Prithvi Narayan Shah, Narayan Hiti Palace
 

कम्ति दुःखले आर्ज्याको
मुलुक होइन यो ।

छपछपी काटियो आफ्नै मितलाई
सासु ससुरा भनिएन
भनिएन दाजुभाइ
भनिएन सम्धी सम्धिनी
बालुवामा लुकाएर हतियार
प्रहार गरियो निर्दोषमाथि
जात्रा मनाउन उपस्थित जात्रेहरुमा
मच्चाइयो कोकोहोलो
भनिएन केटाकेटी
डालोका डालो नाक कान काटेर
आर्जेको मुलुक हो यो ।

मुलुक निर्माणका खातिर
आफ्नै देवरलाई थुनेर भाउजूले
हत्या गर्नुपर्‍यो जेलभित्रै
जेलभित्रै सेरिनुपर्‍यो बडाकाजीले
केवल मुलुकका लागि
आफ्नै पितालाई जेलमा सडाएर
छोराले सम्हाल्नुपर्‍यो बागडोर
भाञ्जाले गोली ठोक्नुपर्‍यो मामालाई
यसरी,
हो, यसरी
पचाइयो श्री ५ र श्री ३ का अनगिन्ति षड्यन्त्रहरू
मुलुक निर्माणका लागि ।

देशको निम्ति लडेर
वीरहरूले पाए भव्य पारितोषित
कोही पुगे पञ्जाव
र पारङ्गत भए गुलामीमा
कोहीले वीरता प्रदर्शन गर्दै
हामफाले गोसाइकुण्डमा
उमेर छँदै युवराजले सेवन गरे विष
मूला काटिएझैँ काटिए हजारौँ भारदारहरू
मुलुकका लागि
षड्यन्त्रको विशाल जङ्गलका बीचमा
बसेका छन् रैतीहरू पनि
जी हजुरीका पखेटा फिँजाएर
कम्ति दुःखले आर्ज्याको
मुलुक होइन यो ।

षड्यन्त्रका बुर्जाहरू सजाएर
उभिएकै छ सिंहदरबार सहरको बीचमा
जसका भित्ताहरू आलै छन् रगतका छिट्टाले
छँदैछ बसन्तपुर दरबार
जहाँको बार्दलीमा उभिएर अझै पनि राष्ट्रनायक फ्याँक्छन्
रैतीमाथि पित्तलका सिक्काहरू
नारायणहिटी छँदैछ मुलुकको केन्द्रमा
जसले वाचन गरिरहेछ षड्यन्त्रका स्तोत्रहरू लगातार
इतिहासलाई ज्युँदो राख्न
उभिएकै छन् सालिकहरू चोक–चोकमा ।

एक–दुई षड्यन्त्रका सुत्रहरू त
सरेरै जान्छन् नयाँ पुस्तामा जीनबाटै
यो पुस्तैनी रोग हो
जस्तो मधुमेह सर्दै जान्छ सन्तान दरसन्तानहरूमा ।

ए, इतिहासले थिचेका मानिसहरू हो !
दुःख गर अझै पनि
मुलुकका लागि
दुःख गर
कम्ति दुःखले आर्ज्याको
मुलुक होइन यो ।

Keshav Silwal, Poet,
रचनाकार