ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा, Luiz Inácio Lula da Silva
 

“म क्युबाली जनतालाई भन्न चाहन्छु कि आफ्ना डाक्टर र मेडिकल कलेजहरूप्रति गर्व गर्नुहोस् ।”, ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा भन्छन्, “ब्राजिलमा तपाईँले लाखौँ जनताको प्रशंसा र सम्मान पाउनु भएको छ ।”

ब्राजिलको क्युरिटिबा जेलबाट पठाइएको र विद्रोही युवा (क्युबाली कम्युनिस्ट पार्टीकाे युवा संगठनकाे मुखपत्र) मा प्रकाशित पत्रमा लुला आफ्ना “क्युबाली प्यारा मित्रहरूलाई” सम्बोधन गर्दै लेखेका छन् कि स्वास्थ्य कुनै वस्तु होइन, यो कुनै निजी सम्पति हाेइन ।

“स्वास्थ्य जीवन हो । जीवनमा कुनै पनि कुरा गर्न सक्नु नै जीवनको पहिलो सर्त हो । स्वास्थ्य सेवालाई अन्य कुनै व्यवसाय जस्तै गरेर बजारीकरण गर्न मिल्दैन । त्यो काम जसले जनताको स्वास्थ्य हेर्छ, त्यो अति सुन्दर कार्य हो । यो एक लक्ष्य हाे, यो एउटा दयालु कार्य र छिमेकीप्रतिकाे आत्मीयता हो ।”, उनी लेख्छन् ।

उनी थप्छन, “ब्राजिलमा जहाँ क्युबाली डाक्टरहरू गए त्यहाँ ब्राजिली डाक्टरहरू थिएनन्, दूरदराजका गाउँबस्तीहरूमा जहाँ गरीब आदिवासीहरू बसोबास गर्दथे, त्यहाँ कहिल्यै स्वास्थ्यकर्मीहरू पुगेनन् ।”

उनीहरू (क्युबाली डाक्टरहरू)लाई ल्याएकोमा राष्ट्रपति डिल्मा रुसेफको धेरैले आलोचना गरे । उनीहरू बिना काम गर्न सक्नु कति राम्रो हुन्थ्यो होला ! ब्राजिलका भित्री र दूरदराजका हरेक कुनाकाप्चाका लागि आवश्यक, प्रशस्त डाक्टरहरू थिए । क्युबाली जस्तै हामी पनि डाक्टर निर्यात गर्न सक्ने भएको भए कति राम्रो हुने थियो, ब्राजिलका वर्कर्स पार्टीका नेता लुला भन्छन् ।

ल्याटिन अमेरिकी टापु (क्युबा)ले विश्वभर आफ्ना डाक्टर निर्यात गरेको कति राम्रो देखिएको छ । प्रायः धनी देशहरूले गर्ने भन्दा धेरै राम्रो, तिनीहरू सेना निर्यात गर्छन्, गरिब जनसमुदायमाथि बम खसाल्छन् । क्युबाले भने जीवन, स्नेह र स्वास्थ्य निर्यात गरिरहेको छ,” उनले थपे ।

“यस्तो किन भयो भने हामीसँग प्रशस्त डाक्टरहरू छैनन् । ब्राजिल एक देश हो, जसले दक्षिण अमेरिकामा नै सबैभन्दा पछि सन् १९२२ मा विश्वविद्यालयको उद्घाटन भएको थियो । त्यो पनि बेल्जियमका राजालाई डाक्टरको उपाधि प्रदान गर्नका लागि । ब्राजिल र क्युबा दुवै दासत्व र उपनिवेशमा बाँचेका देश हुन् तर दुईमध्ये विश्वलाई निर्यात गर्न सक्ने गरी डाक्टर क्युबामा मात्र छन्”, उनले विस्तारमा लेख्छन्, “ब्राजिलमा वर्कस पार्टी सत्तामा आउनुभन्दा पहिले स्वास्थ्य क्षेत्रमा पुँजीपतिहरूको मात्र हालिमुहाली थियो । पार्टी सत्तामा आउनुभन्दा पहिले गरिबका छोराछोरीलाई डाक्टर बन्ने सपना देख्ने अधिकार पनि थिएन ।”

“हामीले अश्वेत र सार्वजनिक विद्यालयका विद्यार्थीका लागि संघीय विश्वविद्यालयमा कोटाको व्यवस्था गर्‍यौँ । विभिन्न संयन्त्रको विकास गरी युवाहरूलाई निजी विद्यालयमा निःशुल्क पढ्नसक्ने व्यवस्था मिलायौँ, नयाँ मेडिकल कलेज र विश्वविद्यालय खोल्यौँ ।”

जुन बेला क्युबाबाट आएका डाक्टरहरूलाई तिनीहरू उचित सम्मान र स्थान दिन चाहेनन् । तर पनि उनीहरू ब्राजिलका जनतालाई दिएको गुणस्तरीय सेवाको कारणले सबैको मन जित्न सफल भए । तिनीहरूको लगाव, बिरामीहरूको हेरचाह र कार्यगत दक्षता जस्ता विशेषताका कारणले लाखौँ ब्राजिली जनताको माया, स्नेह र सम्मान पाउन सफल भए । तर हाल तिनै जनता उनीहरूलाई गुमाउनु पर्ने हो कि भन्ने कुरामा चिन्तित छन्, उनी भन्छन् ।

“मलाई यो कुरामा पश्चाताप छ कि नयाँ सरकारले क्युबाली डाक्टरहरूमाथि गरेको पक्षपातभन्दा ब्राजिली जनता जो दूरजराजका बस्तीमा बसेका छन्, उनीहरूको स्वास्थ्य र जीविकाका लागि डाक्टरहरूको आवश्यकता बढी छ”, उनले भने “म क्युबाली डाक्टरहरूलाई धन्यवाद दिन चाहन्छु जसले व्याप्त आलोचना र पक्षपातलाई बेवास्ता गर्दै दशाैँ लाख ब्राजिली जनताको विश्वास जित्न सफल भए । त्यति मात्र होइन, उनीहरूले यो प्रमाणित गरे कि मानवीय औषधि मात्र नभई हाम्रा समुदायका प्रभावकारी स्वास्थ्य सूचकहरू पनि सजिलै सुधार गर्न सकिन्छ ।”

“अन्त्यमा क्युबाका डाक्टरहरूले उनीहरूसँग भएको ज्ञान, अनुभव र व्यावसायिकता ब्राजिली डाक्टरहरूसँग साटेर सुरक्षात्मक औषधि र पारिवारिक स्वास्थ्य हेरचाहप्रति रहेको सबैको धारणा परिवर्तन गर्न सफल रहे”, उने भने, “डाक्टर रोमन रेज जसले दशकभन्दा बढी स्वास्थ्य सेवा गरेका थिए, उनलाई बाटिङ्गा जिल्लाका जनताले र्‍यालीको आयोजना गरेरै विदाइ गरे । जनता दशकौँ स्वास्थ्य सेवा गरेका डाक्टरहरूको सम्मानमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए । ब्राजिली जनताको साधारण र उचित सम्मान छ, त्यो देशलाई जसले पृथ्वीकै सबैभन्दा शक्तिशाली देशको कडा नाकाबन्दीको बिचमा पनि ज्ञान र डाक्टर विश्वमा बाँडेर सबैको सेवा गर्न सक्यो ।”

उनले औँल्याएका छन् कि दुई देशका जनताको बिचमा रहेको भातृत्वको सम्बन्ध केही सभ्रान्तहरूका प्रतिनिधिहरूको विवेकहीन घृणाभन्दा धेरै बलियो छ ।”

लुलाले पत्रमार्फत भनेका छन्, “यो नै क्युबाली डाक्टरहरूले विश्वका धेरै देशहरू र यहाँ ब्राजिलमा पनि दिएको शिक्षा हो ।”

(स्रोतः एसिएन)