chitra bahadur shrestha, baldeb chaudhari, ram dular mahato, sitaram tamang, durga jaishi, bhairab regmi
 

काठमाडौँ । नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरूसँग निकट रहेका प्रभावशाली किसान संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा अन्तर्राष्ट्रिय कानुनहरूको उलंघन गर्दै भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको गैरकानुनी तथा नैतिकताहीन अपहरणको कठोर शब्दमा निन्दा तथा भर्त्सना गरेका छन् ।

लामो समयदेखि सहकार्यमा रहेका ६ किसान संगठनहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यो जघन्य आक्रमणलाई एउटा स्वतन्त्र राष्ट्र र सार्वभौम जनताको विरूद्ध गरिएको अन्तर्राष्ट्रिय कानुनहरू, संयुक्त राष्ट्रसंघको बडापत्र तथा राष्ट्रिय सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताका मौलिक सिद्धान्तहरूको घोर उल्लङ्घन बताउँदै अमेरिकी साम्राज्यवादले स्वतन्त्र राष्ट्रहरूलाई साम्राज्यवादी प्रभुत्वमा झुकाउन, प्राकृतिक स्रोतहरूको लुट गर्न र समाजवादी क्रान्तिलाई ध्वस्त गर्न चलाइरहेको दीर्घकालीन षड्यन्त्रको निरन्तरता भएको दाबी गरेका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल, अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्षहरूको सामूहिक हस्ताक्षरसहित जारी विज्ञप्तिमा भेनेजुएलामाथिको आक्रमणलाई विश्व श्रमिक वर्ग र किसानहरू माथिको आक्रमण भएको निष्कर्ष निकाल्दै भनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसलाई तुरुन्त बिना शर्त रिहाइ गर्न, भेनेजुएलाको सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै भेनेजुएलाविरुद्धका सम्पूर्ण सैन्य, राजनीतिक र आर्थिक आक्रमणको अन्त्य गर्न, भेनेजुएली जनतामाथि थोपारिएका सबै एकपक्षीय दमनकारी प्रतिबन्ध तथा नाकाबन्दी खारेज गर्न र यसमा संलग्न योजनाकार तथा अपराधीहरूलाई अन्तर्राष्ट्रिय मञ्च तथा विश्व जनमतको अदालतमा जवाफदेही बनाउन माग गरेका छन् ।

किसान संगठनहरूले विश्वभरका क्रान्तिकारी, समाजवादी, लोकतन्त्रवादी तथा साम्राज्यवादविरोधी शक्तिहरूलाई अमेरिकी साम्राज्यवादविरुद्ध संयुक्त संघर्षमा उत्रिन र भेनेजुएलाली जनता तथा उनीहरूको संवैधानिक सरकारको दृढ समर्थन गर्न आह्वान गर्दै उत्पीडितहरू क्रान्तिकारी दृढतासहित एकजुट हुँदा साम्राज्यवादलाई पराजित गर्न सकिने कुरा इतिहासले पटक पटक सिद्ध गरेको बताएका छन् ।

विज्ञप्तिमा नेपाली किसानहरू भेनेजुएलाका श्रमिक र किसानहरूसँग काँधमा काँध मिलाएर उभिएको बताउँदै मुक्तिकामी जनताको स्वतन्त्रताको इच्छाशक्तिलाई कुनै पनि प्रतिक्रियावादी शक्तिले दबाउन नसक्ने उल्लेख गरिएको छ ।

६ किसान संगठनहरूको संयुक्त प्रेस वक्तव्यको पूर्ण पाठः

हामी नेपालका छ कम्युनिस्ट पार्टीहरूसँग आबद्ध किसान संगठनहरू भेनेजुएलाको सार्वभौमसत्ता विरुद्ध अमेरिकी साम्राज्यवादद्वारा अन्तर्राष्ट्रिय कानुनहरूको उलंघन गर्दै भएको नाङ्गो आक्रमण तथा संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको गैरकानुनी तथा नैतिकताहीन अपहरणको कठोर निन्दा तथा भर्त्सना गर्दछौँ। यो जघन्य आक्रमण एउटा स्वतन्त्र राष्ट्र र सार्वभौम जनताको विरूद्ध गरिएको अन्तर्राष्ट्रिय कानुनहरू, संयुक्त राष्ट्रसंघको बडापत्र तथा राष्ट्रिय सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताका मौलिक सिद्धान्तहरूको घोर उल्लङ्घन हो । यो अमेरिकी साम्राज्यवादले स्वतन्त्र राष्ट्रहरूलाई साम्राज्यवादी प्रभुत्वमा झुकाउन, प्राकृतिक स्रोतहरूको लुट गर्न र समाजवादी क्रान्तिलाई ध्वस्त गर्न चलाइरहेको दीर्घकालीन षड्यन्त्रको निरन्तरता हो ।

किसान, मजदुर, आदिवासी तथा उत्पीडित जनसमुदायका आकांक्षामा आधारित बोलिभारियाली क्रान्ति विश्वका शोषित, पीडित तथा श्रमजीवी जनताका लागि आशा र प्रतिरोधको दियो बनेको छ। अनेकौँ षड्यन्त्र र हथ्कण्डाको बाबजुद पनि आवधिक निर्वाचन र लोकतान्त्रिक माध्यमबाट पराजित गर्न असफल भएपछि पश्चिमा साम्राज्यवादीहरूले भेनेजुएलाको विरुद्ध आर्थिक नाकाबन्दी, राजनीतिक हिंसा र भाडाका सैनिकहरूको प्रयोग गर्दै आएका थिए । ती सबै षड्यन्त्रलाई साहसी तथा क्रान्तिकारी भेनेजुएली जनताले धुलिसात पारेपछि यतिबेला गैरकानुनी हस्तक्षेप र अपहरणजस्ता उपनिवेशवादी प्रभुत्व र फासिवादी आतंकका ज्यादतिहरू अपनाएको छ।

देशको जनसंख्याको दुईतिहाइ हिस्सा ओगट्ने र आफू स्वयं सामन्ती शोषण, दलाल नोकरशाही पुँजीवाद तथा साम्राज्यवादी हस्तक्षेपबाट पीडित नेपाली किसानहरूको नेतृत्व गर्ने हामी किसान संगठनहरू यस आक्रमणलाई विश्वका सबै साम्राज्यवादविरोधी, समाजवादी र प्रगतिशील आन्दोलनहरू माथिको आक्रमणका रूपमा लिएका छौँ। भेनेजुएलामाथिको आक्रमण विश्व श्रमिक वर्ग र किसानहरू माथिको आक्रमण भएको निष्कर्षका साथ निम्न मागहरू गर्दछौः

१‍. राष्ट्रपति निकोलस मादुरो मोरोसलाई तुरुन्त र बिना शर्त रिहाइ गरियोस् ।

२. भेनेजुएलाको सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै भेनेजुएलाविरुद्धका सम्पूर्ण सैन्य, राजनीतिक र आर्थिक आक्रमणको अन्त्य गरियोस्।

३. भेनेजुएली जनतामाथि थोपारिएका सबै एकपक्षीय दमनकारी प्रतिबन्ध र नाकाबन्दी खारेज गरियोस्।

४. यस अपराधका योजनाकार र अपराधीहरूलाई अन्तर्राष्ट्रिय मञ्च तथा विश्व जनमतको अदालतमा जवाफदेही बनाइयोस्।

हामी विश्वभरका क्रान्तिकारी, समाजवादी, लोकतन्त्रवादी तथा साम्राज्यवादविरोधी शक्तिहरूलाई अमेरिकी साम्राज्यवादविरुद्ध संयुक्त संघर्षमा उत्रिन र भेनेजुएलाली जनता तथा उनीहरूको संवैधानिक सरकारको दृढ समर्थन गर्न आह्वान गर्दछौँ । उत्पीडितहरू क्रान्तिकारी दृढतासहित एकजुट हुँदा साम्राज्यवादलाई पराजित गर्न सकिने कुरा इतिहासले पटक पटक सिद्ध गरेको छ । नेपाली किसानहरू भेनेजुएलाका श्रमिक र किसानहरूसँग काँधमा काँध मिलाएर उभिएका छौँ, मुक्तिकामी जनताको स्वतन्त्रताको इच्छाशक्तिलाई कुनै पनि प्रतिक्रियावादी शक्तिले दबाउन सक्दैन।

अमेरिकी साम्राज्यवाद – मुर्दावाद ।
सर्वहारा अन्तर्राष्ट्रवाद – जिन्दावाद ।
बोलिभारियाली क्रान्ति – विजयी होस् ।

हार्दिक क्रान्तिकारी अभिवादनसहित।

चित्रबहादुर श्रेष्ठ , अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

बलदेव चौधरी, संयोजक, अखिल नेपाल किसान महासंघ

भैरवराज रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान महासंघ (अप्फा)

सीताराम तामाङ, अध्यक्ष, क्रान्तिकारी किसान महासंघ नेपाल

रामदुलार महतो, अध्यक्ष, अखिल नेपाल प्रगतिशील किसान संघ

दुर्गाप्रसाद जैसी, अध्यक्ष, अखिल नेपाल प्रगतिशील किसान संघ

मितिः २०८२ पुस २१ गते