१. द्रोणवाद
द्रोणवादको कारणले दिक्क भएर एकलव्यले आफ्नै जातिका मानिसहरू बीच उठ-बस शुरू गऱ्यो । द्रोणाचार्यलाई गुरू बनाइरहनुको औचित्य समाप्त भइसकेको आभास उसलाई अब हुन थालिसकेको थियो … अर्जुन त ऊ यसै पनि बन्नेवाला थिएन ।
जे होस्, ऊ आफ्नै जातिको नेतृत्व गर्नका लागि चुनियो । केही दिनपछि उसले आफ्नै जातमा विवाह गर्ने निश्चय गऱ्यो, अनि यस सन्दर्भमा ऊ जहाँ-जहाँ केटी हेर्न जान्थ्यो, उसलाई त्यहाँ उसको उपजाति र गोत्रको सोधखोज भयो, त्यतिबेला उसलाई ज्ञात भयो कि उसकै जाति भित्र पनि ऊ त अछुत नै थियो ।
द्रोणवादको जरा उसको जातिमा पनि भित्रसम्म जेलिएको थियो।
२. गर्वोक्ति
ऊ सिखहरूको बहुल क्षेत्रमा बस्ने अल्पसंख्यक हिन्दु थियो । ऊ सँधै गुरुद्वारा जान्थ्यो, अनि गुरू ग्रन्थसाहेबको पाठ गर्ने गर्थ्यो । इन्दिरा गान्धी हत्याकाण्ड पश्चात भएका दङ्गाहरूमा उसले सिख धर्ममा आफ्नो आस्था भएको बताउँदै बच्ने गर्थ्यो । केही समयपछि उसको स्थानान्तरण मुस्लिम बहुल क्षेत्रमा भयो । त्यहाँ पनि ऊ बाकाइदा मस्जिद जान्थ्यो र कुरानको पाठ गर्ने गर्थ्यो । बाबरी मस्जिद भत्किएपछि भड्किएको दङ्गामा उसले मुस्लिमहरूसँग आफ्नो मुस्लिम धर्ममा आस्था भएको कुरा गर्यो, अनि हिन्दुहरूसँग आफू हिन्दु भएको जिकिर गरेर बच्यो ।
आजभोलि ऊ इसाई बहुल क्षेत्रमा पदस्थ छ। अनि ऊ पादरीहरूको हत्या, ननहरूको बलात्कार, चर्चको तोडफोड आदिको बारेमा हिन्दुहरूको विरुद्ध विष ओकल्ने काम गर्छ । ऊ नियमित रूपमा चर्च पनि जान थालेको छ, अनि पवित्र ग्रन्थ बाइबल पनि पढ्न थालेको छ।
ऊ गर्वका साथ केही भन्ने गर्छ, तर एकान्तमा …।
३. बहुमत
“किनकि चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ । त्यसैकारण म मूर्ति-पूजाको तरफदारी गर्छु।” एउटा धर्मले अरू दुई धर्मभन्दा आफ्नो विशिष्टता सिद्ध गर्नुको उद्देश्यले भन्यो ।
“म मूर्ति-पूजाको विपक्षमा उभिन्छु, तर म पितृ-पूजाको तरफदारी गर्छु, त्यसैले म सर्वोत्कृष्ट हुँ।” अर्को धर्मले भन्यो ।
“म त मूर्तिपूजाको कट्टर विरोधी हुँ, तर म एकैठाउँमा बसेर, कुनै एक चित्र विशेषको पूजा, उसको प्रार्थना अनि आराधनाको तरफदारी गर्छु, त्यसैले म तिमीहरू दुबैभन्दा उत्कृष्ट छु।” तेश्रो धर्मले भन्यो ।
उत्कृष्टता सिद्ध गर्ने होडमा उनीहरू तीनै जना एक धर्म निरपेक्ष व्यक्ति सामु निर्णयका लागि पुगे, अनि उसको सामुन्ने आ-आफ्नो दलिलहरू पेश गरे ।
त्यो व्यक्ति यो सोचेर मुस्कुरायो कि प्रतीकको पूजा त तीनै धर्ममा प्रचलित छ, अनि बडो समझदारीपूर्वक उत्तर दियो – कुनै पनि ठाउँमा जुन धर्मको पालना गर्ने व्यक्तिहरू ज्यादा छन्, त्यहाँ त्यही धर्म श्रेष्ठ हुन्छ । अर्थात हजुरहरूको श्रेष्ठता हजुरको सिद्धान्तमा हैन, बरू बहुमतमा छ ।
(भारतको छत्तीसगढका सुपरिचित साहित्यकार श्री आलोककुमार सातपुतेका यी लघुकथाहरू हामीलाई इमेलबाट प्राप्त भएका हुन् । अनुवादः श्री एकदेव अधिकारी, रत्ननगर – १, सौराहा चौक, चितवन)