एकदेव आले,
एक गोठालो भएर हुर्केका गाउँले,
बन–जङ्गल पहाड र बञ्जर,
खोला र खहरेसँग खेलेर
गाउँका ठूला–ठालु सामन्तले
सताएका पद दलित,
आज तिमीलाई सयबार सलाम !
बेलायती मिचाहाहरुको सेनामा
भर्ती हुन बाध्य भएका आले,
तिमीले बन्दुक पड्कायौ
फासिष्ट (अत्याचार) को विरोधमा
दोस्रो विश्व–युद्धको आगोमा
बन्दी बनाइयौ इटालीको जेलमा
तिमीलाई सय सयबार मेरो सलाम !
१०४ वर्षको क्रुरता,
एक परिवारको निरङ्कुशता
राणाहरुको तानाशाही डगमगाइरहेको थियो
विशाल धमिराले खाएको रुख जस्तै
तिमी आँधी बनी आयौ सुरिएर
यो हिमाली देशमा
रातो उज्यालो छर्दै बन्दुक पड्काउँदै,
मुक्तिका एक सेनानी भएर
दासताको बन्धनलाई तोड्दै
आले, तिमीलाई सय सयबार सलाम !
सामन्तवाद राणाहरुको,
धमिराले क्षत् विक्षत् त्यो विशाल रुख
चर्मराएर ढल्दै थियो गरम्म !
तर, तर जरैदेखि उखेलिन लागेको थियो
दिल्ली सम्झौताको हुरीले
तिम्रो मुटुलाई छियाछिया पार्यो
हिमालमाथि फहराएको रातो झण्डा झुक्यो,
तिमीले फेरि आफ्नो बन्दुकलाई बेसरी समात्यौ
नेपालको आकाशमा फेरि तोप गज्र्यो विद्रोहको
सिंहदरबार तिमीले कब्जा गर्यौ
राजगद्दी काँप्न थाल्यो
काठमाण्डु रगतको छिर्काले रङ्गीन भयो
आले, तिमीलाई सय सयबार सलाम, मेरो !
“शत्रु अगाडि बढ्छ, हामी पछाडि हट्छौँ”
तिम्रो रणनीति त्यही बन्यो
नयाँ अनुभव, नयाँ विद्रोह
तिमी गिरफ्तार गरियौ, बन्दी बनाइयौ
तर संघर्ष तिमीले छोडेनौ
झन् साम्यवादको बाटो रोज्यौ
बन्दी छौ तर हृदयमा मुक्तिको आगो छ
मुक्तिको नयाँ बाटो र, नयाँ कल्पनाले तिमी खारियौ,
तिमीलाई सय सयबार सलाम मेरो !
तिम्रो मुटु अब झन्झन् रातो
गोठाले, सिपाही, किसान, मजदुरलाई अब
मुक्ति दिलाउने शोषणबाट, तिम्रो उद्देश्य
तिम्रो झण्डा क्रान्तिको !
गाउँ गाउँमा राँको बल्यो विद्रोहको,
बाँधिए रुखमा सामन्त शोषकहरु
जलाइए जाली तमसुक र क्रुरबन्धनहरु
गरीबमाथि लादिएका युगयुगदेखि
सलाम आले मेरो सय सयबार !
आकाश नेपालको फेरि
ढाकियो बादलले घनान्धकार, हिमाल
२०१७ सालको प्रतिक्रान्तिको चरमविन्दु
तर तिम्रो आँखा उज्यालो
झन् भम्कियो अँध्यारोमा
झ्यामोलोङ्मा जस्तै ठाडै तिम्रो मुन्टो
प्रतिक्रान्तिको आतङ्कमा नझुक्ने
चम्चम् गर्दै चम्कने सूर्यमा
क्रान्तिको बन्दुक जस्तै तिमी !
रोज्यौ गणतन्त्रकै बाटो बडो निडर भएर
सडे गलेको राजतन्त्रलाई लात मार्दै
फेरि उही कारागारमा
धोखाले भित्रियौ, तर, के ?
सिंहलाई काँचो धागोले बाँध्ने
कस्तो मुर्खता ?
तिम्रो मुटुको क्रान्तिकारी आगोले
दन् दन् बलेको ज्वालाको अगाडि
सामन्तवाद र अन्याय अत्याचारका
ती कारागारका अग्ला अग्ला भित्ताहरु
ती पहराहरु दमन र हिंसाका
गरम्म गरम्म ढल्न थाले चारैतिर
कारागार दमनको एक व्यङ्ग भयो
तिमीलाई
आले, तिमीलाई सय सयबार सलाम !

तिमीले रातो झण्डालाई माथि उचाल्यौ झन् झन्
कम्युनिस्ट पार्टीको छाती तानी
त्यसमा लागेका धुलो र फोहोरहरु, राजतन्त्रका घृणित
झाडिदियौ निर्ममताले
सय सयबार सलाम तिमीलाई !
तिमी भोको बस्यौ
प्यासा थियौ पानीको अभावले
मन र मानसमा आँधीबेहरी चलेको थियो
क्रान्तिको, मुक्तिको सदा सदा
तिम्रो शरीरको चारैतिर
अझै रगतका टाटाहरु छिरबिर
आखिर भोक, प्यास र गरिबीले
आक्रान्त भयौ, लड्यौ अन्तसम्म
“रगत बगाएर आफ्नै देशमा
लड्दा लड्दै मर्ने”
तिम्रो धोको बीचमै
नजानिँदो क्यान्सरले तिमीलाई
सदा सदा अगल गरिदियो हामीबाट
आले, सय सयबार सलाम !
खोई, को पत्याउँछ आज यहाँ
कि आले छैन ?
तिमी जिउँदै छौ अझै लाखौँ दोब्बर
नपत्याए सोध त्यो
आकाशमा फहरिरहने रातो झण्डालाई
बडो गर्वले क्रान्तिको,
मन मानसमा क्रान्तिकारी वीरहरुको मुटुमा
रङ्ग अझै रातो छ,
आले अझै जिउँदै छ,
ऊ अझै लड्दै छ,
यो हिमाल शिखरलाई हाँक दिने उचाइमा
भष्म हुनेछ सुकेर, प्रशान्त सागर पनि
बालुवाका खाडल,
यो सारा भूमध्यका हरियो पेटी
सहारा बनोस्
तर आले मर्न सक्दैन
एक नेपालीको मुटु रातो भएसम्म
आले, तिम्रो वियोगमा
तिम्रो अभावमा
यो शोकलाई बलमा
अझै देश दोब्बर रिसले
तिम्रो झण्डालाई माथि उचालौँला
आँधी–बेहरी, घाम–पानी शीत र हिउँले
खारिएका ए वीर ?
पहाडको बीचमा उग्रेका बन्दुक जस्तै बिरुवा ठाडो
तिमी मेरो झण्डा–रातो
आफ्नो मृत साथीलाई गाड्ने
आफ्नो घाउ पुछ्ने रगतको,
झण्डा सम्हाले फेरि रणक्षेत्रबाट उठेर
फेरि लड्ने तिम्रो उदाहरण, हाम्रो शिक्षा,
आले तिमीलाई सय सयबार सलाम !
याे पनि पढ्नुहाेस्ः सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली – क. डि.बि. कार्की
याे पनि पढ्नुहाेस्ः मेरा बा किसान हुन् – हेम प्रभास
याे पनि पढ्नुहाेस्ः मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ
(क. रोहितको यस कवितालाई हमीले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित जनवादी आन्दोलनका महान सेनानी क. एकदेव आले बाट साभार गरेका हौँ ।)