आँपको फेदमा भारी बिसाएर
साँझहरु अध्यारोलाई बैँस बेच्छन्
पृथ्वीको गोलाकार घेराको मसिनो बिन्दुमा
अडकिएको बस्ती
छानो चुहाउँदै बर्खा भएर रुन्छ
हिउँद भएर सितको थोपा थोपामा चुहिन्छ
नुनिलो आशुँले परेला भिजाएर
आन्दोलन भएर सडकभरी फैलिन्छ ।
चुनावको मुखमा
नयाँ युगको नारा लगाउँदै गोमन साँपहरु पस्छन् बस्तीमा
भातको पीडा बल्झिरहने चोकमा
सवार हुन्छन् संविधान
हक अधिकारको चेपारो घस्दै
पिपल रुख झैँ ठिङ्ग उभिन्छ संविधान
मानिलिऊँ कि संविधान
बृन्दाको सराप परेर
वृक्ष हुनुपरोस् भनिएकोमा
पिपल भएको
त्यही छलछामवाला बिष्णु हो ।
मानिलिऊँ कि संविधान
बा’को गोजिबट पैसा चोरेर
परेवाको बचेरालाई गुलेली हान्ने
त्यही अज्ञात अपराधी बालक हो ।
स्कुलबाट सयौँ विद्यार्थी
बेरोजगारी लिएर घर फर्किन्छन्
एउटा बुढो कामी आरनमा हँसियामा होइन
गरिबीमा पाइन हालिरहन्छ ।
किसानको आँखामा खुशी छैन
होर्डिङ बोर्डमा हाँसेकी
युवतीको हाँसो चोरेर
मुस्कुराएका आइमाईहरु
कदापी दङ्ग छैनन् ।
रातभर कुदिरहेछ्न् साइकलहरु
फिल्मका पोस्टर बोकेर
बहुराष्ट्रिय कम्पनीका विज्ञापन बोकेर
फिल्ममा जन्मिरहेछ्न् नायकहरु
तर कालो गाडीमा सवार देशले
सकेको छैन एउटा पनि नायक जन्माउन ।
जन्माउन त जन्माउँछ
कि मेनपावरको बिचौलिया जमाउँछ
कि अरब कुद्न विवश लाहुरे जन्माउँछ
कि देशलाई लात हान्दै
डिभीका लागि आत्महत्या गर्ने कुपुत्र जन्माउँछ
कि मतदाताको छाती चिरेर रगत पिउने
नेता जन्माउँछ,
रोबोट शैलीको एउटा वस्ती छ मेरो
रिमोट चाहिँ अरुले नै चलाउँछ ।