निर्वाचनको परिणाम बारेः
मंसिर २१ गते देशले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गरेर नेपाली राजनीतिक सत्तामा नयाँ रेकर्ड बनाएको छ । नयाँ संविधान कार्यान्वयनको चुनौतीको रूपमा रहेको केन्द्रीय सभा र प्रदेश सभाको चुनाव एकैपटक सफलतापूर्वक सम्पन्न गर्नु खुशीको कुरा हो । यसका लागि नेपाल सरकार धन्यवादको दाबेदार हो । र, सबैले धन्यवादसहित आभार व्यक्त गर्दा नोक्सानी हुँदैन ।
जहाँसम्म परिणामको कुरा छ, त्यो स्पष्ट छ कि नेपालमा कम्युनिस्टको बाहुल्यता थियो, रहेछ र छ, किनभने नेपालको राजनीतिक व्यवस्था र आर्थिक सत्ताले गरेको निम्न आय भएका गरिबमाथिको उत्पीडनले मुक्ति खोज्दै बसेको नेपाली जनतालाई कम्युनिस्ट फेला पर्यो । यो नै जनताको परिवर्तनको इच्छाको विकल्प थियो ।
यतिबेलाको परिणाम हेरेर जरो नदेखी निष्कर्ष निकाल्ने विद्वानहरूलाई अफ्ठ्यारो परेको छ कि यो परिणाम कसरी आयो । विषय स्पष्ट छ, अत्यधिक मत भएका तर जुट्न नसकेका कम्युनिस्ट यो चुनावमा एक भए । अमूर्त र विकेन्द्रित कम्युनिस्ट समर्थक मत यतिबेला केन्द्रित भयो र सिट बढ्यो ।
नेपालमा घट्ने हरेक घटनाबारे अमेरिकामा बसेर गरिने विश्लेषणले यतिको परिणामलाई स्वभाविक मान्दैन तर भएको त्यही हो ।
सपना केजरिवाल, परिणाम हरिकङ्गालः
डा. बाबुराम भट्टराई माओवादीबाट भाग्नेबेला आफूलाई अब्बल नेताको रूपमा दाबी गर्दै भारतका मोदी र केजरिवाल बन्नसक्ने भन्दै भाग्नुभयो । र, केही साथीहरू भन्ने गर्थे, प्रचण्डसँग बसेर बाबुरामको भलो हुँदैन । हुन पनि उहाँ संविधान जारी गरेर मोदी बन्न जानुभयो । उहाँको नाराबाट हौसिएर भोका कुकुरका बिचमा ढुङ्गा फाल्दा कुकुरहरू झुम्मिएझैँ केही बुद्धिजीवी, पूर्वकर्मचारी पनि उहाँको पछि दौडिए । तर बिस्तारै सुङसाँङ गरी आ-आफ्नो ठाउँ फर्किए । संभवत बाबुराम जीको बाहिरी योजनाबद्ध प्रचार, जुन माओवादीलाई कमजोर बनाउने भारतीय योजना थियो, नबुझेकाहरू पछि लागे पनि राजनीतिक र संगठनात्मक योजनामा देखा परेका दुर्बलतापछि सबै पछि हटे ।
बाबुराम जीलाई लागेन कि उहाँलाई प्रचण्डले टुप्पी समातेर तान्नु भयो । उहाँलाई लाग्यो कि मेरो विषय विज्ञताले म यहाँसम्म आइपुगेँ । मेरो कारणले पो प्रचण्ड छ । बाबुराम जीले यो पनि देख्नु भएन कि डाक्टरी गरेका अरू पार्टीमा पनि छन् तर उनीहरू नेतृत्वमा छैनन् । कम शैक्षिक योग्यता भएकाले डाक्टरलाई कमान गरिरहेका छन् ।
वास्तवमा एउटा कुनै विषयको विज्ञ हुने कुरा र समग्र राजनीति बुझेर कमाण्ड गर्ने फरक कुरा हो, जुन कुरा बाबुराम जीलाई मुखले नबोले पनि वा नस्विकारे पनि (स्विकार्ने त उहाँको शव्दकोषमा हुँदैन) मनमा लागेको हुनुपर्छ ।
अहिलेको निर्वाचन परिणामले उहाँलाई केजरिवाल होइन, हरिकङ्गाल बनाइदियो । तर उहाँको ठेक्का त पूरा भयो । त्यो भनेको माओवादी कमजोर बनाउने थियो । फेरि पनि, आफू प्रचण्डभन्दा माथि हुने सपना भने हुरीले उडायो भन्दा अन्यथा नहोला ।
याे पनि पढ्नुहाेस्ः एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड
याे पनि पढ्नुहाेस्ः मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण