भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो औपचारिक पोशाकमा
 

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनद्वारा बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि हालै गरिएको सैन्य कारबाही तथा आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टीले जारी गरेको वक्तव्यमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ। यस्ता आक्रमणकारी कार्यहरूले विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गर्ने पार्टीको ठहर छ।

वक्तव्यमा संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलाका संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको उल्लेख गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीले यस्ता कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य भएको बताएको छ।

नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रपति मादुरोलाई बिना सर्त तुरुन्त रिहा गर्न जोडदार माग गरेको छ। साथै, भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफै तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार रहेको स्पष्ट पारेको छ।

वक्तव्यमा नेपाली कम्युनिष्ट पार्टी साम्राज्यवाद तथा सबैखाले नव–उपनिवेशवादी हस्तक्षेपको सधैँ विपक्षमा रहँदै आएको स्मरण गराउँदै, विश्वका शान्तिप्रेमी शक्तिहरू, उत्पीडित राष्ट्र, वर्ग र समुदायका प्रगतिशील आन्दोलनहरू तथा सार्वभौमिकताको पक्षमा उभिने राष्ट्रहरूलाई भेनेजुएलाका जनताको समर्थनमा एकजुट हुन आह्वान गरिएको छ।

पार्टीले भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य कारबाही र हस्तक्षेप तत्काल रोक्न संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रभावकारी पहलका लागि अपिल पनि गरेको छ।

प्रेस वक्तव्यको पूर्णपाठः

मितिः २०८२/९/२०

अमेरिकाको ट्रम्प प्रशासनले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि हालै गरेको सैन्य कारबाही तथा आक्रमणप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन हो । यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गरेको छ ।

संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलाका संवैधानिकरूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप हो । यस प्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य छन् । हामी राष्ट्रपति मादुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौं । भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफै तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ ।

नेपाली कम्युनिष्ट पार्टी साम्राज्यवाद तथा सबैखाले नव–उपनिवेशवादी हस्तक्षेपको सधैँ विपक्षमा रहँदै आएको छ । हामी विश्वका सबै शान्तिप्रेमी शक्तिहरू, उत्पीडित राष्ट्र, वर्ग र समुदायका प्रगतिशील आन्दोलनहरू तथा सार्वभौमिकताको पक्षमा उभिने राष्ट्रहरूलाई भेनेजुएलाका जनताको समर्थनमा एकजुट हुन आह्वान गर्दछौँ । भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य कारबाही र हस्तक्षेप तत्काल रोक्न हामी संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी पहलकदमीका लागि अपिल गर्दछौँ ।

गणेशमान पुन
केन्द्रीय कार्यालय
नेपाली कम्युनिष्ट पार्टी