लेनिनको शालिक, demolition of lenins' statue, Statue, vi lenin, uprooted, Tripura, India
 

शालिकहरू,
शालिकहरू मात्र होइनन्
जसलाई पनि उत्तिकै प्यारो लाग्ने
त्यस्ता हुदैनन शालिकहरू !

जस्तो कि –
क्रेमलिनमा लेनिनको शालिक ढल्यो
एक थरिले खुसी मनाए
अर्का थरिले दुख मनाए !

अस्ति भर्खरै पनि भारतमा
फेरि लेनिनकै शालिक ढल्यो
एक थरिले विजयोत्सव मनाए
अर्का थरि रिसले मुर्मुरिए !

हिजो-अस्तिको कुरा हो
अफ्रिकामा ढल्यो गान्धीको शालिक
लेनिनको शालिक ढल्दा खुसी हुनेहरू
गान्धीको शालिक ढल्दा रोए
लेनिनको शालिक ढल्दा रुनेहरू
गान्धीको शालिक ढल्दा रोएनन !

हाम्रो देशमा पनि
अझै छन जङ्गबहादुरका शालिक
अझै छन् पृथ्वीनारायणका शालिक
एक दिन यस्तो आउनेछ –
हामी अतितमुखीहरूले बचाएका शालिक
कसैले उखेल्ने छ
र राख्ने छ संग्राहलयमा
त्यो दिन पनि
सबै रुने छैनन्
र सबै हाँस्ने छैनन्
किन कि –
यी शालिकले हुर्मत लिएका
मानिसहरू पनि यो देशमा बस्छन !

शालिकहरू
शालिकहरू मात्र होइनन् निरपेक्ष
बरु ती त
आस्था हुन्/विश्वास हुन्
दर्शन र आदर्श हुन्
संस्कृति हुन शासक हुन् !

आस्था विश्वास र आदर्श
बदलिएपछि
मान्छे नयाँ विचारमा हिँड्न थालेपछि
शालिक बस्ने स्थान पनि बदलिन्छ !

शालिकहरू
कसैका लागि भरोसा हुन्
र कसैका लागि भय हुन् !

२०७५|०९|१४
सुवर्ण चोक, भक्तपुर