माओवादी केन्द्र निकट चार जनसंगठन , चित्रबहादुर श्रेष्ठ, जगत सिम्खडा, दलजित श्रीपाली, अमर परियार
 

काठमाडौँ । नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासी जनताको प्रतिनिधित्व गर्ने चार वामपन्थी जनसंगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरण प्रयासको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन्। नेपालका चार प्रभावशाली जनसंगठनहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्षहरूका हस्ताक्षरसहित सोमबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उक्त घटनालाई संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, राष्ट्रहरूको आत्मनिर्णयको अधिकार र जनताको सार्वभौमसत्तामाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरेका छन्।

विज्ञप्तिमा यो घटना आकस्मिक नभई भेनेजुएलामा अघि बढाइएको बोलिभारियन आन्दोलन, सामाजिक न्याय, जनसत्ता, सार्वभौम विकास र बहुध्रुवीय विश्व व्यवस्थाको विकल्पलाई दबाउने दीर्घकालीन साम्राज्यवादी रणनीतिको निरन्तरता भएको उल्लेख छ। अमेरिकी साम्राज्यवादले लामो समयदेखि आर्थिक नाकाबन्दी, एकपक्षीय दमनकारी प्रतिबन्ध, असफल ‘कू’ प्रयास, राजनीतिक अस्थिरता र भाडाका शक्तिको प्रयोग गर्दै अन्ततः खुला सैन्य हस्तक्षेप र अपहरणजस्ता औपनिवेशिककालीन फासिवादी तरिकाहरू अपनाएको बताइएको छ ।

चारै जनसंगठनले भेनेजुएलाको क्रान्तिलाई किसान, श्रमिक, महिला, आदिवासी र उत्पीडित समुदायको ऐतिहासिक संघर्षबाट जन्मिएको जनमुखी परियोजना भएको भन्दै यसले विश्वभरका श्रमजीवी जनतामा समाजवाद र न्यायप्रतिको आशा जगाएको बताएका छन्। नेपाली जनता स्वयं लामो समयदेखि सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादी हस्तक्षेपविरुद्ध संघर्षरत रहेको सन्दर्भमा भेनेजुएलामाथिको आक्रमणलाई साझा मुक्ति संघर्षमाथिको आक्रमणका रूपमा लिइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा राष्ट्रपति मादुरो र उनकी जीवनसंगिनी तथा क्रान्तिकारी नेतृ सिलिया फ्लोरेसलाई बिना सर्त र सुरक्षित रूपमा तत्काल रिहा गर्न, भेनेजुएलाको संवैधानिक सरकार र राष्ट्रिय सार्वभौमसत्ताको पूर्ण सम्मान गर्न, संयुक्त राज्य अमेरिका द्वारा जारी सबै प्रकारका सैन्य आक्रमण, राजनीतिक हस्तक्षेप र आर्थिक नाकाबन्दी अन्त्य गर्न तथा एकपक्षीय दमनकारी प्रतिबन्धहरू खारेज गर्न जोडदार माग गरिएको छ। साथै, यस किसिमका साम्राज्यवादी आक्रमणका योजनाकार र कार्यान्वयनकर्तालाई अन्तर्राष्ट्रिय कानुन र विश्व जनमतको कठघरामा उभ्याउनुपर्ने माग पनि गरिएको छ।

चार वाम जनसंगठनहरूले विश्वभरका श्रमिक, किसान, दलित, सुकुम्बासी, युवा, महिला, विद्यार्थी, आदिवासी तथा सम्पूर्ण समाजवादी, प्रगतिशील र साम्राज्यवादविरोधी शक्तिहरूलाई दृढ ऐक्यबद्धताका साथ बोलिभारियन जनताको समर्थनमा उभिन आह्वान गरेका छन्। कूटनीतिक माध्यम र जनआन्दोलन दुवैको शक्तिबाट अन्तर्राष्ट्रिय शान्ति, स्वाधीनता र सामाजिक न्यायको पक्षमा आवाज उठाउनु आजको ऐतिहासिक आवश्यकता भएको उनीहरूको निष्कर्ष छ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठः

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो औपचारिक पोशाकमा
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोस

हामी – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघ – नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासी जनताको प्रतिनिधित्व तथा नेतृत्व गर्ने जनसंगठनहरू बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरणलाई संयक्त राष्ट्र संघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन, राष्ट्रहरूको आत्मनिर्णय र जनताको सार्वभौमसत्तामाथिको जघन्य आक्रमणका रूपमा घोर निन्दा तथा भर्त्सना गर्दछौँ।

यो कुनै आकस्मिक घटना नभई बोलिभारियन आन्दोलनद्वारा अघि सारिएको सामाजिक न्याय, जनसत्ता, सार्वभौम विकास, डलर अधिपत्यको अन्त्य र बहुध्रुवीय विश्वव्यवस्थाको विकल्पलाई दबाउने र समाजवादी क्रान्तिलाई ध्वस्त गर्ने साम्राज्यवादी रणनीतिको निरन्तरता हो। अमेरिकी साम्राज्यवादले भेनेजुएलाविरुद्ध लामो समयदेखि आर्थिक नाकाबन्दी, एकपक्षीय दमनकारी प्रतिबन्ध, पटक पटक असफल ‘कू’को प्रयास, राजनीतिक अस्थिरता सिर्जना र भाडाका शक्तिको प्रयोग गर्दै अन्ततः खुला सैन्य आक्रमण तथा अपहरणजस्ता औपनिवेशिककालका फासिवादी तरिकाहरू अपनाउँदै आएको छ। यी सबै कार्यहरू बोलिभारियन क्रान्तिको जनाधारलाई कमजोर पार्ने र भेनेजुएलाका पेट्रोलियमसहित प्राकृतिक स्रोतहरूमाथि पुनः साम्राज्यवादी नियन्त्रण स्थापित गर्ने उद्देश्यबाट प्रेरित छन्, जुन सर्वदा अस्वीकार्य छन्।

भेनेजुएलाको क्रान्ति किसान, श्रमिक, महिला, आदिवासी र उत्पीडित वर्ग समुदायको ऐतिहासिक संघर्षबाट जन्मिएको जनमुखी कार्यक्रम भएकाले यसले विश्वभरका श्रमजीवी जनतामा न्याय र समाजवादप्रतिको आशा तथा आत्मविश्वास जगाएको छ। नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासीहरू स्वयं सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादी हस्तक्षेपविरुद्ध लामो संघर्षबाट गुज्रिरहेका हुनाले भेनेजुएलामाथिको आक्रमणलाई हामीले आफ्नो साझा मुक्ति संघर्षमाथिको आक्रमणका रूपमा लिएका छौँ।

हामी राष्ट्रपति निकोलस मादुरो मोरोस र उहाँकी जीवनसंगिनी तथा क्रान्तिकारी नेतृ सिलिया फ्लोरेसलाई बिना सर्त, सुरक्षित रूपमा तुरुन्त रिहा गर्न, भेनेजुएलाको संवैधानिक सरकार तथा राष्ट्रिय सार्वभौमसत्ताको पूर्ण सम्मान गर्न, भेनेजुएला विरुद्ध जारी सबै प्रकारका अमेरिकी सैन्य आक्रमण, राजनीतिक हस्तक्षेप र आर्थिक नाकाबन्दी तत्काल अन्त्य गर्न, भेनेजुएली जनतामाथि थोपारिएका सबै एकपक्षीय दमनकारी प्रतिबन्ध खारेज गरी जनताको आत्मनिर्णय र स्वतन्त्र विकासको अधिकार सुनिश्चित गर्न र यो साम्राज्यवादी आक्रमण तथा राष्ट्रप्रमुखको अपहरणका योजनाकार तथा कार्यान्वयनकर्ताहरूलाई अन्तर्राष्ट्रिय कानुन र विश्व जनमतको कठघरामा उभ्याउँदै भेनेजुएलासहित विश्वभर शान्ति र अमनचयनको वातावरण सुनिश्चित गर्न जोडदार माग गर्दछौँ ।

हामी विश्वभरका श्रमिक, किसान, दलित, सुकुम्बासी, युवा, महिला, विद्यार्थी, आदिवासी तथा सम्पूर्ण समाजवादी, लोकतन्त्रवादी, प्रगतिशील र साम्राज्यवादविरोधी शक्तिहरूलाई दृढ ऐक्यबद्धताका साथ बोलिभारियन जनताको समर्थनमा उभिन आह्वान गर्दछौँ। कूटनीतिक माध्यम र जनआन्दोलन दुवैको शक्तिबाट अन्तर्राष्ट्रिय शान्ति, स्वाधीनता र सामाजिक न्यायको पक्षमा आवाज उठाउनु आजको ऐतिहासिक आवश्यकता हो।हामी नेपालका जनसंगठनहरू भेनेजुएली जनतासँग क्रान्तिकारी भाइचारा, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र पारस्परिक सम्मान व्यक्त गर्दछौँ। जनताको संगठित शक्ति अजेय छ, साम्राज्यवादी दमनको अन्तिम परिणाम तिनको पराजय हुनेछ।

हार्दिक क्रान्तिकारी अभिवादनसहित।

चित्रबहादुर श्रेष्ठ, अध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)
जगतबहादुर सिम्खडा, अध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)
दलजित श्रीपाली, अध्यक्ष नेपाल दलित मुक्ति मोर्चा
अमर परियार, अध्यक्ष अखिल नेपाल सुकुम्बासी संघ

मितिः २०८२ पुस २२ गते