स्नेह सायमी
 

अग्ला मानिसहरूरूले
आफ्नो उचाइको ख्याल गरिरहनु पर्छ
कतै पस्ने निर्णय गर्नुअघि
प्रवेशद्वारको उचाइ पहिल्यै थाहा पाउनु पर्छ ।

होचा प्रवेशद्वारहरूबाट
अग्लाहरू निर्धक्क टाउको उठाएर
पस्न सक्दैनन्
प्रवेशद्वारहरूको उचाइको मापन गर्न सकिएन
भने
अप्रत्याशित –
कि टाउको निहुराउन तयार हुनुपर्छ
कि टाउको ठोक्काउनु पर्छ
वा
आफ्नो उचाइ घटाउन तयार हुनुपर्छ ।

प्रवेशद्वार अग्लो भए
सबैले निर्धक्क टाउको उठाएर
ठाडै पस्न सक्छन्
होचो भयो भने
होचाहरू मात्र टाउको उठाएर
पस्न सक्छन् ।

अग्ला मानिसहरूले
आफ्नो उचाइको ख्याल गरिरहनु पर्छ
कतै पस्ने निर्णय गर्नुअघि
प्रवेशद्वारको उचाइ थाहा पाउनु पर्छ ।