Sushanta Poudel सुशान्त पाैडेल
 

बिफरले खाएको अनुहार
बुढेसकाल लागेको शरीर
पीडाले च्यात्तिएको मन
कष्टमा बितेको यौवन
र अनेक तरङ्ग
एउटै पोल्टामा राखेर
आफ्नो कुँजिएको भूत सम्हाल्दै
सुन्दर भविष्य नियाल्दै
आशाका किरण अँगाल्दै
सक्षमताको दियो बाल्दै
मेरी दिदीले आज छोरोलाई
डाक्टरीमा भर्ना गरिन् ।

बिर्सेर छाउका चिसा रात
भुलेर दुःखका अनेक बज्रपात
बिर्सेर पुछिएको सिउँदो
रगतमा मुछिएको इतिहास
सपनाका त्यान्द्रा समात्दै
दुस्वप्नका तन्द्रा चुँडाल्दै
सुन्दर भविष्य नियाल्दै
आशाका किरण अँगाल्दै
सक्षमताको दियो बाल्दै
मेरी दिदीले आज छोरोलाई
डाक्टरीमा भर्ना गरिन् ।

न छेक्यो यिनलाई दुर्गमताको पहिरोले
न रोक्यो यिनीलाइ दुर्वलताको तुवाँलोले
न डग्मगाइन् यिनी अर्थको अनर्थले
न लर्बराइन् यिनी शर्तको सतर्कले
तर्दै वियोगका छालहरु
फोर्दै विवशताका पर्खालहरु
फराल्दै परिवर्तनका फालहरु
जोड्दै अनेक तालहरु
मेरी दिदीले
आज छोरोलाई
डाक्टरीमा भर्ना गरिन्।

देखेर देशको अनुहार
हटाउन दुसाभ्यासको अन्धकार
चिर्दै कुस्ठका हातहरु
हटाउन अँधेरा रातहरु
बिर्सेर अन्यायका खातहरु
बनाउन सक्षम जमातहरु
अवसरहीनताका हत्कडी पर्घाल्दै
अनेक महत्त्वाकांक्षा संगाल्दै
सुन्दर भविष्य नियाल्दै
आशाका किरण अँगाल्दै
सक्षमताको दियो बाल्दै
मेरी दिदीले आज छोरोलाई
डाक्टरीमा भर्ना गरिन् ।

याे पनि पढ्नुहाेस्ः   ए सुन्दरी – क. सुशान्त पाैडेल

याे पनि पढ्नुहाेस्ः किमलाई चिठ्ठी – क. बलराम तिमल्सिना ‘विप्लव’