परदेशीको क्वारेन्टाइन डायरी, छवी सुवेदीquarantine diary of a migrant worker, chhabi subedi
 

क्वारेन्टाइनमा छु । जिन्दगीमा मैले कोरोना र क्वारेन्टाइन भन्ने नामहरु कहिल्यै सुनेको थिइन । हाम्रो गाउँमा न त कोरोना आउँथ्यो, न त क्वारेन्टाइन नै चाहिन्थ्यो । सानो छँदा दादुरा, ठेउला आएको याद छ । ठूलो हुँदा पनि ज्वरो, रुघाखोकी आदि भोगेको थिएँ ।

उमेरले जवानीमा टेकेपछि घर छाड्नुपर्ने बाध्यता आइलाग्यो । बारीको उब्जनीले खान पुग्थेन । गाउँमा केही काम मिलेन । स्कुलमा पढेको ज्ञानले स्वदेशमा केही इलम भेटाएन । आखिर दौँतरीहरुको साथमा म पनि मुग्लान हिँडे । रुपेडिया पुगेपछि थाहा भयो, मेरो देशको सिमाना काटेछु । यस धर्तीमा जन्मिएपछि पहिलोपटक विदेशी भूमिमा हिँड्दै थिएँ । धेरै दिनको यात्रापछि बरोडा पुगियो । त्यहीँ मिलेको थियो पहिलो जागिर ।

बिहानको घाम रामपुरको डाँडो नाघेर मसम्म आइपुगेको छ । यो घामको डल्लो पनि अचम्मै स्वतन्त्र छ, न यसलाई कोरोनाले भेट्छ, न यसले क्वारेन्टाइनमा बस्नुपर्छ । यसको आकार र स्पर्श क्वारेन्टाइनभित्र र बाहिर, देशभित्र र बाहिर उस्तै छ । घामले तताउन थालेपछि म तिदुको रुखमुनि सरेँ । रुखमा तिदु निख्रिएको छ । पात भने चम्किला भएका छन् । बाहिर गेटमा आवतजावत चलिरहेको छ ।

पुलिसले माइकिङ गरिरहेको छ – “भिडभाड नगर्नुहोस् । सामाजिक दुरी कायम गर्नुहोस् । कोरोनाबाट आफू पनि बच्नुहोस । आफ्नालाई पनि बचाउनुहोस ।”

म बसेको शितल छहारीमा म एक्लै छैन । दश बाह्र जना छौँ । चौर सबै मजस्ता पाहुनाहरुले भरिएको छ । मेरो छेउमा एकजनाले भन्यो – “भिडभाड नगर्नुस् रे । हामीलाई भिडमा राखिदिएका छन् । कसरी एकान्त कायम गर्नु ।”

बिहान हामीलाई दिएको चना आधा मात्र पाकेको थियो । पेट गुडुडु करायो । म दगुर्दै शौचालयतर्फ हानिएँ । शौचालयमा लामो लाइन थियो। थामिनु बाहेक केही उपाय छैन ।

क्वारेन्टाइन शब्द उच्चारण गर्नै गाह्रो । त्यस्तै यसमा बस्न पनि गाह्रो भैरहेछ । नबसी पनि भएन । आज तीन दिन मात्र भयो । अझै एघार दिन बाँकी छन् । पहिलो दिन त यहाँ कोठा पाइएन । बाहिरै सुतियो । रातको अँध्यारोमा आकाशले ताराहरुको जात्रा गरेको कति राम्रो देखिएको थियो । एउटा कम्बल छ साथमा । त्यही आधा ओछ्याएँ, आधा ओढेँ । बरोडामा यसरी कहाँ सुत्न सकिन्छ र । गर्मी र लामखुट्टेले हैरान । यता भने न गर्मी, न लामखुट्टे ।

आकाशका ताराहरु हेर्दाहेर्दै कतिबेला निदाएँ, पत्तै भएन । बिहान ब्युझिँदा चौरमा ठूलो भिड जम्मा भइसकेको थियो । चौरको छेउमा अण्डा र चना ठुला ठुला डेक्चीमा भकभक उम्लिरहेको थियो । यो क्वारेन्टाइनमा भारतका धेरै ठाउँबाट आएका मानिसहरु छन् । धेरैजसो मेरै उमेरका छन् । दिनभरि चौरमा घुम्यो । विभिन्न ठाउँका साथीहरूसँग कुरा गर्‍यो । दिन कति लामो हुन्छ क्वारेन्टाइनमा ।

हिजो दिउँसो जुनकुमारी आई । गेटबाट पुलिसले भित्र छिर्न दिएन । मैले टाढै उभिएर उसलाई हेरेँ । उसले हातमा प्लास्टिकको थैली बोकेकी थिई। थैलोमा काँक्रो टाढैबाट देखिन्थ्यो । पुलिसले उसको हातबाट थैली लियो । म नजिकै आयो र थैली भुँईमा राखिदियो । थैलीमा काँक्रो, माना एक काफल र पाँच सय रुपियाँको नोट थियो ।

गेटबाहिर जुनकुमारी उभिएकै थिई । म मुग्लान पस्दा उसले भनेको सम्झिएँ – “घर आउँदा खाली हात आउने होइन नि । अर्को वर्ष घरको छानो फेर्नुपर्छ । जुनकुमारीको त्यो कुरा यो कोरोनाले बुझेन । गेटमा अरुका आफन्तहरु पनि आएका थिए । आफन्तहरुलाई भिड नगर्न पुलिसले भनिरहेको थियो । यो पुलिसको काम पनि सजिलो छैन ।

जुनकुमारी फर्किई । हामी बिच कुनै दोहोरो वार्तालाप हुन पाएन । कोरोनाको कुरा उसले पनि सुनेको हुनुपर्छ । यो कसरी सर्छ भन्ने पनि पक्कै उसले बुझिसकी । मैले यसको खबर उतै बरोडामा सुनेको थिए। त्यतिबेला यो कोरोना चीन, इटाली र कता कता घुम्दै थियो । हाम्रो फ्याक्ट्रीको मालिकले कोरोना भाइरस भारत आउन सक्दैन भनेको दुई दिनमा त टिभीले फुकिहाल्यो – भारतमा पनि भाइरस आयो भनेर । त्यो दिन हाम्रो मालिक कति डराएको थियो । भारतभरि बन्दाबन्दी घोषणा भएपछि हामी डेरामै बन्द भयौ । ठुलाठुला प्रधानमन्त्री, राष्ट्रपतिलाई समेत कोरोनाले घरबाट बाहिर निस्किन दिएन । गरिबहरुको चारो सकिएपछि के गर्नु निस्कनै पर्‍यो । कति त पैदल हिडे ।

भाइरस फैलिँदै जाँदा अब देश फर्किन पाइन्न कि झै लाएको थियो । तर रेल छुट्ने दिन पनि आयो । रेलले बोडरमा छाडेपछि खुब दुःख पाइयो । पाँच दिनसम्म नेपाल पस्न पाइएन । ती पाँच दिन न त खाने चिज पाइयो, न सुत्ने ठाउँ पाइयो ।

पाँच दिनपछि नेपालमा टेक्न पाउँदा नालापानीको लडाइँ जितेझैँ लाग्यो । नेपालको भूमिमा पनि यात्रा सहज थिएन । गाडीमा क्षमताभन्दा धेरैलाई चढाइयो । खाना र पानीको उस्तै समस्या थियो । बाटोमा मानिसहरु हामीलाई त्रसित आँखाले हेर्थे । पसलमा हामीलाई पानी किन्न समेत दिइँदैनथ्यो। हामीलाई मानिसहरू कोरोना बम नै ठान्थे क्यारे । बबई तर्न पनि कम्ता गाह्रो भएन । पुलिसले माथिको आदेश भन्दै गाडी रोकिदियो । बडो मुश्किलले दैलेख आइपुगियो । चुप्रामा लायन्स क्लबले खाना खुवाउने व्यवस्था गरेको रहेछ । लोहोरेको किनारमा गाडीबाट झरेपछि यात्राको कष्ट र अपमान भुलियो ।

यो नारायण क्वारेन्टाइन अरुभन्दा ठूलो छ । दैलेख आउने सबैजसो परदेशी साथीभाइलाई सुरुमा यही ल्याइन्छ । यसका सबै कोठाहरुमा भिड धेरै छ । ओछ्यानको नाममा म्याट छ, म्याटमाथिको तन्ना चिप्लिएर डल्लो परिहाल्छ । शौचालयमा पानी थिएन आज बिहान । यति धेरै भिडमा दैनिक प्रशासन चलाउन तालिम पाएको जनशक्तिले सीमित साधन श्रोतबाट धेरै गर्छ पनि कसरी भन्न सकिन्छ र । कति ठाउँमा त क्वारेन्टाइनको नाउँमा हिसाब हेराफेरि हुन्छ कि झैँ पो लाग्छ यो मुग्लानीलाई । क्वारेन्टाइन कस्तो हुन्छ भन्ने मलाई थाहा त छैन । तर मैले बुझेको क्वारेन्टाइन भिड नहुने, शौचालय, भान्सा, सुत्ने कोठा आदिको पर्याप्त सुविधा भएको हुन्छ । हामीमध्ये कसैसँग कोरोना रहेछ भने कुनै माध्यमबाट अरुमा नसरोस् भनेर त क्वारेन्टाइनमा बस्नुपर्ने होला । गाडीमा एकअर्को नछुटिने गरी मान्छे चढाउनु पर्ने, एक अर्कोसँग टासिएर सुत्नुपर्ने भएपछि दुःख खपीखपी क्वारेन्टाइन बस्नुको अर्थ रहन्न जस्तो लागेको छ ।

यहाँ म आएपछि दुई जना पोजेटिभ भएर भिडबाट अलग भइसके । उनीहरुलाई अस्पताल छेउको आइसोलेसनमा राखेको छ भन्छन् । हामी सबै जनाको स्वाव जाँच भइसकेको पनि छैन ।

यसरी भिडमा बसाल्नुभन्दा सिमानामा हाम्रो जाँच गर्ने र रेकर्ड राखेपछि सिधै हाम्रो घर भएको स्थानीय तहमा पठाउनु पर्थ्यो । स्थानीय तहमा आफ्नै वार्डको टोलमा हामी क्वारेन्टाइनमा बस्थ्यौँ । घरबाट गुन्द्री र कम्बल मगाउँथ्यौ । आफ्नै टोलको पानी उमालेर पिउँथ्यौ । मजदुर भए पनि, कम पढेलेखेको भए पनि हामी आफ्नो र आफन्तको स्वास्थ्यको ख्याल राख्न सक्छौँ । हाम्रा आफन्तहरु पनि कुरै नबुझ्ने त कहाँ छन् र । मेरी जुनकुमारी पनि गेटबाट भित्र आउने जिद्दी गरिन ।

बितेका तीन दिनमा भारतबाट दैलेख आउनेको संख्या छ हजार पुगेको छ । चालिस हजारभन्दा बढी भित्रिने अनुमान छ भन्छन् डिउटीमा बस्ने पुलिसहरु । अहिल्यै यस्तो छ भने चालिस हजार सबै आउँदा यी क्वारेन्टाइनहरुले कसरी धान्लान?

यहाँबाट दिनरात साथीहरु आ-आफ्ना गाउँका क्वारेन्टाइनहरुमा लगिइन्छन् । स्थानीय तहबाट बस, बोलेरो, ट्याक्टर आउँछन् । अटाउनेजतिलाई गाडीमा हाल्छन । साथीहरु गाडीमा चढेपछि नारा लगाउँछन । त्यस्तो दृश्यले कोरोना आतंकलाई चटक्कै बिर्साउँछ । यस्तो लाग्छ मानौँ साथीहरु कालापानीमा मोर्चा सम्हाल्न गैरहेका छन् । गेटमा पुलिस भने सिटी फुक्दै माइकिङ गरिरहेको हुन्छ – भिडभाड नगर्नुहोस् । सामाजिक दुरी कायम गर्नुहोस् … ।

(रचनाकार नेकपाका युवा नेता तथा प्रगतिशील लेखक हुनुहन्छ ।)