काठमाडौँ । चौतारा-साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नेकपा (माओवादी केन्द्र) जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ को वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सो कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी ३५ जना रानीतिक कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ ।
नवप्रवेशी कार्यकर्ताहरूलाई नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सचिवालय सदस्य तथा तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।
काङ्ग्रेसको गढ मानिने कदमबासमा लामो समयदेखि सक्रिय राजनीति गरिरहेका पञ्चबहादुर श्रेष्ठ, अम्बरबहादुर श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, सुर्यबहादुर श्रेष्ठ, केशवराज गिरी, डम्बरबहादुर मगर, साधुराम पहरी, रामकुमार माझी, सन्तोष माझी र भीमबहादुर माझी लगायतका कार्यकर्ताहरूले आफ्नो पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको सो पार्टीको वडा कमिटीले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिएको छ ।
वडाध्यक्ष विष्णु लामाले वडामा गरेको विकासको प्रभावमा परेर आफ्नो पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशी पञ्चबहादुर श्रेष्ठले बताउनुभयो । आफ्नो पुरानो पार्टीले हालसम्म कुनै विकासको काम गर्न नसकेको समेत उहाँको आरोप रहेको छ । वडाध्यक्ष लामालाई वडाध्यक्ष भइसकेपछि उत्कृष्ट कार्य गरेको भन्दै पार्टीको वडा कमिटीले सम्मान समेत गरेको छ ।