Karl Marx, कार्ल मार्क्स
 

मानिसहरु आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरुमा बाँधिन्छन्, जुन अपरिहार्य हुन्छन् र उनीहरुको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादन सम्बन्धहरु भौतिक शक्तिहरुको विकासका एक निश्चित चरणको अनुरुप हुन्छन् । यी उत्पादन सम्बन्धहरुको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक आधार हो, जसमा न्यायिक एवम् राजनीतिक उपरिसंरचना खडा हुन्छ र सामाजिक चेतनाका ठोस रुपहरु त्यसको अनुरुप हुन्छन् ।

सामाजिक, राजनीतिक तथा बौद्धिक जीवनका आम प्रक्रियाहरु भौतिक जीवनको उत्पादन पद्धतिले निर्धारण गर्छ । मानिसहरुको चेतनाले उनीहरुको अस्तित्व निर्धारण गर्दैन, बरु उनीहरुको सामाजिक अस्तित्वले उनीहरुको चेतना निर्धारण गर्छ । विकासको निश्चित चरणमा पुगेपछि समाजका भौतिक उत्पादक शक्तिहरु विद्यमान उत्पादन सम्बन्धहरुसँग, अर्थात यो कुरालाई कानुनी शव्दमा यसरी अभिव्यक्त गर्न सकिन्छ कि ती स्वामित्वका सम्बन्धहरुसँग भिड्छन्, जुन संरचनाको मातहतमा तिनीहरु अहिलेसम्म चलिरहेका थिए । अब यी सम्बन्धहरु उत्पादक शक्तिहरुको विकासका रुपहरुबाट तिनीहरुको बन्धन बन्न पुग्दछन् । त्यसपछि सामाजिक क्रान्तिको युग शुरु हुन्छ ।

आर्थिक आधारमा हुने परिवर्तनहरुले ढिलोचाँडो सम्पूर्ण विशाल उपरिसंरचनालाई रुपान्तरणतर्फ अग्रसर गराउँछन् । यस्ता परिवर्तनहरुको अध्ययन गर्दा प्राकृतिक विज्ञानका विधिहरुले निर्धारण गर्न सकिने उत्पादनको आर्थिक परिस्थितिको भौतिक रुपान्तरणलाई कानुनी, राजनीतिक, धार्मिक, कलात्मक अथवा दार्शनिक, सङ्क्षेपमा वैचारिक रुपहरुबाट सँधै पृथक गर्नुपर्छ, जसले मानिसहरु यो द्वन्द्व बारे सचेत हुन्छन् र सङ्घर्ष गर्दछन् । जसरी कुनै व्यक्तिले आफूबारे के सोच्दछ भन्ने आधारमा त्यस व्यक्तिको मूल्याङ्कन गर्न सकिँदैन, त्यसै गरी यस्तो परिवर्तनको अवधिको बारेमा त्यसको चेतनाको आधारमा धारणा बनाउन सकिँदैन । बरु त्यसको विपरीत, सो चेतनालाई भौतिक जीवनका अन्तरविरोधहरुको आधारमा, सामाजिक उत्पादक शक्तिहरु तथा उत्पादन सम्बन्धहरुको बीचमा विद्यमान अन्तरविरोधको आधारमा ब्याख्या गर्नु पर्छ ।

कुनै पनि सामाजिक व्यवस्था त्यतिबेलासम्म नष्ट हुँदैन, जबसम्म त्यसको लागि पर्याप्त तमाम उत्पादक शक्तिहरुको विकास हुँदैन र श्रेष्ठतर नयाँ उत्पादन सम्बन्धहरुले त्यतिञ्जेलसम्म पुरानाहरुलाई प्रतिस्थापन गर्दैनन्, जबसम्म पुरानो समाजको गर्भभित्र तिनीहरुको अस्तित्वको भौतिक आधारहरु परिपक्क हुँदैनन् ।

तसर्थ मानवजातिले सदा आफूले समाधान गर्न सक्ने कार्यहरु (समस्याहरु) मा मात्रै हात हाल्छ किनभने नजिकबाट नियालेर हेर्दा के देखिन्छ भने समस्याहरु त्यतिबेला मात्रै प्रकट हुन्छन् जब त्यसको समाधानको निम्ति आवश्यक भौतिक अवस्थाहरु पहिले नै विद्यमान छन् अथवा निर्माण हुने प्रक्रियामा छन् । बृहद रुपमा हेर्दा एसियाली, प्राचीन, सामन्ती एवम् आधुनिक पुँजीवादी उत्पादन पद्धतिहरुलाई समाजको आर्थिक विकासमा प्रगतिको पदचिन्ह कोर्न सफल युगहरुको रुपमा नामाङ्कित गर्न सकिन्छ ।

पुँजीवादी उत्पादन पद्धति सामाजिक उत्पादन प्रक्रियाहरुको अन्तिम शत्रुतापूर्ण (अन्तरविरोधसहितको) रुप हो – शत्रुतापूर्ण भन्नुको अर्थ व्यक्तिगत शत्रुताको अर्थमा होइन, बरु एउटा यस्तो शत्रुता जुन व्यक्तिहरुको जीवनको सामाजिक अवस्थाबाट उत्पन्न हुन्छ – परन्तु बुर्जुवा समाजभित्रै विकसित भइरहेका उत्पादक शक्तिहरुले यो शत्रुताको समाधान गर्नको लागि आवश्यक भौतिक परिस्थितिको पनि सिर्जना गर्दछन् । यस अनुरुप मानव समाजको प्राग्इतिहास यो सामाजिक स्वरुपमा अन्त्य हुन्छ ।

(प्रस्तुत आलेख कार्ल मार्क्सकृत राजनैतिक अर्थशास्त्रको आलोचनामा एक देन (अंग्रेजी संस्करण) । प्रगति प्रकाशन, मस्को, पृष्ठ २०–२२ बाट लिइएको हो र सान्दर्भिक शीर्षक दिइएको हो ।)

(अनुवादः नहेन्द्र खड्का)