Sima Rijal, Leader of the CPN (United)
 

आज विश्व एक्काइसौँ शताव्दीमा प्रवेश गर्दा समेत दक्षिण एसियाली मुलुकहरुमा महिला र पुरुषको बिचमा सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै छ । यस्ता विभेदहरु मध्ये कति त कुरीति, कुप्रथा र पुरातन परम्पराहरुको रुपमा समेत रहेका छन् । नेपालमा यस्ता समस्याहरु अत्यन्तै विकराल छन् । स्वदेशभित्र नै महिला विरोधी कुरीति, कुसंस्कार र विभेदले नेपाली महिलाहरुको उत्थान र प्रगतिमा बाधक भइरहेको अवस्थामा विश्वव्यापीकरणले उनीहरुमाथि झन् ठुला चुनौतीहरु थोपरेको छ ।

१. नेपालमा महिला समस्याको जरो आफ्नै घर र समाजबाट सुरु हुने गरेको छ । नेपालमा महिलाहरुलाई पुरुषभन्दा कमजोर ठान्ने कुसंस्कार र कुरीतिले महिलाको शृजनशीलता र व्यक्तित्व निर्माणमा अङ्कुश लगाएको छ । उनीहरुको प्रतिभालाई सिमित गरेको छ, छबी धमिल्याएको छ । संसारका महिलाहरुले अन्तरिक्षमा पाइला टेकिसक्दा पनि नेपाली महिलाहरु भने छाउपडी र छोइछिटो बार्नका लागि गोठमा सुत्नुपर्ने अवस्था छ ।

२. विश्वव्यापीकरणले संसारभरका महिलाहरुलाई एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना गरेकाले नेपाली महिलाहरु थप पछाडि धकेलिएका छन् । यसले शक्तिशाली र विकसित देशका महिलाहरुलाई त केही अवसर थपेको होला तर आम नेपाली महिलाहरुले विकसित राष्ट्रका शिक्षित महिलाहरुसँग खुला प्रतिस्पर्धा गर्ने अवस्था छैन । त्यसैले विश्वव्यापीकरणले निम्त्याएको खुलापन नेपाली महिलाहरुका लागि सुखद सावित हुन सकेको छैन ।

३. विश्वव्यापीकरणको कारणले नेपाली महिला दिदीबहिनीहरुले विगतमा गर्दै आएका परम्परागत ज्ञान र सीपमा आधारित पेशा जस्तैः डोको–नाम्लो बुन्ने, धागो कात्ने, कपडा बुन्ने र लगायतको व्यवसाय ध्वस्त भएको छ । तिनको बजार ध्वस्त भएको छ । यसबाट उनीहरुको आम्दानीमा प्रतिकूल असर परेको छ ।

४. विश्वव्यापीकरणसँगै आएका सूचना–प्रविधिको विकास, त्यसको सञ्जाल र सरलताको कारणले नेपाली महिलाहरुले विभिन्न कुरा सिकेको भए तापनि त्यसलाई नेपालको ठोस परिस्थिति अनुरुप लागु गर्न सकेका छैनन् । पर्याप्त शिक्षाको कमीले नेपाली नारीहरुले सामाजिक सञ्जालका असल कुराहरु र नयाँ प्रविधिको उचित सदुपयोग गर्न नसकेको स्थिति छ । त्यसले हामीलाई अधिकार प्रति त सचेत गराएको छ, तर कतै हामीले आफ्ना कर्तव्यहरु बिर्सिरहेका त छैनौं ?

यस सन्दर्भमा, मैले केही कुराहरुलाई प्रस्तावको रुपमा अघि सार्न खोजेकी छु ।

१. महिलाहरुलाई उचित शिक्षाले मात्रै उचित अवसरहरु प्रदान गर्न सक्छ । त्यसैले विश्वव्यापीकरणको हौवामा लाग्नु भन्दा पनि नेपाली महिलाहरुलाई उचित शिक्षा दिएर उनीहरुलाई प्रतिस्पर्धी बनाउनु जरुरी छ र महिलाहरु स्वयम्ले पनि त्यसका लागि प्रयत्न गर्नु जरुरी छ । त्यस सन्दर्भमा विकसित देशका महिलाहरुबाट असल कुराहरुको प्रेरणा लिन सकिन्छ ।

२. सरकारले यो देशको आधा जनशक्ति ओगट्ने महिलाहरुको शिक्षा र क्षमता अभिबृद्धिमा उचित ध्यान दिनु आवश्यक छ । तब मात्रै विश्वव्यापी पुँजी र प्रविधिलाई नेपाली महिलाहरुको हितमा प्रयोग गर्न सकिन्छ ।

३. शिक्षाको कुरा गर्दा राज्यले व्यावसायिक तथा प्राविधिक शिक्षा र सीप विकासमा ध्यान दिनु जरुरी छ । यस्तो शिक्षा संभव भएसम्म निःशुल्क अन्यथा अत्यन्त न्यून शुल्कमा प्रदान गरिनुपर्छ ।

४. महिलाहरुलाई कम्तिमा स्नातक तहसम्मको शिक्षा निःशुल्क बनाइनु पर्छ । तब ग्रामीण क्षेत्रका महिलाहरुले पनि उच्च शिक्षाको अवसर पाउन सक्छन् र शिक्षा एउटा कार्यक्रमको रुपमा विस्तार हुनसक्छ ।

५. देशभर नारी शिक्षाको कार्यक्रम बनाई बिस्तार गरिनु जरुरी छ ।
विश्वव्यापीकरणको वर्तमान परिप्रेक्ष्यमा नेपाली महिलाहरुलाई युग अनुकूल हुने गरी प्रतिस्पर्धी गराउन राज्य, परिवार, समाज र महिलाहरु स्वयम् दत्तचित्त भएर लागेमा विश्वव्यापीकरणले पैदा गर्ने असमानता, विभेद र बहिस्करणको विरुद्ध जुध्दै नेपाली महिलाहरु प्रगति र अग्रगतिको दिशामा लम्कन सक्छन् । महिलाहरुको समृद्धिविना समृद्ध नेपाल निर्माण संभव छैन ।

(लेखिका नेपाल किसान फेडरेसनकी नेतृ हुन् । –सम्पादक)