुकको बामपन्थी आन्दोलनका थुप्रै घटकहरु, नेता–कार्यकर्ताहरु, व्यक्ति–व्यक्तित्वहरु, समर्थकहरु, मतदाताहरु र शुभचिन्तकहरुको साझा तथा सामुहिक लगानी, मेहनत र सद्भावबाट यहाँसम्म आइपुगेको हो र यसकै आधारमा भोलिका दिनमा पनि अगाडि बढ्ने हो । यो कुनै व्यक्ति, परिवार वा गुटको कारणले मात्रै यहाँसम्म आइपुगेको होइन । त्यसैले सामुहिकताको भावना विना माओवादी केन्द्र र माओवादी आन्दोलनको भविष्य संभव छैन । सामान्य तरिकाले पार्टीका भावी कार्यनीति र कार्ययोजनाहरु सफल हुन सक्दैनन् । चाहे संसदीय संघर्षमा होस् वा जनविद्रोहद्वारा सत्ता कब्जा गर्ने सन्दर्भमा । यही आजको यथार्थ हो ।

कम्युनिस्ट पार्टी निर्माण गर्नुको लक्ष्य तथा उद्देश्य पनि अझैसम्म हासिल भएको छैन । जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई पूर्णता दिँदै समाजवादी क्रान्ति सम्पन्न गर्ने र साम्यवाद सम्मको यात्रा तय गर्ने सन्दर्भमा अरु धेरै रगत, पसिना, लगानी, बलिदानी र त्यागपूर्ण संघर्ष बाँकी नै छ ।

२००७ सालको क्रान्ति, २००८ सालदेखिका ठूला ठूला किसान विद्रोह र जनसंघर्षहरु, २०४६ सालसम्मको पञ्चायती कालरात्री, २०४६ सालको संयुक्त जनआन्दोलन, २०५२ सालबाट शुरु भएको सर्वोच्च बलिदानीपूर्ण दस वर्षे महान् जनयुद्ध, १९ दिने संयुक्त जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन, आदिवासी–जनजातिहरुको आन्दोलन, ६ दिने आमहड्ताल र नेकपा (माओवादी)को विभाजन पश्चात विभिन्न घटकहरुबाट भएका विभिन्न संघर्षहरुसम्म आइपुग्दा थुप्रै त्याग, बलिदान र योगदान भएको छ । यी सबै त्याग र बलिदानको सदा सर्वदा उच्च सम्मान गर्नुपर्छ तर त्यतिले मात्रै हामी हाम्रो गन्तव्यमा पुग्न असमर्थ हुनेछौँ ।

नेकपा (माओवादी केन्द्र) चरणवद्ध रुपमा भएका एकता प्रक्रियाहरु र ध्रुवीकरण पश्चात झण्डै ६,००० भन्दा धेरै केन्द्रीय सदस्य र नेताहरु भएको पार्टी हो । यो संसारको सबैभन्दा धेरै केन्द्रीय सदस्य भएको पार्टी पनि हो । विभिन्न पृष्ठभूमि र विभिन्न ढङ्गले सामाजिक–राजनीतिक आन्दोलनमा त्याग र योगदान गरेका मानिसहरुको पार्टी हुनुको नाताले यसभित्र विभिन्न पाटा र पक्षहरु छन् । नेताहरुको यति विशाल पंक्ति भएको पार्टीमा विभिन्न मोर्चाहरुमा बसेर आफूले विभिन्न ढङ्गले योगदान गर्ने इच्छा राख्नु स्वभाविक हो । त्यसलाई अन्यथा मान्नु आवश्यक छैन ।

यतिबेला पार्टीले निर्वाचनलाई समाजवादी क्रान्तिको तयारीसँग जोडेर प्रयोग गर्ने नीति लिएको बेला कैयौँ नेता–कार्यकर्तालाई निर्वाचनको मोर्चा नै क्रान्तिको प्रमुख (कसैलाई त पहिलो र अन्तिम नै) मोर्चा लाग्नु र उमेद्वार बनेर जननिर्वाचित हुने चाहना राख्नु पनि स्वभाविक हो । त्यसमाथि निर्वाचित जनप्रतिनिधिहरुको आकर्षक तलब, भत्ता, सुविधा र अधिकारहरुले मानिसहरुको लोभको ग्रन्थीलाई उत्प्रेरित गर्नुलाई पनि अस्वभाविक मान्न सकिन्न । तर यो सबै भ्रम हो र यसलाई चिर्नु अति आवश्यक छ । समाजवादी क्रान्तिको मूल ध्येय प्राप्त गर्ने सन्दर्भमा यस्ता संसदीय निर्वाचनहरुको कुनै औचित्य छैन । यो समाजवादी क्रान्तिको तयारीको सन्दर्भमा पार्टी स्वयम् र त्यसका नीति तथा कार्यक्रमहरुलाई आम जनताको बिचमा पुराउने एउटा संक्रमणकालीन औजार मात्रै हो । यो भन्दा बढी ठान्नु या त अल्पज्ञान हो अथवा क्रान्तिको लक्ष्यबाट बिचलित हुनुको परिणति ।

नेकपा (माओवादी केन्द्र) यस्तो आन्तरिक परिस्थितिबाट गुज्रिरहेको समयमा देशमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ भने प्रादेशिक सभा र संघीय प्रतिनिधि सभाको निर्वाचन छिटै सम्पन्न हुन गइरहेको छ । यही असोज २९ गते यसले निर्वाचन आयोगलाई समानुपातिक तर्फको उमेद्वारहरुको अन्तिम सूची बुझाउनु पर्नेछ भने कार्तिक ५ गते प्रत्यक्ष तर्फका उमेद्वारहरु चयन गरी उमेद्वारी दर्ता गर्नु पर्ने छ । ६,००० केन्द्रीय नेताहरु भएको पार्टीले १,००० भन्दा कम उमेद्वार चयन गर्नु पर्नेछ । त्यसमाथि प्रत्यक्ष तर्फ एमालेसँग ६०–४०को सहमति भएको छ र वामगठबन्धनका अन्य घटकहरुलाई चित्त बुझाउँदा त्यो संख्या अझै घट्ने संभावना पनि छ ।

यस्तो परिस्थितिमा पार्टी नेतृत्वलाई उमेद्वारहरु चयन गर्नु र त्यसको सूची बुझाउने कार्य अत्यन्तै चुनौतीपूर्ण बन्न पुगेको छ । सबैको आफू जसरी पनि सूचिमा पर्नुपर्ने दावी, गुट–उपगुटका चलखेल, पृष्ठभूमिका आधारमा हुने लबिङ, आफू मात्रै नभएर श्रीमति र नातागोता समेत छुटाउन नहुने दबाब, भूगोल र गैरभूगोलको अन्तरविरोध, पार्टी र जनसंगठनको अन्तरविरोध, व्यक्तिका खल्तिहरुबाट उमेद्वारको नाम निस्कने स्थिति जस्ता पक्षहरुले यो समग्र प्रक्रियालाई झनै जटिल र कठिन बनाउने गर्दछ । त्यसैले निर्वाचनको उमेद्वारी घोषणाको समयदेखि नै पार्टीभित्र तीब्र आन्तरिक अन्तरविरोधहरु बढ्न थाल्छन् र प्रतिस्पर्धीहरुले त्यसको फाइदा उठाउँछन् । साम्राज्यवादीहरु, विस्तारवादीहरु र तिनका स्वदेशी दलालहरुले यस्तै अन्तरविरोधहरुमा चलखेल गर्न थाल्दछन् । तर नेतृत्व स्वयम्का पनि थुप्रै वाध्यताहरु हुन्छन् । उमेद्वारी चयनमा कार्यरत कार्यदलका समेत विभिन्न सीमाहरु हुन्छन् । त्यसैले यो समग्र प्रक्रियालाई एउटा विधि र पद्दतिमा हाल्न सक्नु पर्छ । अन्यथा सिंगो पार्टी र आन्दोलन जटिल अफ्ठ्यारोमा फस्न पुग्नेछ । त्यसैले यो प्रक्रियालाई सहज तुल्याउनका लागि अपनाउन सकिने केही विधि र प्रक्रियाहरुलाई सुझावको रुपमा प्रस्तुत गरिएको छ ।

कसलाई उमेद्वारको सुचीमा नराख्ने ?

१. दोस्रो संविधान सभा रुपान्तरित भई बनेको वर्तमान संसदमा समानुपातिक तर्फबाट निर्वाचित भएका सबैलाई यसपटकको निर्वाचनमा उमेद्वार नबनाउने । अन्य राम्रो र योग्य उमेद्वारको अभावमा प्रत्यक्ष निर्वाचनमा उठाउने सन्दर्भमा यो कुरा लागु हुने छैन ।

२. भर्खरै सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा उमेद्वार भई पराजित भएका कसैलाई पनि कुनै पनि (संघ वा प्रदेश, प्रत्यक्ष वा समानुपातिक) उमेद्वार नबनाउने । गाउँपालिका, नगरपालिका र वडाहरुमा निर्वाचन हारेका व्यक्तिहरुलाई पुनः उमेद्वार बनाउनुले पार्टीमा योग्य नेताहरुको अभाव भएको सन्देश जान्छ र पार्टी स्वयम् लज्जित हुनुपर्ने अवस्था आउँछ । त्यस्तो उमेद्वार स्वयम् पराजित मानसिकतामा हुन्छ भने प्रतिस्पर्धीहरु पहिले नै विजयी मानसिकतामा हुन्छन् ।

३. वर्तमान वा विगतका सरकारबाट पारिश्रमिक सहितको सेवा सुविधा पाउने गरी नियुक्त भएका विभिन्न आयोगहरु, राजदूतहरु वा अन्य सरकारी निकायमा कार्यरत (बहालवाला व्यक्ति) कसैलाई पनि राजीनामा गराई उमेद्वार नबनाउने ।

४. एकै परिवारका सदस्यहरु (श्रीमान्–श्रीमति, बाउ–छोरा आदि) लाई उमेद्वार नबनाउने । यसमा पनि श्रीमान–श्रीमतिको सन्दर्भमा कडाईपूर्वक लागू गर्ने र दुईमध्ये एकलाई मात्रै उमेद्वार बनाउने ।

प्रष्टीकरणः पार्टीका सेलदेखि हेडक्वार्टरसम्म यदि श्रीमान, श्रीमति, छोरा, छोरी, ज्वाईं, बुहारी सहित दस जनालाई उनीहरुको योग्यता र क्षमता अनुसार एउटै कमिटीमा समेत राख्नु पर्यो भने पनि त्यसका लागि सबै तयार हुनु पर्दछ । त्यो उनीहरुले पार्टी र क्रान्तिप्रति गरेको योगदानको पुरस्कार हो र त्यो उनीहरुको अधिकार पनि हो । तर मन्त्री, सांसद, प्रदेश सदस्य र मेयर जस्ता पदहरु राज्यको तलब, भत्ता, सेवा र सुविधा पाउने लाभका पदहरु हुन् । यिनलाई एउटै परिवारमा केन्द्रित गर्दा एकातिर उमेद्वारहरुको जनमत र जनसम्पर्क (व्यक्तिगत नातागोता र इष्टमित्र आदि) को दायरालाई घटाई पराजयको संभावना बढाउँछ भने दुवै विजयी भएका त्यस्तो परिवारमा व्यक्तिको स्तर अनुसारको राज्यसत्ता, पार्टीसत्ता र आर्थिकसत्ताको केन्द्रीकरण हुन्छ । यसले नेतामा नोकरशाही प्रवृति र मातहतका कार्यकर्तामा चाटुकार प्रवृतिको विकास गर्छ । तर आम जनताले भने यसलाई नातावाद र कृपावादको रुपमा घृणा गर्छन् र पार्टीका लागि प्रत्युत्पादक हुन्छ । यो पार्टीभित्र अवसरहरु (लाभका पदहरु)को समानुपातिक वितरणको विरुद्ध र सामाजिक न्यायको सिद्धान्त विपरीत छ । यो कम्युनिस्ट पार्टीमा आर्थिक वर्गउत्थान र साँस्कृतिक भ्रष्टीकरणको एउटा मुख्य कारण पनि हो । तत्कालीन एमाओवादी जनताको बिचमा अलोकप्रिय हुनुको कारण मध्ये यो पनि एउटा हो ।

यस्तो प्रावधानले पार्टी नेता–कार्यकर्तामा रहेको त्यागको भावनाको समेत परीक्षण हुन्छ । एउटा कम्युनिस्ट पार्टीको नेता वा कार्यकर्ता जसले आफ्नो श्रीमान् वा श्रीमति स्वयम्लाई सांसद पदको उमेद्वारीका लागि त्याग गर्न तयार हुँदैन, के ऊ वर्गविहीन र विभेदरहित समाजवादी व्यवस्था निर्माण गर्न कटीबद्ध होला ? उत्तर तत्काल व्यवहारमै आउनेछ ।

यस सन्दर्भमा पार्टी नेताहरु मन्त्री हुँदा परिवारको एक जना भन्दा बढी सदस्यलाई सचिबालयमा राख्न नपाउने र सांसदहरुले परिवारको सदस्यलाई स्वकीय सचिबालयमा राख्नै नपाउने कार्यविधि बनाई लागु गर्नु पर्छ । त्यस्ता पदहरुमा आवश्यकता अनुसार सम्बन्धित विषयका विज्ञहरु, सहिद तथा वेपत्ता परिवार र आर्थिक रुपमा कमजोर कार्यकर्तालाई नियुक्त गर्ने व्यवस्था मिलाउनु पर्छ । यसले आर्थिक सुविधा प्राप्त हुने अवसरहरुलाई फराकिलो दायरामा वितरण गर्छ भने भ्रष्टाचार र अनियमिततामा कमी ल्याउँछ ।

५. विगतमा मन्त्री, सांसद र लाभको पद वा पार्टीको शक्ति दुरुपयोग गरेर भ्रष्टाचार र अनैतिक क्रियाकलापमा जोडिई पार्टीलाई बद्नाम गर्ने नेताहरुलाई उमेद्वार बनाइनु हुँदैन ।

६. पार्टीको भूगोलको जिम्मेवारी लिने तर काठमाडौँमा घरघडेरी जोडेर वा कोठा भाडामा लिएर बसेका नेताहरुलाई पनि संभव भएसम्म उमेद्वार बनाइनु हुँदैन ।

७. विगतमा सभासद् वा सांसद भएर आफ्नो क्षमता प्रदर्शन गर्न, पार्टीको शीर उच्च बनाउन र जनतासँग जोडिन नसकेका नेता–कार्यकर्ताहरुलाई पनि उमेद्वार बनाउनु आवश्यक छैन ।

८. पटक पटक विभिन्न लाभको पदमा गएका तर पार्टीलाई फाइदा हुने काम गर्न नसकेका नेताहरुलाई सुचीबाट हटाउने ।

९. नेतृत्वलाई अगाडि पर्दा दण्डवत प्रणाम सहित चाकरी र चाप्लुसी गर्ने तर पार्टी र नेतृत्व संकटमा पर्दा नेतृत्वको रक्षा गर्न नसक्ने वा नचाहने र ‘सबैसँग राम्रो’ अर्थात् ‘दुश्मनको प्यारो’ बन्ने नाममा विरोधीहरुको खुलेर विरोध र प्रतिरोध गर्न डराउने नेताहरुलाई पनि प्राथमिकताको सुचीमा राख्नु आवश्यक छैन ।

१०. त्यति गर्दा पनि गाह्रो भए २०६४को निर्वाचनमा समानुपातिक सभासद भएकाहरुलाई पनि उमेद्वारको सुचीबाट हटाइदिन सकिन्छ ।

कसलाई सुचीको प्राथमिकतामा राख्ने ?

१. उमेद्वारीको सुची बनाउने सम्बन्धमा पार्टीको नीति, विचार र कार्यक्रम प्रति पूर्ण रुपमा प्रतिवद्ध एवम् संसद र सरकारको कामलाई समाजवादी क्रान्तिको तयारीसँग जोड्न सक्ने क्षमता र प्रतिभा भएका नेता–कार्यकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखिनु पर्छ ।

२. विगतमा संसद, सरकार र पार्टीमा महत्त्वपूर्ण भूमिकाहरु कुशलतापूर्वक निर्वाह गरेका र विवादमा नपरेका वा कम विवादमा परेका सिनियर नेताहरुलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भने यसभन्दा अगाडि कुनै पनि लाभको पदमा नगएका सिनियर नेताहरुलाई पनि प्राथमिकतामा राख्नु पर्छ । सिनियर नेताहरुलाई यथासंभव प्रत्यक्ष तर्फ उमेद्वार बनाउनु पर्छ ।

३. ‘लाल र दक्ष’ तथा ‘थ्री इन वन’को सिद्धान्तमा आधारित भई बहुमुखी प्रतिभा भएका र संसद तथा सरकारको मोर्चामा पुगेर पार्टीको नीति, विचार र वर्गीय पक्षधरतालाई दह्रोसँग प्रस्तुत गरी पार्टीको शीर उँचो पार्न सक्ने नेता–कार्यकर्ताहरुलाई प्राथमिकता दिने ।

४. प्रत्यक्ष तर्फको निर्वाचन क्षेत्रमा भूगोलमा बसेर काम गरेका नेता तथा कार्यकर्ताहरुलाई प्राथमिकता दिनुपर्छ । यो भूगोलमा बसेर उनीहरुले गरेको कामको मूल्यांकन हो । यसले भूगोलका नेता–कार्यकर्तालाई थप जिम्मेवार बनाउँछ ।

५. समानुपातिक तर्फ भूगोलमा काम गर्नेहरुको साथै जनवर्गीय संगठन र पार्टीको केन्द्रीय कार्यालयमा रहेर देशव्यापी भूमिका खेल्नेहरुलाई पनि प्राथमिकतामा राखिनु पर्छ । सबै तह र तप्कामा भूगोल पार्टीमा काम गरेका मानिसहरुलाई मात्रै उमेद्वार बनाउनु पर्छ भन्ने ‘भूगोलवादी’ संकृण मानसिकतालाई चिर्नु पर्छ ।

६. पार्टी एजेण्डालाई विभिन्न क्षेत्रमा जोडेर काम गर्न सक्ने जनवर्गीय संगठनका नेता–कार्यकर्ताहरु र विषय विज्ञहरुलाई पनि समावेश गर्नुपर्छ ।

७. पार्टी र पार्टी नेतृत्व संकटमा पर्दा पार्टी र नेतृत्वको रक्षार्थ आफूलाई निर्भिकतापूर्वक प्रस्तुत गर्ने तर आवश्यक पर्दा आलोचनात्मक चेतको समेत प्रयोग गर्न सक्ने नेता–कार्यकर्ताहरुलाई प्राथमिकता दिनु पर्छ । यसले आफ्नो वर्ग, पार्टी संगठन, पार्टी नीति र नेतृत्व प्रतिको वफादारितालाई बढावा दिन्छ ।

८. पार्टी संगठन र जनवर्गीय संगठनहरु मार्फत् पार्टी र क्रान्तिका उत्तराधिकारी बन्ने संभावना बोकेका सैद्धान्तिक–वैचारिक नेता–कार्यकर्ताहरुलाई उच्च महत्त्व दिनु पर्छ ।

९. सहिद तथा वेपत्ता परिवार, आधारभूत वर्गका नेता–कार्यकर्ताहरु र तिनमा पनि संसद र पार्टीको मोर्चामा क्षमता प्रदर्शन गर्न सक्ने नेता–कार्यकर्ताहरुलाई प्राथमिकता दिनु पर्छ ।

१०. विभिन्न घटक र धाराहरुबाट समुहगत वा व्यक्तिगत रुपमा पार्टी एकता र ध्रुवीकरण प्रक्रियामा आएकाहरुको समावेशीकरणलाई पनि ध्यान दिनु पर्दछ ।

अन्त्यमा, बाम गठबन्धन बनेको छ । यसले निर्वाचनमा थप उर्जा प्रदान गरेको छ । यसलाई बचाउन र लागु गर्न इमानपूर्वक लाग्नु पर्छ । तर कथमकदाचित बाम तालमेल भाँडिएको र अरुबाट धोका पाएको अवस्थामा नेकपा (माओवादी केन्द्र)ले आफ्नै ढंगले पनि निर्वाचन जित्न सक्ने गरी तयारी गर्नु जरुरी छ र सोही अनुसार उमेद्वारी चयन गर्नुपर्छ । विगतमा मतदाता नामावलीमा नाम छुटेका हजारौँ समर्थक मतदाताको नाम थपिएको छ । हाम्रो पक्षमा जनलहर बढिरहेको छ । हामीसँग यो भन्दा तल झर्नुपर्ने कारण छैन, तर सुधार गर्ने संभावना धेरै छ ।

  • लेखक नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा किसान नेता हुन् ।