बलराम तिमल्सिना, विप्लव, प्रश्न, Balram Timalsina 'biplav', progressive artist
 

भागे सोझा र इमान्दारहरू भित्तातिर भागे
जागे सत्ताको तर मारेका अरिङ्गालहरू जागे
सत्य कुरा बोल्नेलाई गोलै खनिएर आइलागे
हुनु हुनामी के के हुन्छ त्यो हेर्दै जाऊँ आगे ।
जागे जागे जागे !

बालुवाटारको बालुवा बेच्नेहरू जागे
वाइड बडीको रकम हसुर्नेहरू जागे
टोपीधारी बडा महाराजहरू जागे
गणतन्त्रका नवयुवराजहरू जागे
धन देखेपछि महादेवका तीनै नेत्र जागे
कात्रो, टिलो, बुर्की र दाउरामा पनि जागे ।

महङ्गीको मार जाग्यो
आक्रोस र दिक्दार जाग्यो
भ्रष्टाचारको घीन जाग्यो
थाप्लामाथिको ऋण जाग्यो
सोझा निमुखा भोकाहरूको ढाडमा
अत्याचारको लाठ्ठी लाग्यो
भ्रष्ट शिरोमणी, दन्तबझानका पण्डित
उखान टुक्का सम्राट
र कमिशनका कीराहरूको को खाँडो जाग्यो
ठ्याक्क ! ठ्याक्क !! ठ्याक्क !!!

कोरोनाले कहर जमायो
महङ्गीले घाँटी समायो
ठगहरू र तस्करहरूको दशैँ आयो
मजदुर किसान र सुकुम्बासीको बसैँ आयो
मन्त्री र सांसदहरू ढोका थुनेर सुते
जनताले चुनेकाहरू बने गोरूमुते
लकडाउनले शासन चलाएको छ
भ्रष्टाचारले पैसा फलाएको छ
कम्युनिस्टको नाम बेचेर
पुँजीपतिका दलालको राज फैलन लाग्यो
टोपीधारी बडामहाराज र
गणतन्त्रका युवराजहरूको खाँडो जाग्यो !

ऐसा ऐसा पल्टन चले-
तस्कर दल चले, लस्कर दल चले
भ्रष्ट दल चले, कमिसन दल चले
ठेकेदार दल, माफिया दल
हिनामिना दल चले !
बछ्युँ दल चले, बारुला दल चले
सबैभन्दा अघिअघि अरिङ्गाल दल चले
चोरसँग मिल्दै चले
जनतालाई चिल्दै चले  ।

जनताको रगत पसीनामा
जाली फटाहाको औसर जाग्यो
झण्डा हल्लाउँदै
डण्डा वर्षाउँदै
नक्कली समाजवादको खाँडो जाग्यो !
जाग्यो जाग्यो जाग्यो
नव-प्रतिकृयावादको खाँडो जाग्यो !

(रचनाकार प्रगतिशील कवि तथा लेखक हुनुहन्छ ।)