यो धरतीले
जति अन्न उत्पादन गर्छ
बराबरी बाँड्ने हो भने त्यो
कोही पनि भोकै बस्नु पर्दैन
तर पनि मान्छे भोकै छ किन ?
कारखानाहरूमा
जति उत्पादन हुन्छन कपडा
बराबरी बाँड्ने हो भने त्यो
सातै अरबलाई छेलोखेलो पुग्छ
तै पनि कोही किन नाङ्गै छ ?
यो धरतीमा
जति घर र कोठाहरू छन्
हरेकलाई बस्न दिने हो भने
कोही घरबारविहीन हुँदैन
कसैको सडकमा बास हुँदैन
तर पनि मान्छे सडकमा छन् किन ?
जति औषधि बन्छन्
जति अस्पतालहरू छन्
ती सबैमा सबैको पहुँच भैदिए
कोही पनि अकालमा मर्नु पर्दैनथ्यो
तै पनि पखालाले मान्छे मरिरहेछ किन ?
जति विद्यालय र विश्वविद्यालयहरू छन्
जति छन् तिनका कक्षाकोठाहरू
जति छन् डेस्क र बेन्चहरू
ती सबै कक्षा कोठा भरिने हो भने
कोही पनि निरक्षर हुनु पर्ने थिएन
तै पनि करोडौं बच्चाहरू
अझै विद्यालय बाहिर छन् किन ?
संसारमा जति भगवानहरू छन् भनिन्छ
तिनीहरूको तागतको जति विश्वास गरिन्छ
ती सबै इमान्दार भैदिने हो भने
तिनीहरूले खुरुखुरु काम गर्ने हो भने
अभिभावकको मृत्युपछि
कोही पनि टुहुरा हुने थिएनन् !
ईश्वरहरूको आँखा हुन्थ्यो भने
भगवानहरूको कान हुन्थ्यो भने
तिनीहरू हुन्थे भने अन्तरयामी
तिनीहरू हुन्थे भने त्रिकालदर्शी
भूकम्प र सुनामीको सूचना दिन्थे
न प्रहरी न सेना चाहिन्थ्यो
न राज्य न सरकार चाहिन्थ्यो
मान्छे खुरु खुरु ईश्वरको आदेशमा चल्थे !
कतै अन्न कुहिँदै छ
कतै भोकले मान्छे मर्दै छ
कतै कपडा मकाउँदै छ
कतै कोही जाडोले काँप्दै छ
कतै अस्पताल सुनसान छ
कतै बिरामी छटपटाएर मर्दैछ
आधा कक्षाकोठा खाली राखेर
चलिरहेछन् विद्यालयहरू
विद्यालय बाहिरै छन् अरबौँ बच्चाहरू !
मैले प्रश्न सोध्नु छ-
यो धरतीका शासकहरूसँग
मान्छे किन भोकले मर्छ ?
मैले प्रश्न सोध्नु छ-
यो संसारका बुद्धि जीवीहरूसँग
तिमीहरूको बुद्धि कसको दलाली गर्दै छ ?
मैले प्रश्न सोध्नु छ
ती सहस्रकोटी ईश्वरहरूसँग
के तिमीहरूको काम
भक्तहरूको भजन सुन्ने मात्रै हो ?
२०७७|०५|२३
भक्तपुर
(रचनाकार जनपक्षीय कवि तथा संस्कृतिकर्मी हुनुहुन्छ ।)