काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाको वायु सेनाको लडाकु विमानले अमेरिकी जल सेनाको विमानलाई लखेटेपछि अमेरिकी सेनाहरू बल्लतल्ल ज्यान जोगाएर भागेका छन् ।
सार्वभौम राष्ट्र भेनेजुएलाको सीमा क्षेत्रभित्र गैरकानुनी रूपमा छिरेको अमेरिकी सेनाको विमानलाई भेनेजुएलाको वायु सेनाको विमानले लेखेटेर धपाएको हो । भेनेजुएलाको सेनासँग रहेको रूसमा निर्मित शक्तिशाली विमानले चुनौती दिएर लखेटेपछि सो विमान भागेर संयुक्त राज्य अमेरिका पुगेको हो । सो घटनापछि अमेरिकी सेनाले आफ्नो विमानलाई भेनेजुएलाको रूसमा निर्मित वायु सेनाको लडाकू विमानले लखेटेको र त्यसबाट जहाजमा सवार चालकदलका सदस्यहरूको ज्यान बल्लतल्ल बाँचेको स्वीकार गरेको छ ।
विश्वलाई आफ्नो विर्ता सम्झने र चौतर्फी दादागिरी गर्ने अमेरिकाले अन्य स्वतन्त्र देशहरूको सार्वभौमिकतालाई चुनौती दिँदै उनीहरूको सीमाक्षेत्रमा सैन्य तथा जासुसी विमानहरू पठाउने, युद्धका लागि उत्तेजित बनाउने र सैन्य आक्रमणको बहाना खोज्ने गरेको छ । साना र अति कम विकसित मुलुकहरूले त्यसको प्रतिकार गर्न नसक्ने कुराको फाइदा उठाउँदै यस्तो मनपरी गर्ने अमेरिकालाई यसपटक भने भेनेजुएलाको क्रान्तिकारी सरकार मातहतको सेनाले अनपेक्षित रूपमा दह्रो झापड दिएको छ ।
अमेरिकी सेनाको ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्र हर्ने दक्षिणी कमाण्डले आफ्नो आधिकारिक ट्विटर एकाउण्ट मार्फत भेनेजुएलाको लडाकु विमानले आफ्नो सैन्य विमान लेखेटेको कुरा सार्वजनिक गर्दै लेखेको छ, “भेनेजुएलाको एसयु-३० लडाकु विमानले अमेरिकी ईपी-३ विमानलाई अति असुरक्षित दुरीबाट चालक दल र विमानलाई खतरा पुर्याउँदै पछ्याएर लखेट्यो । ईपी-३ ले क्यारेबियन समुद्रमाथि अन्तर्राष्ट्रिय उडान क्षेत्रमा बहुराष्ट्रिय रूपमा स्वीकार गरिएको र अनुमोदित मिसन कार्य गरिरहेको थियो ।” नेटोको रिपोर्टिङ गर्ने भाषामा रूसमा निर्मित शक्तिशाली र खतरनाक मानिएका सुखोई विमानहरूलाई ‘फ्ल्यांकर’ भनिन्छ । यहाँ बहुराष्ट्रिय मिसन भनेर नेटोको मिसन देखाउन खोजिएको आभाष हुन्छ ।
जहाजको दुरी र स्थितिबारेको अमेरिकी सेनाको बयानले युद्ध भएको स्थितिमा पनि भेनेजुएलासँग अमेरिकी लडाकु विमानहरूलाई लखेट्न र ध्वस्त गर्न सक्ने सामर्थ्य भएको पुष्टि गरेको छ । साथै भेनेजुएलासँग अमेरिकी मूल भूमिमै पुगेर अमेरिकी साम्राज्यवादलाई ठूलो क्षति गर्न सक्ने हवाई सैन्य क्षमता रहेको कुरा पनि पुष्टि भएको छ ।
अमेरिकी सैन्य विमान आफ्नो सीमा क्षेत्रभित्र घुसेको र सो विमानलाई आफ्नो सैनिक विमानले पछ्याएर त्यसको विवरण लिएको कुरालाई भेनेजुएलाले स्वीकार गर्दै अवैधानिक तरिकाले आफ्नो सीमा क्षेत्र प्रवेश गर्ने अमेरिकी कदमको भर्त्सना गरेको छ ।
अमेरिकी सेनाले दोस्रो ट्विटमार्फत रूसमाथि अनावश्यक र अप्रासंगिक आरोप लगाउँदै, “यो कार्यले मादुरोको अवैधानिक शासनका लागि रूसको गैरजिम्मेवार सैन्य सहयोगलाई पुष्टि गर्दछ र अन्तर्राष्ट्रिय विधिको शासन र अवैध तस्करी रोक्ने कार्यलाई फितलो बनाउने मादुरोको निर्दयिता र गैरजिम्मेवार व्यवहारलाई दर्शाउँछ,” भनेको छ । रुसबाट यी शक्तिशाली विमानहरू भेनेजुएलाले धेरै पहिले किनेको हो र त्यसका चालकहरू भेनेजुएली सैनिकहरू नै हुन् । यस्तो अवस्थामा यो प्रकरणमा रूसलाई बिचमा तान्नुपर्ने कुनै कारण नै छैन ।
त्योभन्दा महत्त्वपूर्ण कुरा के छ भने भेनेजुएलाको दुई तिहाई मतद्वारा निर्वाचित संवैधानिक राष्ट्रपतिलाई निकोलस मादुरोलाई अवैधानिक र गैरजिम्मेवार भन्ने र आफूले आफैलाई राष्ट्रपति घोषणा गरेको ‘गुएदो’ नामको आलोकाँचो आफ्नो सेवकलाई वैधानिकता दिन खोज्ने अमेरिकी प्रस्तुतिबाट ‘लाज’ शव्द स्वयम्ले लज्जित हुनुपर्ने अवस्था देखिन्छ ।
भेनेजुएला एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र हो । उसले आफ्नो सीमा तथा समुद्री क्षेत्रको सुरक्षा गर्ने अधिकार राख्दछ । त्यसो गर्दा कुनै हस्तक्षेपकारी मुलुकका जहाजहरू, त्यसमा सवार चालक दल वा अन्य भाडा सेनाहरूको जीवनलाई खतरा हुन्छ भने तिनीहरु भागेकै राम्रो हो ।
यो घटनाले भेनेजुएलाको समाजवादी सरकार र जनताको अगाडि अमेरिकी साम्राज्यवाद कागजी बाघ मात्रै रहेको पुष्टि भएको छ । भेनेजुएलाका श्रमजीवी जनता, किसान, मजदुर, सेना, अदालत र कर्मचारीतन्त्रबाट पूर्ण सहयोग प्राप्त संवैधानिक राष्ट्रपति निकोलस मादुरो र उनको सरकारका सामु अमेरिकी साम्राज्यवादको दादागिरी नचल्ने कुरा पनि प्रष्ट भएको छ ।
त्यति मात्रै नभई यो घटनाबाट पर्याप्त सैन्य शक्ति तथा हातहतियार भएको, सेनाको सम्पूर्ण युनिटलाई कठोर गुरिल्ला तालिम र आम जनतालाई सैन्य तालिम दिइएको भेनेजुएलामा अमेरिकाले सैन्य आक्रमण गर्न संभव नरहेको र आक्रमण भइहालेमा त्यो युद्ध इराक, लिबिया, आफगानिस्तानको जस्तो नभई भियतनामको भन्दा खतराजनक गुरिल्ला युद्ध र अत्यन्तै भयानक आणविक युद्ध हुनेछ, जहाँबाट अमेरिकालाई आफ्ना सैनिकहरूको लाशको थुप्रो, रगतको आहाल र अरबौं डलरको नोक्शानी बाहेक केही प्राप्त हुनेछैन ।
यसबाट अवैधानिक रूपले श्वघोषित राष्ट्रपति गुएदोलाई आजसम्म वैधानिकता दिलाउन नसकेको, भेनेजुएलाका जनतालाई राहतका नाममा भिडाउन र फुटाउन असफल भएको, सैन्य कार्बाही गर्ने आँटसम्म गर्न नसकेको र नाकाबन्दी लगाएर गलाउन नसकेको अमेरिकी साम्राज्यवादको लज्जास्पद पराजय हो । भेनेजुएलाका सार्वभौम जनता र सरकारको फेरि अर्को विजय भएको छ ।
भिडोयो हेर्न यहाँ क्लिक गर्नुहोस् ।