Chairman Prachanda Pushpa Kamal Dahal Prachanda
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताउनु भएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफूहरु आइपुगेको स्पष्ट पार्नुभयो । पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उहाँकाे भनाई थियाे । स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिस्ट मूल्य मान्यताका आधारमा कम्युनिस्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

Chairman Prachanda on Pushpa lal Memorial Day at Kritipur

अहिलेका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको अध्यक्षको भनाई थियो । अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र सशस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताउनुभयो ।

पार्टी एकताका काम करिब निष्कर्षतिर पुगेको भन्दै उहाँले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताउनुभयो । एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो, ‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’