नेपाली जीवनलाई मध्ययुगको फलामे साङ्लाबाट मुक्त गर्न, बर्बर सामन्ती सभ्यताको पिँजडाबाट निकाल्न, अमानवता र आततायी अत्याचारका खोरबाट छुटाउन, शोषण, दोहन र रोदनका भासबाट मुक्त गर्न बन्द जीवन र रूग्णपनको चौघेरे पर्खाल तोड्न, दरिद्रता र पछौटेपनका दलदलबाट उकास्न, सामन्तका जुवा र जाँतोमा नारिनुको कहर र कष्टबाट बचाउन, प्रतिबन्धित, अभिशप्त र श्रापित परिवेशबाट मुक्त गर्न र जनवादी अधिकार सम्पन्न समानता र न्यायको समाज स्थापना गर्न ०५२ सालदेखि जनताले सञ्चालन गर्दै आएको जनयुद्धका दसवर्षको घनीभूत सङ्घर्षलाई साहित्य कलामा प्रतिबिम्बन गर्नु स्वाभाविक र आवश्यक पनि छ। किनकि त्यो यस युगको सबभन्दा गतिशील यथार्थ र सङ्घर्षको सबभन्दा सक्रिय अभिव्यक्ति हो।
यो एक्काइसौँ शताब्दीलाई मुक्ति, क्रान्ति र परिवर्तनतर्फ उत्प्रेरित र उत्साहित गर्ने एउटा नयाँ यथार्थ हो। असीम त्याग, अपूर्व बलिदान र अनुपम उत्सर्गका गाथा कोर्दै दसवर्षले सामन्त राक्षसहरूको र साम्राज्यवादी अमानवहरूको मुटुमा साँच्चै नै एउटा बज्रमुक्का प्रहार गर्यो र देखायो-साम्यवादको विचार जीवित छ र रहिरहन्छ । नयाँ स्वर्गीय संसार सम्भव छ र त्यो आउनेछ ।
विचार मर्दैन, बरू अझ विकसित र समृद्ध बन्दै त्यसले नयाँ प्रारूपीकरण खोज्छ । क्रान्तिको निरन्तरता, द्वन्द्वको अविच्छिन्नता र सङ्घर्षको अविरल यात्रा मानवजातिको मात्र होइन, सारा विश्वको अन्तरतत्त्व र गतिको पर्याय हो। शान्ति सापेक्ष र क्रान्ति निरपेक्ष प्राकृत नियम हो, जसले हरेक वस्तुलाई विकास र गतिमा दिक् र कालको सापेक्षतामा अगाडि बढाइरहन्छ । यो दुनियाँमा जब जीवन र सृष्टि तत्त्वको अन्त्य हुनेछ, सम्भवतः तब मात्रै क्रान्तिको अन्त्य सम्भव हुन सक्नेछ । जब गतिको अन्त्य हुनेछ, तब मात्रै द्वन्द्वको अन्त्य हुनेछ र जब परिवर्तनको अन्त्य हुनेछ, तब मात्रै युद्धको अन्त्य हुनेछ । यही यथार्थलाई बुझाउँछ नेपाली जनयुद्धले ।
अहिले साम्राज्यवादको एकछत्र आतङ्क र अधिनायकत्व कायम भएको विश्वमा पुँजीवादको उग्र एवम् रौद्र शोषण र लुट चलिरहेको दुनियाँमा नेपाली जनयुद्ध त्यो अन्धकार युग चिर्दै वर्गविद्रोहको एक झिल्कोझैँ उठ्यो र युग विद्रोहको राँकोमा सल्कियो। यतिखेर साहित्य र कलाले अंशमै सही त्यही यथार्थको अभिव्यक्ति तथा युगीन विद्रोहको अनुकरण गरिरहेका छन् ।
यी दसवर्ष साँच्चिकै यो शदीका युगीन स्पान्तरणका साङ्केतिक बिम्ब हुन् र साहित्य-कलाका स्रोत र अन्तरवस्तु दुवै हुन् । यसको प्रतिबिम्बन र अनुकरण बिना अहिलेको मानव समाजको कलात्मक प्यासको विरेचन पूर्ण हुन सक्दैन।
मेरो कविता सङ्ग्रह त्यही वर्गयुद्धको आरोह-अवरोह, जित-हार र सरलता जटिलताको विविध पक्षीय प्रतिबिम्बन हो। यो यथार्थ हो, सक्रिय र गतिशील यथार्थ । वर्गयुद्धमा प्रत्यक्ष सहभागी हुँदै भोगेका भोगाइलाई अंशमा उतार्ने क्रममा यी लेखिएका छन्। यीमध्ये केही कविता मैले जेलभित्र र केही युद्धभूमिमा नै लेखेको हुँ। त्यसैले यहाँ दुई फरक परिवेश र भाव पाइन्छन् ।
हिउँमा सुत्दा, जङ्गल र ओडारहरूमा लुक्दा, लेक लाग्ने हिमाद्रीहरूमा भड्किँदा, सल्ला, धुपी, तीतेपाती, सुनपाती, बुकीका गन्धहरूमा बयेलिँदा, चौरीका गोठहरूमा सुत्दा र हुरी बतास र हिम-आँधीसँग जिस्किँदा भोगेका भोगाइहरू कविताका परिवेश र भाव हुन् । अग्ला अग्ला डाँडा र ठुला-ठुला नदीहरू तर्दा, गाउँका दुःख र दर्द, अभाव र गरिबीको पीडालाई छाम्दा भोगेका अनुभवहरू हुन् । ती सबै भाव कवितामा उतार्न सम्भव छैन। तिनले त एउटा ठुलो उपन्यासको माग गर्छन् ।
जुकाका ब्रिगेडसँग भिड्दा, प्युसा, भुसुना, लामखुट्टे र डाँसका गणहरूसँग लड्दाका अनुभव एकातिर छन् तर त्योभन्दा भिन्न दुश्मनका फायरहरू छेल्दै, बमवर्षाबाट जोगिँदै, एम्बुस र सर्च अपरेसनहरूको सामना गर्दै हिँड्दा घटेका घटनाहरूको ज्यूँदो अनुभव पनि अर्कातिर छ। मैले ती धेरै अनुभवलाई उतारेको छैन। यहाँ त केवल थोरै विशिष्ट अनुभवलाई साङ्केतिक चिह्नमा पो अभिव्यक्ति दिइएको छ ।
पूर्वदेखि पश्चिमसम्म मुलुकका थुप्रै भूगोललाई हिँडेर अनुभव गर्नु, यथार्थमा आफ्नै आँखाले देख्नु, हातले छुनु र हृदयमा राख्नु ज्ञानको गहिरो आधार हुने रहेछ। वर्गसङ्घर्षको विश्वविद्यालयमा मैले लिएको औपचारिक डिग्रीको मूल्य धेरै कम हुनेरहेछ र भोगाइबाट प्राप्त डिग्रीको मूल्य धेरै बढी हुने रहेछ ।
हरेक कला-साहित्य आखिर यथार्थको प्रारूपीकरण गरिएको वस्तुरूप हुन्छ, मैले यस्तै अनुभव गरे, यो अवधिमा । वस्तुबाट वस्तुकै उत्पादन प्रक्रिया रहेछ-साहित्य, भन्ने मैले बुझेँ-त्यस क्रममा। यसका भाव, भाषा, शैली र प्रतीकहरूमा त्यही छनक देख्न सकिनेछ ।
भाववादी, अयथार्थवादी, कल्पनावादी र जीवनहीन मूर्दा कलावादीहरूले भन्ने गरेको समाज, जीवन, सङ्घर्ष, यथार्थ, वस्तुपरकता, राजनीति, विचारविहीन कला-को धारणा यसपटक मुर्दा साबित भएको छ । सबै कुराबाट स्वतन्त्र, असम्बद्ध, अप्रतिबद्ध नाराविहीन कला-साहित्य सिर्जनाको उनको कल्पनालाई वर्गयुद्धका दशवर्ष र जनआन्दोलनले निरर्थक साबित गरिदिएका छन्-यसपटक ।
एकातिर वर्गयुद्धका झन्कार र रागिणीमा साहित्य लेखिए गाउँहरूमा भने अर्कातिर सहरमा कला-स्रष्टाहरूको आन्दोलन भयो। परिवर्तनकारी सङ्घर्षको ऊर्जा-उत्प्रेरणा मात्र होइन, साहित्य-कला र त्यसका स्रष्टा स्वयम् आन्दोलन बनेर उत्रिए ।
‘नारा’ भनेर मुख किच्याउनेहरूको मुखमा यसपटक साहित्य-कला नाराका उद्घोष बनेर कोचियो र सडकमा उत्रियो। यसले कविता, साहित्य, गीत-सङ्गीत, सजीव यथार्थको वस्तुरूप हो भन्ने साबित गरिदियो ।
ती जसले साहित्य-कलालाई राजनीति, विचार, जीवन, समाजबाट अछुत राख्ने आह्वान गर्दै आएका थिए, तिनले पनि देखे-कविता त सङ्घर्ष रहेछ । गीत त हतियार रहेछ । सारङ्गी र मादलका नादहरू पनि नारा बन्दा रहेछन् । साँच्चै आन्दोलनले साहित्य-कलालाई जीवन र समाज परिवर्तनको साधन सिद्ध गरिदियो। विचार निरपेक्षता, राजनीतिक रङ्गहीनता, मुक्त र स्वतन्त्र अभिव्यक्तिका कुरा त वास्तवमा कुटिल नारा रहेछन्, गहिरो रहस्यपूर्ण छद्म राजनीति पो रहेछन् ।
जनतालाई चेतनाबाट वञ्चित गर्ने, जागृतिका सन्देशबाट शून्य राख्ने, जागरूक र जुझारू, विद्रोही र बलिदानी आस्थाबाट कटाइरहने विषालु विचार रहेछन् भन्ने पुष्टि ‘आन्दोलन-साहित्य-क्रान्ति’ले गरेको छ। अर्थपूर्ण, सचेत, सार्थक वैज्ञानिक लेखन कला होइन, कला-स्वच्छन्द आवेग, उन्मुक्त सम्वेदना, स्वान्त सुखको पागलपनको आत्मप्रकाशन हो, आत्मानन्द, आत्मतुष्टिको एकाङ्गी अभिव्यक्ति हो भनेर आम मान्छेको चेतना ठग्ने प्रवृत्ति थियो त्यो तर जागृति र विचारको अभिव्यक्ति बनेर यसपटक आन्दोलनमा साहित्य-कला सामेल भयो।
यसरी कला-साहित्य जीवन र समाजका लागि हुन्छ भन्ने प्रमाणित भयो। मान्छेको सुषुप्त सम्वेदना जगाउन, अन्तस्करण झकझकाउन र त्यसमा आगोको बीजारोपण गर्नका लागि कला-साहित्यले ठुलो भूमिका खेल्छ।
यो वैयक्तिक भावुकताको नितान्त निजी उपज नभएर आन्दोलन, युद्ध र सङ्घर्षपूर्ण व्यवहारको सामाजिक उपज हुन्छ, कर्मको प्रतिबिम्बन हुन्छ भन्ने यथार्थ दशवर्ष र त्यसको जगमा टेकेर उठेको आन्दोलनमा रचिएका कला-साहित्यले उजागर गरेका छन्। यसरी आन्दोलन र युद्धसन्दर्भमा साहित्य-कलाले प्राप्त गरेका उत्पादनबाट मेरा कविता पनि त्यस्तै उत्पादन हुन् भन्ने बुझ्न सकिन्छ ।
काम्य र गम्यको वस्तुसङ्गतताबाट निःसृत भएका कलाले नै आधारलाई सजिलै पक्रन सक्छन् । कला त आधेय हो र त्यसको गम्य वस्तु हो क्रान्ति । तर व्यवहार र कर्म, सङ्घर्ष र जीवनको आधारबाट उछिट्टिएर कविताले के गर्ला ? भन्ने प्रश्नको उत्तरमा कामना र कर्मको बिचमा तादात्मय त्यो लक्ष्य हुन्छ भनेर भन्न चाहन्छ – आजको साहित्य आदर्श र आचरण जहाँ मिल्दैन, कामना र कर्म बिच जहाँ मेल छैन, त्यहाँ कलाको कुनै मूल्य छैन । यो सत्यलाई गत आन्दोलनका सिर्जनाले देखाएका छन् ।
कलामा, साहित्यमा रूपान्तरणको समस्या, परिवर्तन र गतिशीलताको समस्या बुर्जुवा कविताहरूमा बढी पाउन सकिन्छ । जीवन फेरिँदै जान्छ तर कला फेरिँदैन भने त्यस्तो कविताले युग-जीवनलाई प्रतिबिम्बन गर्ला र ? यसैले नयाँ यथार्थलाई समात्नु र त्यसलाई पोख्नु कविताको रूपान्तरण हो । मैले कवितामा रूपान्तरण दिने प्रयास गरेको छु । रूपान्तरणलाई पक्रिँदा विसर्जनवादी बाटोलाई पक्रियो भने त्यो उदात्त यथार्थ हुन सक्दैन।
कविताले पूरा गर्नुपर्ने आफनो उद्देश्य पूरा गर्ने प्रयास नै मैले यहाँ गर्न खोजेको छु-जस्तो मलाई लाग्छ। कविताको वर्तमान कर्तव्यमा वर्गयुद्ध र आन्दोलनको मर्मको उद्घाटन, यथार्थको प्रस्तुतीकरण र जनयुद्धका सम्वेदनापूर्ण घटनाको अभिव्यक्ति दिनु थियो। धेरै बलिदानका बिम्ब निर्माण गर्नु थियो । त्याग र उत्सर्गका कीर्तिमानलाई प्रतीक बनाउनु थियो। निष्ठा र समर्पणलाई सन्देश र अन्तर्वस्तु बनाउनु थियो। उत्साह, वीरता, साहस, आक्रोश र प्रतिरोधको भावलाई कलामा विन्यास गर्नु थियो। मान्छेका क्रान्तिकारी आशा र मुक्तिकामी आकाङ्क्षालाई भावका रूपमा प्रस्तुत गर्नु थियो। सोही उद्देश्य पूरा गर्ने कोसिस यहाँ गरिएको छ ।
यातनाले बेहोस भएर अर्धमृत अवस्थामा ढलिरहेकी क्रान्तिकी कुनै नायिकामाथि गिद्धले सिनो लुछेझैँ रातभरि लुछ्ने पशुहरूको झुण्डको बिम्ब हेर्नुपर्यो भने रागेपाटेका अनुहारहरू हेरे पुग्ने दृश्याङ्कन कवितामा गर्नु कविताको कर्तव्य हुन्थ्यो। गोलीका पर्राहरू पन्छाउँदै, ढलेका साथीहरूको लाशमाथि टेकेर दुश्मनका ब्यारेक कब्जा गर्दागर्दै छातीमा लागेको गोलीको आघात र चोटको पर्वाह नगरी आलो रगतले लथपथ हातहरू उठाएर मुठ्ठी कस्दै ‘जनयुद्ध जिन्दावाद’ भन्ने बहादुर योद्धाहरूको बिम्ब निर्माण गर्नु कविताको कर्तव्य हुन्थ्यो।
सहिदका सपना मुटुमा राखेर उन्मुक्त नेपाल रचना गर्ने अभियानमा भोकै, प्यासै हर दुःख र हर कष्ट झेल्दै बढ्ने नाङ्गा पाइलाहरूको फर्मेसनको दृश्य-बिम्ब रचना गर्नु कलाको उद्देश्य हुनु पर्दथ्यो, भयो। तसर्थ कविताहरू त्यस्तै यथार्थको बिम्ब बनेकोमा कलाको सोद्देश्यता र सार्थकता पूरा भएको बोध गरेको छु।
कविता यात्राका क्रममा लेखिए। गाउँका परिवेशमा लेखिए। युद्धका बेलामा लेखिए। मोर्चाहरूका घटनाले सम्वेदित र आहत हुँदा लेखिए । सामन्तवादले चुसेका गाउँहरू कस्ता हुन्छन्, गरिबीले पिल्सिएका बस्तीहरू कस्ता हुन्छन्, ठालु-मुखियाहरूले किचिएका किसानहरूको अवस्था कस्तो हुन्छ, राजतन्त्र र त्यसका गाउँगाउँ फैलिएका विषालु जराले सोसेका मान्छेहरूका अनुहार कति टिठ लाग्दा र निरस हुन्छन्, अत्याचारी सामन्त र जमिन्दारहरूले निचोरिएका श्रमिकहरूका अनुहार कति बैँसमै चाउरिए झै शुष्क हुन्छन् भन्ने यथार्थलाई प्रत्यक्ष हेर्दाहेर्दै लेखिए ।
यसले कविताको स्वरूपलाई बदलिदियो । त्यसैले मैले कविताले हलो जोत्नुपर्छ भनेँ । बाँझो फोर्नुपर्छ भनेँ । बञ्जर धरतीलाई उर्वर गर्नपर्छ भनेँ। साँच्चै कविता मान्छेको हाँसो,आँसु र रोदनको साक्षी मात्र होइन, त्यसको प्रतिरोध पनि हो।
कविता कामना मात्र होइन, कर्म पनि हो । कति त बन्दुकसँग खेल्नुपर्छ। बारूद बनेर सल्किनुपर्छ । मान्छेका मस्तिष्कमा बम बनेर निर्मित हुनुपर्छ र पड्किनुपर्छ। कविताका शब्दहरू त्यस्तो फर्मेसन बनून्, जो यस्तो लागोस् कि ती परेडमा सामेल भइरहेछन् । मोर्चामा लड्दै अघि बढिरहेछन् । कोठे लेखन र मनोगत चिन्तन होइन कविता । रगतका रङ्गमा इतिहासका गन्ध बोकेर बोल्नुपर्छ त्यो । यसरी मात्र कविताले सोद्देश्यता र सार्थकता प्राप्त गर्न सक्दछ।
कविता भोको पेटमा बलिरहेको आगो हो। पीडाहरूमा चहराइरहेको दर्द हो । आँसुमा सल्किरहेको आक्रोशको ज्वाला र विद्रोहले लाल बनेका आँखाका अङ्गारको भुङ्ग्रो हो । नाङ्गा तनमा ठिहिराइरहेको विद्युतीय तरङ्ग हो र झुत्रा झुप्रामा छट्पटाइरहेको ज्वालामुखीको लाभा हो ।
अभावले आक्रान्त, विपन्नताले चाउरी परेका शरीरको दावाग्निको राप र दमित-कुण्ठित आत्माहरूको ताप पनि हो कविता । सङ्गीनले छियाछिया छातीहरू, चिथरिएका क्षतविक्षत नारीका वीभत्स नाङ्गा बदनहरू पनि हो-कविता। यसैले कवितामा समय बगिरहन्छ। समीरले वेग मारिरहन्छ । सरिताका धाराहरू प्रवाहित भइरहन्छन् । यो रोकिँदैन फेरिइरहन्छ। यो जमिरहन्न, गतिशील भइरहन्छ ।
पातहरू फेरिएर वसन्तमा रातैरातै मुजुराहरू उम्रनु कविताको सन्देश हुनु पर्छ। पल्लवित पालुवाहरूमा कलिलो घामको पाइन झल्मलाउनु कविताको उद्देश्य हुनुपर्छ। युगका फेरिने आकृतिहरूको छायाँ पर्नु कवितामा आवश्यक छ। जीवनबोध हुनु आवश्यक छ । अनुभूति, सम्वेदना र भावनाहरू फेरिन्छन् भने कविता किन फेरिन्न ? चेतना र विचारले कविता फेरिएर त्यसले युगलाई ब्युँझाउनु नै कवितामा परिवर्तन हो।
अहिले कवितामा परिवर्तन आएको छ। आज सामन्तका हण्डी खाएर रण्डी बनेका कलमहरूले झैँ कविताले कुनै निरङ्कुशका प्रशंसा गीत लेख्दैनन् । अहिले साम्राज्यवादका डलर डकारेर आफ्ना आत्मा बेचेका वेश्या लेखनीहरूले झैँ कविताले भाट-स्तोत्र भट्याउँदैनन्, असत्य फलाक्दैनन् । कुरूपताको आराधना गर्दैनन् । बरू तानाशाहका निरङ्कुश आदेशहरू मान्न अस्वीकार गर्छन्, तिनका पाउमा पर्न अस्वीकार गर्छन् । चाकरी र चाप्लुसी गरेर पुरस्कार थाप्न पनि अस्वीकार गर्छन्- अहिले कविताहरू।
यतिखेर विद्रोहलाई आत्मसात् गरेर कविताले आफ्नो कर्तव्य र दायित्व पूरा गरेको छ । यसले इन्कलाबका स्वर सुसेलेर आफ्नो सचेतता व्यक्त गरेको छ। जनताका इच्छाहरूसम्म पुग्नु, तिनका आवाज पक्रनु, उनका स्पन्दन र निश्वासलाई बोध गर्न र त्यसलाई खोलेर शब्दमा अभिव्यक्त गर्नुले कवितामा सार्थकता, समकालीनता र सत्यता अभिव्यक्त भएको छ । यी कविता पनि त्यही प्रक्रियामा नै लेखिएका हुन् ।
जब मान्छेका सम्वेदना फेरिन्छन्, अन्तर्वस्तु फेरिन्छन्, कविता पनि फेरिन्छ। नयाँ रूप, नयाँ यथार्थ, नयाँ शैली, नयाँ विचार र नयाँ विषयवस्तुले त्यो फेराइलाई प्रतिबिम्बित गर्छ । बिम्ब, प्रतीक, शिल्प, संरचना, भाव, वस्तु, भाषामा फेरबदल गरेर मात्रै परिवर्तनलाई पक्रन सक्छ कविताले ।
तसर्थ कविताले युद्ध, विद्रोह, सहिदका बिम्ब बोकेको छ-अहिले। जनताका भाषामा ओर्लेर सरलता, सजीवता र सुबोध्यता बोकेको छ। सामन्ती भाषा शिल्प त्याग्दै त्यसले सडकका नारालाई टिपेको छ। जनताका भाषा बोलेको छ। जटिलता, अस्पष्टता, दुर्बोध्यतालाई कविताको स्तरीकरण ठान्ने, रहस्यमय अभिव्यक्तिलाई गहन शिल्प ठान्ने प्रवृत्तिलाई पनि तोडेको छ। यसरी कविता परिवर्तन भएको छ। विद्रोह बनेको छ ।
ती ज-जसले ‘कला जीवनको लागि’ भन्ने कुरा अस्वीकार गर्दै कलालाई अमूर्त उद्देश्यको अमूर्त बिम्ब ठान्थे र कला कलाकै लागि हो भनी भन्थे तिनलाई ‘आन्दोलन-कविता-क्रान्ति’ले, स्रष्टाहरूको लोकतान्त्रिक अभियानले, गणतन्त्रका लागि कलमहरूको जुलुसले निरर्थक सिद्ध गरिदिएको छ। युद्धमा कविता जन्मिँदैनन्, सङ्घर्ष र आन्दोलन कविता हुँदैन भन्नेहरूका लागि आजको कविता जवाफ बनेको छ ।
सौन्दर्य चेतना मानवजीवनको सङ्घर्ष चेतनाबाट पैदा हुने रहेछ । मानव जीवनको उषाकालमा कला त श्रम प्रक्रिया नै थियो। उत्पादन पद्धति नै थियो । बाँच्नका लागि सङ्घर्ष गर्नु नै कला थियो। कला प्रकृति पनि थियो। प्रकृतिसँग सङ्घर्ष पनि थियो। प्रकृतिको प्रतिबिम्ब पनि थियो। समग्र जीवन, प्रकृति र समाजको चारू प्रारूपीकरण भन्नु कला थियो।
कलाको यो धारणा श्रमको मूर्तरूप हो। श्रम गर्दागर्दै कला बन्यो। श्रमको सौन्दर्यलाई व्यक्त गर्ने रूप बन्यो। श्रमपछिको खुसी, आनन्द र रम्य शैलीलाई व्यक्त गर्ने उत्सव कला बन्यो। अनि कला सभ्यताको मापदण्ड भयो। यसैले सौन्दर्य, जीवनको सङ्घर्ष र श्रमको बिम्ब मात्रै हो, अरू केही होइन। श्रमलाई प्रतीकहरूमा, रूपकहरूमा र बिम्बहरूमा उतार्नु कला हो। श्रमलाई कहिले चित्रमा, कहिले मूर्तिमा, कहिले स्मृतिमा, कहिले अभिनयमा, कहिले नाटकीयतामा उतारिन्छ ।
धान नाच, माझी गीत, श्रम गीत, युद्ध नगरा सबैमा श्रमको कला छ । यसैले कला श्रमको बिम्ब मात्र होइन, श्रम पनि हो। पसिनाले लथपथ, काममा थकित, श्रमले श्रान्त मान्छेको रूप अरू सबैभन्दा सुन्दर हुन्छ। जीवनको अन्तिम कालसम्म सक्रिय श्रम साधनालीन, कर्मयोगी मान्छेको सौन्दर्य, मृत्युक्षणसम्म सुन्दर रहन्छ। यसैले श्रम, उत्पादन, जीविकाको सङ्घर्ष, परिवर्तनको सङ्घर्ष, स्वतन्त्रता, समानता, न्याय, मानवताको सङ्घर्षलाई जीवनमा उतार्ने क्रममा नै कलाको विकास भएको छ । मेरा कविताको पनि विकास भएको छ।
जसरी श्रममा आनन्दको अनुभूति हुन्छ, त्यस्तै कलामा पनि। कारण कला श्रमको उपज हो। अन्य प्राणीभन्दा सुन्दर मानव जाति र यसको सभ्यताको विकास सङ्घर्षको परिणाम हो। यसैकारण वर्गयुद्धको अभिव्यक्ति बनेका भूमिगत कालका कविताहरूको सौन्दर्य पनि वर्गयुद्ध नै हो भन्ने मैले ठानेको छु।
कविता वर्गयुद्धका विशेष कालहरूका बिचमा रचिएका हुनाले वर्गयुद्धकै सीमाभित्र आबद्ध अनुभूतिहरू जति सजीव बोध गरिए त्यति सजीव व्यक्त हुन सकेनन्, कारण युद्धको तनाव र व्यस्तता । युद्धका सजीव घटना शृङ्खला ज्यूँदो जाग्दो रूपमा कवितामा नचाउन सकेको भए धेरै मार्मिक बन्थे होलान् कविताहरू तर त्यो भएन । यी यस्तै भए फेरि नयाँपनका साथ मेरा कविताले आउने कोसिस गर्नेछन् ।
२०६३, मङ्सिर
(नेपालका सुपरिचित संस्कृतिकर्मी क. ईश्वरचन्द्र ज्ञवालीको प्रस्तुत आलेख हामीले “वर्गसङ्घर्षको सन्दर्भः संस्कृति र सौन्दर्य” बाट साभार गरेका हौँ ।)
















