T.P, Timalsina रसुवाली कवि
 

आधुनिक युग
डान्स बारमा रक सङ्गीत सुनिरहेछ,
नयाँ जमाना बिन्दास छ
नयाँ युवती लगाएको पाइन्ट भन्दा
धेरै  भ्वाङ परेका छन् सम्बन्धहरुमा  ।

चोकको दाहिने भागमा
खर्पने नेवारहरु छ्न्,
जो आफ्नै आदिवासी भुमिलाई
उत्तरआधुनिक बन्नबाट जोगार्इ रहेछ्न् ।

कुकुरहरूको पनि वर्ग छ,
मैलो मैलो मान्छेका विरुद्ध छ्न् उनीहरु ।

भाटभटेनी सुपर मार्केटको एक कुनामा
गौँथली चराले गुँड लगाए पनि
ग्रामीण सौन्दर्य लोप भैसकेको छ ।

पशुपति पशुहरुको देउता हो,
हेर्नुस् त पशुहरुको
कत्रो जुलुस छ त्यहाँ ।

अघि भर्खरै
रेकर्ड फाइलमा राखेर स्वाभिमान
एउटा कर्मचारीले वीरता प्रदर्शन गर्यो,
एक व्यापारीले फाइलमै राख्यो आत्मा
र मन्त्री निवास प्याक् गरेर पठायो ।

ऊ त्यो त्रिभुवन विमानस्थल हो,
त्यहाँ गोलभेडाभन्दा पनि
सस्तोमा पाइन्छ मान्छेहरु ।
त्यो कोरिया जानेहरूको लाइन हो
सुँगुरलाई स्याहार गर्न
यसरी मान्छेको सप्लार्इ हुन्छ यहाँबाट ।

यो त रातो बङ्गला स्कुल हो
यहाँ सहरका सानदारहरुझैँ
बुर्जुवा शिक्षाका चरम विरोधी
क्रान्तिकारी साथीको
नायिका जस्ती छोरी पनि पढ्छिन् ।

जनवादी केन्द्रीयताको अभ्यास गरिरहेको
कम्युनिस्ट पार्टीले घोषणा गर्यो ।
अब सम्पूर्ण कमरेडहरुका छोरीहरुलार्इ
सौन्दर्य प्रतियोगितामा भाग लिन छुट हुनेछ ।

कविहरु प्रेमिकाका लागि त्याग गरिरहेछ
विचारका यावत बाटाहरु
नपत्याए अखबारहरुमा हेर्नुस् ।

यस्तो बेला,
सुकुम्वासी वस्तीमा
बाँसुरी फुक्ने को हो ?

याे पनि पढ्नुहोस्ः  पृथ्वीको एउटा विन्दु – क. रसुवाली कवि

यो पनि पढ्नुहोस्ः  किमलाई चिठ्ठी – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुहोस्ः   ए सुन्दरी – क. सुशान्त पाैडेल