काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले काठमाडौँमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै ओली सरकारले कटौती गरेको उखु किसानहरूको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको एक अरब ५० करोड रुपैयाँ भन्दा बढी रकम तत्काल भुक्तानी गर्न र उखुको न्यूनतम् समर्थन मूल्य प्रतिक्विन्टल कम्तीमा एकहजार रूपैयाँ तोक्न माग गरेको छ ।
नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।
नेपालका श्रमजीवी किसानहरूको एकमात्र आशा र भरोसाको केन्द्रको रूपमा रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महासंघको तर्फबाट नेपालीहरूका महान् चाडहरू – दर खाने पर्व, हरितालिका तीज र ऋषि पञ्चमी – को अवसरमा देशभरका सम्पूर्ण महिला किसानहरूसहित सम्पूर्ण श्रमजीवी महिलाहरू र आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै यस पर्वले सम्पूर्ण श्रमजीवी महिलाहरूलाई न्याय, समानता, स्वतन्त्रता र स्वाभिमानी जीवनका लागि संघर्ष गर्दै शान्ति, समृद्धि तथा समाजवादको दिशामा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।
विज्ञप्तिमा “नेपालमा तीजपर्व माइतीले चेलीहरूलाई लिन जाने, चेलीहरू माइत आउने र आफ्ना सम्पूर्ण पीरमर्का बिर्सेर छमछमी नाच्ने पर्वको रूपमा मनाइन्छ” भन्दै “यस्तो छोरी-चेलीलाई माइतीमा बोलाएर दर ख्वाउनुपर्ने चाडको बेलामा एमाले-काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको किसानमारा ओली सरकारको उखु किसान विरोधी हर्कतका कारण हाम्रो देशका उखु किसानहरू आफ्नो हक, हित र अधिकारका लागि संघर्ष गर्न काठमाडौँका सडकमा नारा-जुलुश गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,” उल्लेख गरिएको छ ।
महासंघले दलाल र विचौलियाको संरक्षण गर्न बनेको ओली सरकारले उखु किसानहरूले विगतदेखि प्राप्त गर्दै आएको अनुदान ५० प्रतिशत कटौती गरेको छ भने किसानहरूले अघिल्लो वर्षको उखु खेतीको अनुदानस्वरूप प्राप्त गर्नुपर्ने करिब १ अरब ५० करोड रूपैयाँ भन्दा बढी रकम हालसम्म पनि भुक्तानी नगरेको बताउँदै ओली सरकार आएपछि सम्पूर्ण उपभोग्य वस्तुको महंगीले सीमा नाघेको छ तर अघिल्लो वर्ष किसानहरूको उखुको न्युनतम् समर्थन मूल्य अत्यन्तै कम तोकिएको उल्लेख छ।
महासंघले ओली सरकारका उखु किसानहरूलाई निरुत्साहित गर्दै नेपाली उखु खेती तथा चिनी उद्योग ध्वस्त गर्ने र विदेशी उखु तथा चिनी आयात गरी कमिशन खाने प्रपन्चसहितका सम्पूर्ण किसान विरोधी हर्कतहरूको घोर निन्दा तथा भर्त्सना गरेको छ ।
प्रेस विज्ञप्तिको पूर्णपाठः
नेपालका श्रमजीवी किसानहरूको एकमात्र आशा र भरोसाको केन्द्रको रूपमा रहेको हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट नेपालीहरूका महान् चाडहरू – दर खाने पर्व, हरितालिका तीज र ऋषि पञ्चमी – को अवसरमा देशभरका सम्पूर्ण महिला किसानहरूसहित सम्पूर्ण श्रमजीवी महिलाहरू र आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यस पर्वले सम्पूर्ण श्रमजीवी महिलाहरूलाई न्याय, समानता, स्वतन्त्रता र स्वाभिमानी जीवनका लागि संघर्ष गर्दै शान्ति, समृद्धि तथा समाजवादको दिशामा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
नेपालमा तीजपर्व माइतीले चेलीहरूलाई लिन जाने, चेलीहरू माइत आउने र आफ्ना सम्पूर्ण पीरमर्का बिर्सेर छमछमी नाच्ने पर्वको रूपमा मनाइन्छ । यस्तो छोरी-चेलीलाई माइतीमा बोलाएर दर ख्वाउनुपर्ने चाडको बेलामा एमाले-काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको किसानमारा ओली सरकारको उखु किसान विरोधी हर्कतका कारण हाम्रो देशका उखु किसानहरू आफ्नो हक, हित र अधिकारका लागि संघर्ष गर्न काठमाडौँका सडकमा नारा-जुलुश गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । दलाल र विचौलियाको संरक्षण गर्न बनेको ओली सरकारले उखु किसानहरूले विगतदेखि प्राप्त गर्दै आएको अनुदान ५० प्रतिशत कटौती गरेको छ भने किसानहरूले अघिल्लो वर्षको उखु खेतीको अनुदानस्वरूप प्राप्त गर्नुपर्ने करिब १ अरब ५० करोड रूपैयाँ भन्दा बढी रकम हालसम्म पनि भुक्तानी गरेको छैन । ओली सरकार आएपछि सम्पूर्ण उपभोग्य वस्तुको महंगीले सीमा नाघेको छ तर अघिल्लो वर्ष किसानहरूको उखुको न्युनतम् समर्थन मूल्य अत्यन्तै कम तोकिएको थियो । हामी ओली सरकारका उखु किसानहरूलाई निरुत्साहित गर्दै नेपाली उखु खेती तथा चिनी उद्योग ध्वस्त गर्ने र विदेशी उखु तथा चिनी आयात गरी कमिशन खाने प्रपन्चसहितका सम्पूर्ण किसानविरोधी हर्कतहरूको घोर निन्दा तथा भर्त्सना गर्दछौँ ।
काठमाडौँमा सञ्चालित उखु किसानहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट हार्दिक ऐक्यबद्धता जाहेर गर्दै उखु किसानहरूको कटौती गरिएको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको रकम तत्काल भुक्तानी गर्न, उखुको न्यूनतम् समर्थन मूल्य प्रतिक्विन्टल कम्तीमा रु १,०००/- (अक्षरेपी एकहजार रूपैयाँ) तोक्न, नेपाली उखु उत्पादक किसानहरूलाई आवश्यक उच्च उत्पादन दिने, रोगकीरा प्रतिरोधी तथा चिनीको मात्रा बढी भएका नयाँ जातका बिउ, तालिम-प्रशिक्षण, सेवा-सुविधा, बिमा, अनुदान र सहुलियत ब्याजदरको ऋणसहित प्रोत्साहित गर्न, किसानहरूको सहभागितामा बिरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखाना सञ्चालन गरी देशलाई उखु र चिनी उत्पादनमा आत्मनिर्भर बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न जोडदार माग गर्दछौँ । यी मागहरू पूरा नगरी उखु किसानहरूलाई दबाउने कोशिस गरिएमा सरकारविरुद्ध संघर्षमा उत्रनुको कुनै विकल्प नरहने कुरा पनि यही प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहन्छौँ । साथै, देशभरका उखु उत्पादक किसानहरूलाई श्रमजीवी उखु किसानहरूको एकमात्र क्रान्तिकारी संगठन अखिल नेपाल उखु उत्पादक किसान संघ (क्रान्तिकारी)मा गोलबन्द हुन हार्दिक अनुरोध गर्दछौँ ।
क्रान्तिकारी अभिवादनसहित ।
चित्रबहादुर श्रेष्ठ
अध्यक्ष
मितिः २०८२ भदौ ९ गते