काठमाडौँ । देशका छ वामपन्थी किसान संगठनहरूले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्तिलाई राष्ट्रघाती, आत्मसमर्पणवादी तथा राष्ट्रिय स्वाभिमानमाथिको आघात भएको भन्दै कडा विरोध जनाएका छन्। संगठनहरूले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन, आम जनतासमक्ष माफी माग्न तथा प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल तथा अखिल नेपाल प्रगतिशील किसान संघलगायतका संगठनहरूले आइतबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री साहको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि गम्भीर चोट पुगेको बताएका छन् ।
वक्तव्यमा भारतीय शासक वर्गले दशकौँदेखि नेपालको विभिन्न सीमावर्ती क्षेत्रहरूमा अतिक्रमण गर्दै आएको, कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपाली भूमि कब्जा गरी सैन्य उपस्थिति कायम राखेको तथा सीमावर्ती नेपाली नागरिक र किसानहरूलाई निरन्तर दुःख दिँदै आएको उल्लेख गरिएको छ।
किसान संगठनहरूले नेपालको सीमासम्बन्धी ऐतिहासिक तथ्य र प्रमाणहरू स्पष्ट रहेको दाबी गर्दै प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट व्यक्त गरेको “नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको” भन्ने अभिव्यक्ति आधारहीन, कपोलकल्पित तथा भारतीय विस्तारवादलाई बल पुग्ने खालको रहेको बताएका छन् ।
वक्तव्यमा वर्तमान सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने, शिक्षा, स्वास्थ्य तथा विद्युत सेवामा भ्याट लगाउने तथा गरिब जनताको हितविपरीत नवउदारवादी नीति तथा कार्यक्रम लागू गरेको आरोपसमेत लगाइएको छ ।
छ किसान संगठनहरूले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि आवश्यक परे जुनसुकै प्रकारको संघर्ष गर्न नेपाली जनता तयार रहेको चेतावनी दिएका छन्।
संयुक्त वक्तव्यमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरी, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ तथा अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्षहरू रामदुलार महतो र दुर्गाप्रसाद जैसीले हस्ताक्षर गरेका छन् ।
संयुक्त प्रेस वक्तव्यको पूर्णपाठः
सुकुम्बासी बस्तीमा डोजर चलाउने, विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने, शिक्षा, स्वास्थ्य र विद्युतमा भ्याट लगाउने र गरिब-निमुखा जनताको हित विपरीत नवउदारवादी नीति तथा कार्यक्रम र बजेट ल्याएर जनविरोधी साबित भइसकेको रास्वपा सरकारका प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टममा उभिएर दिएको राष्ट्रघाती तथा आत्मसमर्पणवादी वक्तव्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
भारतीय शासक वर्गले दशकौँदेखि नेपालको पशुपतिनगर, सुस्ता, महेशपुर, लक्ष्मणपुर, मानेभञ्ज्याङ, कुनौली, कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित ७३ स्थानमा सिमाना मिचेको, कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा गरेर सैनिक क्याम्प समेत खडागरी बसिरहेको र सिमानाका नेपाली किसानहरूलाई पटक पटक दुःख दिने गरेको कुरा सबैलाई अवगत नै छ । भारतीय विस्तारवादका विरुद्ध नेपाली जनताले पटक पटक संघर्ष गरेको र सिमानामा हुने संघर्षमा कञ्चनपुरका गोविन्द गौतमसहित कैयौँले सहादत प्राप्त गरेको र कैयौँले भारतमा झुठा मुद्दा खेप्नुपरेको तथ्य पनि जगजाहेर छ । नेपालको सीमालाई पुष्टि गर्ने ऐतिहासिक तथ्य-प्रमाणहरू छन् । त्यसको विपरीत रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा २०८३ जेठ १७ गते आफ्नो सत्ता लम्बाउने र पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई आफ्नो पक्षमा पार्ने कुत्सित मनसायका साथ भारतीय शासक वर्गलाई सहयोग पुग्ने, नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानमाथि गम्भीर आँच आउने गरी प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टममा उभिएर दिएको “नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको’ भन्ने आधारहीन, कपोलकल्पित, कायरतापूर्ण र आत्मसमर्पणवादी अभिव्यक्ति घोर निन्दनीय छ । यसले भारतले नेपालमाथि वर्षौँदेखि गरिरहेको थिचोमिचो र अतिक्रमणलाई ढाकछोप गर्न र सही ठहर्याउन बल पुगेको छ ।
अतः हामी देशका छ जिम्मेवार वामपन्थी किसान संगठनहरू प्रधानमन्त्री बालेन्द्र साहलाई आफ्नो राष्ट्रघाती तथा कायरतापूर्ण अभिव्यक्ति तत्काल फिर्ता लिन र आम जनतासमक्ष माफी माग्दै प्रधानमन्त्री पदबाट राजीनामा दिन जोडदार माग गर्दछौँ । नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षार्थ जुनसुकै प्रकारको संघर्ष गर्न नेपाली जनता तयार रहेको कुरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौँ ।
हार्दिक क्रान्तिकारी अभिवादन सहित।
मितिः २०८३ जेठ २५ गते
चित्रबहादुर श्रेष्ठ, अध्यक्ष अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)
बलदेव चौधरी, संयोजक अखिल नेपाल किसान महासंघ
भैरवराज रेग्मी, अध्यक्ष अखिल नेपाल किसान महासंघ(अप्फा)
सीताराम तामाङ, अध्यक्ष क्रान्तिकारी किसान महासंघ नेपाल
रामदुलार महतो, अध्यक्ष अखिल नेपाल प्रगतिशील किसान संघ
दुर्गाप्रसाद जैसी, अध्यक्ष अखिल नेपाल प्रगतिशील किसान संघ












