हे मेरा युगकर्मी हो हिँड छिटै बोकी तीखा ज्यावल,
बन्नु पर्दछ देश पोखी पसिना साथै लिनु सामल ।
कोही अल्मलमा नपर्नु अब लौ ज्यादै अबेला भयो
अल्छि मात्र गरिरहे दिनदिनै देशै उजाडिन्छ यो ।।
आफ्नो देश बनाउने रहरमा कोही नपर्खौ अब,
साथै आउनु जे जति छ श्रमको भारि लिएरै सब ।
पोखौँ सीप विशाल युग भरिनै निर्माण गर्ने गरी,
शक्ति केन्द्रित गर्नु पर्दछ सधैँ उत्रौँ कमिलासरी ।।
गर्दैनन् युग सारथीहरु सबै थाकी सकेझैँ भए,
तिनमा मात्र घमण्ड धेर चुलियो झुप्राहरु बिर्सिए ।
यस्ता शौखिन ठाँटका ती बटुवालाई नपर्खौं अब,
आफ्नै पौरख काफी बन्दछ जुटौँ माटो समाई सब ।।
मेरो पौरखले कति हुन गयो निर्माण यो देशको,
वस्ती वस्ती सुरम्य बन्छ नमूना आधार संसारको ।
त्यही मात्रै सपना छ के गरी छिटै यो काम पूरा गरौँ,
धर्तीलाई बनाई सुन्दर सँधै सम्पन्नताले भरौँ ।।
२२ पुस २०७५













