तिमीलाई जाउलो ख्वाउँदै गर्दा आमा
बिसन्चोले तिम्रो निस्तेज अनुहार नियाल्दै
सम्झिएँ फकाई मुछेको भात खाएको
भागी भागी तिमीलाई सताएको आमा ।
चुपचाप मेरो अनुहार नियाल्दै आज गंगालाल♠मा
बेस्वादको जाउलो निलिरहँदा
मैले सकी नसकी आँशु चुहाएँ आमा
किनभने थाहा छ मैले आँशु झारेको
मैले मलिन रुन्चे अनुहार लाएको
तिमीले कदापि हेर्न सक्दिनौ आमा ।
गंगालालमा बेस्वादको जाउलो निलिरहँदा
बेडमा आफू काम्दै टोपी किन नलगा‘को भन्दा
भित्रभित्रै नराम्ररी भक्कानिएँ आमा
किनभने मलाई थाहा छ मैले आँशु झारेको
मैले मलिन रुन्चे अनुहार लाएको
तिमीले कदापि हेर्न सक्दिनौ आमा ।
उठ न चाँडै निको हनु नि आमा
तिम्रो औँला समातेर बजार घुम्ने रहर छ,
तिम्रो करिब करिब रित्तो थैली खेलाउँदै
तिम्रो आर्थिक अवस्थाले भ्याउने
१५ पैसाको बरफ खान रहर छ,
सम्पूर्ण तनावलाई बिर्सेर
तिम्रो न्यानो काखमा निदाउने रहर छ आमा ।
♠ गंगलाल हृदय रोग अस्पताल
(रचनाकार नेपाल सरकार कृषि विकास मन्त्रालयका सहसचिव हुन् ।)