मेरो शरीरमा
मेरो पवित्र शरीरमा
जन्मैदेखिको असह्य व्यथा छ
म कुनै ‘राजा’को छोरा होइन
कि सुख सदैव
मेरो वरिपरि घुमिरहोस्
र
फेरि कुनै अप्रिय
मान्छेको छोरा पनि होइन
सदैव तिरस्कारको पात्र बनिरहूँ
म तिनै आमाको सन्तान हुँ
जसलाई यो समाजले दासी भन्छ
म तिनै बाबाको छोरा हुँ
जसलाई यो समाजले अछूत भन्छ
मेरो निश्चल अनुहारमा
स्वाभिमानको सचित्र झल्किन्छ
मेरो निलो पसिनाको कणकणमा
सोझोपनाको यथार्थता प्रस्टिन्छ
र
मेरो शरीरको नशा नशामा
रातो रगतको नदी बगिरहेको छ
जन्मैदेखिको व्यथा छ
मेरो जीवनलाई थाहा छ
सृष्टिलाई कति सिञ्चित गरेको छ
मेरो अमूल्य पसिनाले
तिम्रो सारा जीवनलाई
कति सुन्दर तुल्याइदिएको छ
मेरो अथक श्रमले
त्यसैले त
अपमान मिलेको छ मलाई
तिमीले पुज्ने गरेको
मैले कुँदेको ‘भगवान्’को मूर्तिलाई
मैले छुनु हुँदैन
तिम्रो शुभ साइतमा
पञ्चेबाजाको धुन बजाउँछु
तर तिमी हिँड्ने बेलामा मैले देखिनु हुँदैन
कति नमिठो आशीर्वाद मिल्छ मलाई
त्यैले त
मलाई बक्सिस मिलेको छ
‘सानो’ जात हुनुको प्रताडना
म भन्दै छु
फेरि पनि भन्दै छु
मेरो छालाको रङ अभिजात होइन
र फेरि
निलो रक्तनदी पनि बगिरहेको छैन
म त केवल त्यही मान्छे हुँ
तिमीले भन्ने गरेको ‘अछूत’ हुँ
अधिकार विहीन भोको मान्छे हुँ
मलाई थाहा छ
इतिहासले मलाई अछूत भनेको छैन
र
साँचेर राखेको छु,
मृत्यु पर्यन्तसम्म मौन मौन विरक्तिलाई
रोदन र क्रन्दनको आहतलाई
तिमीले दिएको
अपमान र यन्त्रणालाई
जो मेरो भावी पिँढीले सहर्ष स्विकार्ने छ
र, बोल्ने छ
कसरी भुल्न सक्छ यो अघोर यातना
मेरो वंश परम्पराले
आमा
किन बोल्दिनौ ?
बोल, अब बोल
मैले सोधिरहेको छु
भन तिम्रो छोरालाई जे जे छन् व्यथाहरू
अन्तर हृदयको कुना कुनामा
र
लगाइदेऊ तिम्रो छोरालाई
रातो चन्दनको टीका
अनि
सुनाइदेऊ एउटा कथा स्पार्टाकसको
र मेरो वंश चिनाइदेऊ
शुक्रका सन्तान हौँ भनेर
मेरो रगत उम्लिरहेछ,
प्रत्येक पाइला पाइलामा
विद्रोहको लहर छ
मेरा आफ्नै हातले बनाएका
बन्दुक, खुकुरी मेरै लागि हुनेछन् अब
मैले सोधिरहेछु
ए ‘पुजारी बाबा’,
मलाई कसरी अछूत भन्छौ
जनअदालतले फैसला सुनायो
मलाई छूत मान्छे भनी स्वीकार गर्यो
तर
तिमी अब के भन्छौ ?
मैले आफ्नो गन्तव्य पहिल्याएँ
र वंश पनि चिनेँ
त्यसैले म निस्किसकेको छु समरमा/युद्धमा
बरु
सक्छौ भने एक्लै आँट
नत्र तिमै्र ‘भगवान्’को नेतृत्वमा
थुप्रै हुल फौज लिएर आऊ
ए आजका कथित ‘छूतहरू’
म सिमानामा तयार छु
छूत र अछूतको सिमानामा ।