देश निर्वाचनको दिशामा होमिएको छ । सबै राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र समानुपातिकतर्फका उदेद्वारहरूको चयन गरी प्रारम्भिक सूची निर्वाचन आयोगमा बुझाउने काम गरिसकेका छन् भने प्रत्यक्षतर्फको उमेद्वारी चयनका लागि आन्तरिक अभ्यास गरिरहेका छन् । समानुपातिकतर्फको उमेद्वारी दर्तापश्चात देश निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ ।
जेनजी प्रदर्शनको क्रममा सत्तारूढ रहेका वा अर्को शब्दमा भन्दा देशमा जेनजी प्रदर्शन र भयानक विनाशको स्थिति सिर्जना गर्ने कारक तत्त्वको रूपमा रहेका दुई ठुला संसदवादी दलहरूले संसद पुनर्स्थापनाको चाहना गर्दै अदालतमा मुद्दा दर्ता गरेका छन् । त्यसैको बलमा केही देशी तथा विदेशी प्रतिक्रियावादीहरू र अतिवादी शक्तिहरू संसद ब्युँताउने, देशलाई फेरि अव्यवस्था, कुशासन र भ्रष्टाचारको दलदलमा फसाउने, त्यसैको आधारमा अर्को विनाशको जाल बुनेर नेपाललाई बंगलादेश र युक्रेनको दिशा हुँदै अन्ततः नेपाल राष्ट्र र राष्ट्रियतालाई सदासर्वदाका लागि निमिट्यान्न पार्ने सपना देखिरहेका छन् । सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको मुद्दा रहेको भए पनि देशको बदलिएको परिस्थिति र निर्वाचन प्रक्रिया अगाडि बढिसकेको वर्तमान सन्दर्भमा त्यसको संभावना र मुद्दाको औचित्य आफैमा कम भएको देखिन्छ । अरू कुरा सम्मानित अदालतले नै निर्धारण गर्ला ।
संयोजक क. प्रचण्डको निर्वाचन क्षेत्रबारे
आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेद्वारको रूपमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्डलाई विभिन्न जिल्लाहरूबाट सिफारिस गरिएको छ, जुन गौरवपूर्ण र एकदमै सही छ । यसले उहाँ अरू नेताजस्तो एउटा जिल्ला वा निर्वाचन क्षेत्र कुरेर बस्ने बँधुवा नेता वा निर्वाचन क्षेत्र र जिल्ला फेर्नै नसक्ने ‘कुवाको भ्यागुतो’ वा ‘घरको बाघ, वनको लुते कुकुर’ होइन भन्ने मात्र देखाएको छैन, उहाँ सबै जिल्ला, निर्वाचन क्षेत्र र सिंगो देशले माया र सम्मान गर्ने राजनेता तथा राष्ट्रनायक भएको पनि पुनः सिद्ध भएको छ ।

उहाँले देशको १६५ निर्वाचन क्षेत्रमध्ये जुनसुकै निर्वाचन क्षेत्रमा उमेद्वारी दिए पनि जित्नुहुन्छ । यसमा कुनै शंका छैन । तर हामी नेपाली कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले बुझ्नुपर्ने र उहाँको उमेद्वारी माग गर्ने आम नेपाली जनतालाई बुझाउनु पर्ने कुरा के हो भने उहाँ आफूले जितेर मात्रै पुग्दैन । देशका १६५ निर्वाचन क्षेत्रकै नेपाली कम्युनिष्ट पार्टीका उमेद्वारहरूलाई विजयी गराउने र नेपाली कम्युनिष्ट पार्टीको समानुपातिकतर्फ ५० लाख भोट ल्याएर एकल बहुमतको सरकार निर्माण गर्दै देशलाई निकाससहितको नयाँ दिशा दिने, आम जनता र नवयुवा (जेन्जी) का मागहरू सम्बोधन गर्ने, विकासको लहर ल्याउने, कृषि क्रान्ति र भूमिसुधार गर्ने, सुकुम्बासी र भूमि समस्या समाधान गर्ने, सबैलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, जातीय, क्षेत्रीय र लैङ्गिक लगायत सबै प्रकारका विभेद अन्त्य र सामाजिक न्याय मार्फत समाजवादको आधार तयार गर्ने र नेपाली जनताको जीवनमा सुख, समृद्धि र खुसीयाली ल्याउँदै नेपाललाई समृद्ध राष्ट्र बनाउने लक्ष्यका साथ देशभरको निर्वाचनमा खटिनु पर्ने हुन्छ ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा निरन्तर नजर राख्दै निर्वाचनलाई सुनिश्चित गर्ने र निर्वाचन हुन नदिएर नेपाललाई अव्यवस्था र अन्यौलताको कालो सुरुङमा धकेल्ने षड्यन्त्र भएमा वैकल्पिक बाटोबाट समाजवादी क्रान्ति सम्पन्न गर्न ‘४ आधार, ४ तयारी’ को काम पनि सँगसँगै गर्नुपर्ने हुन्छ । तसर्थ उहाँ कहाँ उठ्दा उपयुक्त हुन्छ भन्ने सुझाव दिऊँ, तर्क राखौँ तर उहाँलाई निर्णय गर्न असहज हुने गरी आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रमा आउने गरी अनावश्यक दबाब नदिऊँ ।
हाम्रो देश, पार्टी र क्रान्ति इतिहासको गम्भीर मोडमा उभिएका छन् । नेपालको मात्र नभई विश्व राजनीति र समाजवादी आन्दोलन नै गम्भीर मोडमा उभिएको कुरा भर्खरै घटेको भेनेजुएलाको घटनाले उजागर गरेको छ । साम्राज्यवाद त्यहाँ त कालो रातमा आइपुग्यो, यहाँ त दिनदहाडै क्रियाशील छ । चौतर्फी घैराबन्दी र संकटको बेला संकृणताले होइन, खुला दिमागले सोचौँ । पार्टीले जित्नुपर्छ, क्रान्तिले जित्नुपर्छ । हामी व्यक्ति सहायक हौँ । यो कुरा मसहित सबैको हकमा लागु हुन्छ र हुनुपर्छ । यसमा कोही अपवाद छैन र हुनु हुँदैन ।
सबैलाई थाहा छ, शान्ति प्रक्रियाको सुरुवातदेखि नै क. प्रचण्ड सँधै एकै जिल्ला र निर्वाचन क्षेत्रबाट नउठ्ने कुरामा छलफल भएको थियो । केही विदेशीका एजेन्टहरू, तिनैबाट सञ्चालित सामाजिक सञ्जाल र संचार माध्यममा बसेर संचारकर्म कम, बरू प्रहशनकर्ताको भूमिकामा ज्यादा देखिएका माओवादी विरोधी केही मानिसहरू, पार्टी विभाजन वा परित्याग गरेर त्यसको औचित्य पुष्टि गर्न नसकेका मानिसहरू र राजनीतिका सबै पक्ष नबुझेका केही अपरिपक्व नवयुवा साथीहरूले संयोजक क. प्रचण्डको आफ्नो निर्वाचन क्षेत्र नभएको कुरा बेला बेलामा उठाउने गरेको देखिन्छ । त्यस्तो बहकाउमा नलागौँ ।
संयोजक क. प्रचण्डबारे
संयोजक क. प्रचण्ड र उहाँले नेपाली तथा विश्व कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकालाई हामी नेपालीहरू र त्यसमा पनि स्वयं माओवादीहरूले नै कम आँकेको देखिन्छ । कता कता ‘नजिकको तीर्थ हेला’ भनेजस्तै भान हुन्छ। आफ्नै देशको, आफ्नै माटोको र सँधै देखिरहने, भेटिरहने भएर पनि होला सायद । उहाँको बारेमा आफैमा असन्तुष्टीको पहाड बोकेर एउटा कुवामा बसिरहेको भ्यागुतोले जसरी संकृण भएर होइन, सर्वहारा विश्वदृष्टि र विश्व कम्युनिष्ट आन्दोलनको नजरबाट हेरौँ त । के देखिन्छ?
क. प्रचण्ड नेपालको जनवादी क्रान्तिको महानायक हुनुहुन्छ । देशको राजनेता र सिंगो राष्ट्रको नायक हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य भइसकेको छ । उहाँ माओवादका ब्याख्याता र प्रचण्डपथका प्रवर्तक हुनुहुन्छ । नेपालको दश वर्षे जनयुद्ध र जनआन्दोलनको आर्किटेक्ट र नेतृत्वकर्ता मात्र नभई क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) का नेता र कम्पोसाका निर्माता हुनुहुन्छ । नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभई अहिले नाम लिइने विश्व कम्युनिष्ट आन्दोलनका कैयौँ पार्टीहरूका एकताका सुत्राधार हुनुहुन्छ ।
अबका दिनमा कुनै राजभक्त चाटुकारले नभई विवेकशील इतिहासकारहरूले लेख्ने नेपालको इतिहासको पुस्तक क. प्रचण्ड, महान् जनयुद्ध, संविधान सभा र गणतन्त्र स्थापनाको अध्याय बिना अधुरो, अपूरो, निषेधात्मक, एकपक्षीय र अस्वीकार्य हुनेछ । नेपालको कुनै पनि हाजिरी जवाफ प्रतियोगिता वा लोक सेवा वा अन्य परिक्षामा ‘गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री को हो’ भन्दा क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ भनेर नाम लिन नचाहने व्यक्ति फेल हुन्छ । त्यति मात्र होइन, अब कुनै वास्तविक कम्युनिष्टले लेख्ने विश्व कम्युनिष्ट आन्दोलन, र त्यसमा पनि विशेषतः विश्व माओवादी आन्दोलनको इतिहास क. प्रचण्ड र उहाँको नेतृत्वमा भएको दश वर्षे महान् जनयुद्धको उल्लेख नगरी पूरा गर्न संभव छैन ।
साम्राज्यवाद र विस्तारवादलाई ठाडो चिनौती दिनसक्ने, सबै पक्षलाई नेपालको हितमा कुटनीतिक सन्तुलनमा राख्न सक्ने र विश्व राजनीतिक दृश्यका खेलाडीहरू सी फिनफिङ, भ्लादिमिर पुटिन, नरेन्द्र मोदी, मिगेल डियाज केनेलजस्ता धुरन्धर नेताहरूसँग आँखामा आँखा जुधाएर सम्मानजनक ढंगले वार्ता गरेका र गर्नसक्ने आजको नेपालका एक मात्र नेता क. प्रचण्ड हुनुहुन्छ । यदि कुनै नेपाली व्यक्तिको नामले देशलाई विश्वमा चिनाउनु पर्यो भने गौतम बुद्धपछि त्यो नाम दश वर्षे महान् जनयुद्धका सर्वोच्च कमाण्डर क. प्रचण्डको मात्रै हो । यस्तो नाम विगतमा न अरू कसैको थियो, न निकट भविष्यमा त्यस्तो अरू कसैको संभव छ ।
नेपालको राजनीतिक इतिहास र विश्व कम्युनिष्ट आन्दोलनमा नै एउटा विराट व्यक्तित्व बनाएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्डको निर्वाचन क्षेत्रको बारेमा गरिने बहस आफैमा चुत्थो र औचित्यहीन छ । उहाँलाई कुनै एउटा निर्वाचन क्षेत्रमा सीमित बँधुवा नेता बनाउन खोज्ने साम्राज्यवादी भ्रमजाल हामीले राम्री बुझ्नुपर्छ र त्यसलाई तोड्नुपर्छ । जुनसुकै राष्ट्रिय स्तरको नेताका लागि पनि एउटा निर्वाचन क्षेत्र कुरेर बस्ने कुरा कायरता हो र क. प्रचण्ड अरूजस्तो कायर हुनुहुन्न । कायरहरूले दिने हुँकार वा कपटपूर्ण अभिव्यक्तिको कुनै अर्थ छैन । हिम्मत भए उनीहरू आफ्नो जिल्ला र निर्वाचन क्षेत्र छोडेर अर्को निर्वाचन क्षेत्रमा गएर जितेर देखाऊन् ।
क. प्रचण्डलाई नेपालको राजनेता अर्थात् राष्ट्रनायकको भूमिकामा रहन दिऊँ । उहाँलाई विश्वक्रान्तिको एक महत्त्वपूर्ण नायकको रूपमा अझ मजबुद ढंगले स्थापित गर्न प्रयत्न गरौँ । उहाँका लेख रचनाहरूलाई विभिन्न भाषामा अनुवाद गर्ने, विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको माओवादी आन्दोलन र क. प्रचण्डको विरूद्ध फैलाइएका भ्रमहरूलाई तोड्ने, नेपाली क्रान्ति र महान् जनयुद्धका अनुभव एवं वीरताका कथाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा स्थापित गर्ने काम गरौँ । विभाजित माओवादी आन्दोलन र समस्त क्रान्तिकारीहरूलाई संस्थागत वा व्यक्तिगत रूपमा ध्रुवीकृत र एकताबद्ध गर्ने कोसिस गरौँ । अन्तर्राष्ट्रिय जनसम्बन्ध (पिपुल टु पिपुल रिलेसन) र अप्रत्यक्ष कुटनीति (ट्याक टु डिप्लोमेसी) को सौहार्द र सन्तुलित प्रयोग गरौँ । विरोधीले लगाएका आरोपहरूलाई दृढताका साथ खण्डन गरौँ । आफूभन्दा माथिको नेतृत्व वा स्वयं संयोजक क. प्रचण्डसँग प्रत्यक्ष भेटमा गुनासो र सुझावहरू राखौँ, आवश्यक परे आलोचना पनि गरौँ तर बाहिर दृढतापूर्वक नेतृत्वको रक्षा गरौँ ।
अटुट आस्था र विश्वासका साथ पार्टी निर्माण, निर्वाचन र संघर्षको तयारीमा होमिऔँ । जनताको विजय सुनिश्चित छ । नेकपाको विजय सुनिश्चित छ । नेपाल विदेशीको क्रिडास्थल होइन, नेपालीहरूको विकसित, समृद्ध, शान्त, सुरक्षित र खुसीयालीपूर्ण देश बनाउनु छ । नेकपाको नेतृत्वमा हामी बनाइछाड्ने छौँ ।











