कृष्णसेन ‘इच्छुक’ को हत्याको खबर
यो धर्तीभरि सनसनी फैलिँदैथ्यो
मैले पनि सुनेँ त्यो हत्याको खबर ।
त्यतिखेर
मेरा मानसपटलमा
‘इच्छुक’ को चेप्टो अनुहार झलझली घुमे
गहुँगोरो हँसिलो मुहार देखेँ
निधारमाथि पातलो कपाल देखेँ
काँधमा झोला भिरेको देखेँ
तेजिला आँखा मतिर हेरेको देखेँ
ठुला कानहरू सलक्क परेको देखेँ
पातलो जुँगा मिलेको देखेँ
ओठमा मिठो मुस्कान छोडेको देखेँ
हात मिलाउन ल्याएको देखेँ
कस्तो छ भन्दै सोधेको सुनेँ
मैले हात मिलाउन लाग्दा एक्लै मेरो हात पसारेको पो पाएँ
त्यहाँ मलाई एक्लै पो पाएँ ।
मेरा आँखा रसाउँदै थिए
निधारमा पसिना आउँदै थियो
शरीर गह्रुँङ्गो बन्दै थियो
मैले त अन्धकारै अन्धकार पो देखेँ
मेरा शोकाकूल मनहरू
तिनै दुश्मनप्रति
आक्रोशमा बदलिँदै थियो
असीम घृणा जाग्दै थियो
त्यो बर्बर र जङ्गलीराजको
न्यायप्रेमीहरू स्तब्ध र क्षुब्ध बन्दै थिए
देश शोकमग्न थियो
जनता शोकाकूल थिए ।
आफ्नो वर्गप्रति
तिम्रो त्यो निष्ठा
तिम्रो त्यो आस्था
तिम्रो त्यो विश्वास
तिम्रो त्यो प्रतिबद्धता
तिम्रो त्यो नम्रता
तिम्रो त्यो इमान्दारिता
तिम्रो त्यो सरलता
तिम्रो त्यो दृढता
तिम्रो त्यो शिष्टता
तिम्रो त्यो शालीनता
तिम्रो त्यो निर्भीकता
तिम्रो त्यो त्याग र बलिदानले तिमी आँखाको नानी बन्यौ
सर्वहारावर्गको सारथी बन्यौ
मुक्तियुद्धको अगुवा बन्यौ ।

अनि
वर्गवैरीका लागि
तिमी एउटा डरलाग्दो लालआतङ्क हौ
तिमी तरबारभन्दा धारिला अस्त्र हौ
तिमी पड्किन तयार बमगोला हौ
अजङ्गका विद्रोही हौ
तिमी तिमी ज्वालामुखीभित्रका अग्निवाण हौ
तिमी खतरनाक मेसिनगन हौ
तिमी धारिलो सङ्गीन हौ
सगरमाथाभन्दा अग्लो चुचुरो हौ
तिमी बन्दुकभित्रको गोली र बारूद हौ
तिमी मुटुभित्रका अग्राखका किल्ला हौ
तिमी वर्षामा उर्लेको भेल हौ ।
त्यसैले
तिम्रा स्वरमा प्रतिबन्ध लगाए
तिम्रा लेखमा रोक लगाए
तिम्रा विचारमा प्रतिबन्ध लगाए
तिम्रा कवितामा प्रतिबन्ध लगाए
तिम्रा आस्थामा रोक लगाए
तिम्रा हातमा हत्कडी लगाए
तिम्रा मुखमा ताल्चा झुण्ड्याए
तिम्रा खुट्टामा नेल भिराए
तिमीलाई आतङ्ककारी भन्दै
तिम्रो टाउकाको मोल तोके
तिम्रा आँखामा कालो पट्टी बँधाए
तिमीलाई आतङ्ककारी भन्दै
तिम्रो टाउकाको मोल तोके
तिम्रो सिङ्गो शरीरलाई जेलमा थुनाए
कैयौँ दिन त बेपत्ता बनाए ।
तर पनि तिम्रा आस्थालाई न गाल्न सके न तिम्रा विचारलाई पगाल्न
तिम्रा आदर्शलाई न कमजोर पार्न सके न तिम्रा विश्वासलाई मार्न सके
तिम्रो दृढतालाई न खल्बल्याउन सके बरु तिम्रा आस्था दृढ बन्दै गए
तिम्रा विश्वास स्पात बन्दै गए
तिम्रा आवाज बुलन्द हुँदै गए
तिम्रा विद्रोही मुट्ठी कस्सिँदै गए
तिनै वर्गवैरीविरुद्ध तिमीले निरन्तर आवाज घन्काउँदै गयौ
वर्गवैरीका काला कर्तुत उदङ्ग्याउँदै गयौ ।
दुश्मनका लागि कविता नै बमगोला बनेपछि
दुश्मनका लुटको स्वर्ग डगमगाउन थालेपछि
लुटको स्वर्ग बचाउनका लागि
कायर, आततायीले
प्रहरी हिरासतभित्रैको मानव वधशालामा
तिम्रो हत्या गर्ने योजना बनाए
बर्बर जङ्गली यातना दिए
क्रूरताका पराकाष्ठा देखाए
तिमीले धोका र गद्दारी होइन, मृत्यु रोज्यौ ।
तिमीले जीवनको भीख नमागेपछि
तिमीले आस्थाका लागि मृत्यु नै रोजिसकेपछि पनि कायर जल्लादहरूले
क्रूर यातना शिविरमा
बुट बजार्दै
सङ्गीन तेर्स्याउँदै
अन्तिमपटक
‘मर्न डर लाग्दैन’ भन्दै
आस्थाको मोलतोल गर्दै थिए
गद्दारीको माग गर्दै थिए
विचार र विश्वासलाई जोख्दै थिए ।
जति केरकार गरे पनि
जति प्रश्न सोधे पनि
जति यातना दिए पनि
ठाडै दुत्कारी दियौ
ठाडै लल्कारीरी दियौ
आफ्नो आस्था र विश्वासमा
शरीरमा एकथोपा रगत रहेसम्म
शरीरमा एकमुठ्ठी सास रहेसम्म
निरन्तर निरन्तर अडिग रहिरह्यौ
चट्टानझैँ उभिरह्यौ
तिमीले आफ्नो
महान् आस्था र विश्वासलाई
अठोट र सङ्कल्पलाई
महान् आदर्श र लक्ष्यलाई
बाँच्नका लागि जीवनको भीख कहिल्यै मागेनौ
क्रान्तिविरुद्ध कहिल्यै धोका र गद्दारी गरेनौ
कायर जल्लादहरूले आफ्नो चेत गुमाए
आफ्नो विवेक गुमाए आफ्नो होस गुमाए ।
अनि
त्यो मध्यरातमा निरन्तर
शारीरिक यातना दिए
एक मुट्ठी सास रहुन्जेल
एक थोपा रगत रहुन्जेल
हिंस्रक बाघले झम्टिरहे
त्यतिखेर
तिमीले रगत नै बान्ता गर्दै थियौ
जल्लादहरू डरले थरथर काम्दै
त्यसरी
तिम्रो निर्मम र नृशंस हत्या गरे
त्यो बीभत्स हत्याले
जल्लादहरूको मुटुमा ढयाँङ्ग्रो ठोकिरह्यो
रातकै बिचमा लासैसम्म गायब बनाए
तिम्रो हत्यामा वर्गवैरी रमाए
बीभत्स मृत्युउत्सव मनाए ।
के थाहा ?
ती जल्लादहरूलाई
के थाहा ?
ती दासहरूलाई
जनताका रगत रक्तबीज बन्छ भन्ने
एकको लाखौँलाख बनेर जन्मन्छन् भन्ने
हाँसीहाँसी मर्न तयार भयौ
हाँसीहाँसी गोली थाप्न तयार भयौ
आस्थाकै लागि मृत्यु रोज्न पुग्यौ
आस्थाकै लागि सहिद बन्न तयार भयौ
आफ्नो विचार र आदर्शलाई कायम राख्न
तिम्रो त्यत्रो त्याग
तिम्रो त्यत्रो बलिदान
तिम्रो त्यत्रो हिम्मत
तिम्रो त्यत्रो समर्पण हो ।
त्यसैले तिमी एकपटक त मर्यौ
तर युगयुगसम्म बाँचिरह्यौ
कायरहरू धेरैचोटि मर्छन्
वीरहरू एकैचोटि मर्छन्
तिमी मरेर पनि युगौँयुग बाँचिरहन्छौ
तिमी अमर र अजर बनिरहन्छौ
वीरले रोज्ने बाटो त्यही हो ।
(२०५९ जेठ)
(रचनाकार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ।)