नरम उज्यालो । मन्द सुगन्ध । मैन मसँग धेरै समय सँगै हुन्छ तर यो मबाट टाढा भएको रहेछ । सँगै भएका धेरै कुरा मबाट टाढा रहेछन्, जस्तै– पत्नीभित्रको मातृत्व, बाबुआमाको प्रताडना र सन्तानहरुको स्वायत्तता ।
मैले मैनलाई यसरी कहिल्यै हेरेको रहेनछु । मैनको मौन संवाद कहिल्यै सुनेको रहेनछु । मैन बालेर म किताबतिर फर्कन्थेँ वा कामतिर लाग्थेँ । मैन पर बसेर मलाई उज्यालो छर्दो रहेछ । काममा सहयोग गर्दो रहेछ । तर मैले त्यसलाई सधैँ आफूभन्दा परै राखेँ । बिजुलीको चहकिलो प्रकाशको प्रतीक्षा गरेँ । कहिलेकाहीँ आउने बिजुलीलाई माया गरेँ । मैले मैनलाई सधैँ उपेक्षा गर्दै आएँ ।
रातको दस बज्दा मैनबत्ती मेरो साथी भएको छ । टाढा कतै कुकुरहरु भुकिरहेका छन् । भित्ते घडीको एकोहोरो ट्याक् ट्याक् उसले पनि सुनेको छ, मैले पनि सुनेको छु । हामी दुबै केही बोलिरहेका त छैनौँ फेरि पनि मेरो बोल्ने साथी यतिबेला अर्को कोही छैन । छोटो आयुमै एउटा मैन सकिन्छ, मर्छ र म अर्को चोखो मैन त्यसैको टाउकामा टाँस्छु, थिच्छु र उभ्याउँछु । आजको एकै रातमा कति मैनहरु यसरी सल्किरहेका होलान् ? कति मैनहरु यसरी सकिइरहेका होलान् ?
![Madhav Dhungel](https://www.leftreviewonline.com/wp-content/uploads/2018/09/Madhab-Dhungel-leftreviewonline-1.jpg)
मैनको उज्यालामा मान्छेहरु मात्तिएका पनि छन् । मैनकै उज्यालामा आमाहरु बच्चालाई दुध खुवाउँदै छन् । यसकै उज्यालामा कसैले औषधि बिर्कामा खन्याउँदै छ । यसैका उज्यालामा कसैले कविता लेखिरहेको होला । मैनले सबैलाई देखेको छ, मानिसहरुले गरेका कामहरु देखेको छ । मानिसका अनिद्राहरु र रातका जीवनहरु देखेको छ । धेरै मानिसले नदेखेका दृश्यहरु मैनले देखेको छ र पनि यसले कसैलाई पोल लाएको छैन । आजसम्म संसारमा कति मैनहरु बालिए होलान्, कति मैनहरु सकिए होलान्, मैनले कसैलाई बिगारेको छैन । आज मलाई किन किन पग्लिएका मैनहरुको माया लागिरहेको छ । सकिएका मैनहरुको स्मृतिमा मन एकदम शून्य र उदास भएको छ ।
हाम्रो समाजमा एकखाले मानिसहरु केही बोल्दैनन् । निरन्तर काम गरिरहन्छन्, पसिना बगाइरहन्छन् । यिनीहरु हजारौँ फुल पारेर पनि शान्त रहने गम्भीर कछुवा जस्ता छन् । अर्काथरी मानिसहरु कुखुराका पोथी जस्ता पनि छन् जो एउटा फुल पार्नेबित्तिकै धुरीमा चढेर कोर्कोराउन थाल्छन् । सबैलाई सुनाउँछन् – ऊ फुल पारेकी पोथी हो । उसले भर्खरै नयाँ अन्डा यो विशाल संसारलाई सुप्पिएकी छ । बिलकुल नयाँ र महत्वपूर्ण अन्डा जो ससारमा पहिलो चोटि पदार्पण गर्दै छ । बदलामा मान्छेले अब उसलाई मकैका पोसिला दाना खुवाउनै पर्छ ।
कुखुराका पोथीको तर्क हुन्छ– नरोईकन त बच्चाले आमाको दुध पनि पाउँदैन । भोकाएको कुरा सुनाएन भने खुवाउने झन्झट कसले गरोस् ? त्यसैले कुखुराले कराउनै पर्छ, तब मात्र कसैले चारो हाल्छ । कछुवालाई यो कुरा थाहा छैन । ऊ त पानीमुनि बाँच्न बानी परेको जीव । बाहिरको हल्ला उसले बुझेको छैन । उसलाई कसैले मकैको चारो दिएको पनि आजसम्म थाहा छैन । जति खायो, मिठो नमिठो जे खायो, उसले आफैँले खोजेर खाएको छ । कसैको अपुताली खाने कानुन पानीको संसारमा नचल्दो रहेछ ।
मेरा केही साथीहरु कछुवा जस्ता छन्, केही अग्रजहरु कुखुरा जस्ता छन् । कुखुराहरुले हामीलाई गीत सुनाउँछन्, उल्याउँछन्, जिस्क्याउँछन् । हामी गीतको माधुर्यमा आफ्नो समय फालिरहेका छौँ तर कुखुरा होइनरहेछौँ । गीत गाउनै भने सकिरहेका छैनौँ । उनीहरुले खाएको चारो हेरेर हामीलाई गीत गाउने रहर पनि लाग्छ तर त्यो गर्न हामीसँग कलात्मक गला छैन । हामीसँग धुरीमा पुग्ने शक्ति छैन । भुइँबाट हामी गीत त सुन्छौँ, अरुले ताली बजाएको पनि सुन्छौँ तर सुनेको गीतले पेट भर्दैन । भोको पेटमा हामी ताली बजाउन पनि सङ्कोच मान्दा रहेछौँ । हामीलाई केको उल्लास, केको उत्साह र हामी कुखुराको गीतमा कम्मर भाँचूँ ? हामी न त ताल अनुसार नाच्न जान्ने मयुर भयौँ न त आफैँ गीत गाएर मकै खोज्ने कुखुराका पोथी ।
हामी कछुवा पनि हुन सकेनौँ । कुखुराको संसारबारे थाहै नभएको लाटो पनि हुन सकेनौँ । जे जति थाहा पाइएको छ, त्यसका आधारमा कुखुरालाई महान् भन्न सक्ने उदार पनि हुन सकेनौँ । हामी त्यसैले पनि टाढा बसेर अहिलेको संसारलाई हेरिरहेछौँ । बरु हामी मैन भएर बिस्तारै सकिँदै गइरहेछौँ ।
अरुले सल्काइदिएका मैन हामी । सल्किएपछि बलिरहन्छौँ । हाम्रो बलाइ, हाम्रो उज्यालो हामीले रोजेको उज्यालो हुँदैन । हाम्रो उज्यालोमा अरु नै कसैले कविता लेख्छ, हाम्रो उज्यालामा अरु नै कसैले काम गर्छ । हामी निरन्तर सल्किनकै लागि रहेछौँ र त्यतिबेलासम्म सल्किरहन्छौँ जतिबेलासम्म कुनै ठुलो हुन्डरी आउँदैन वा हाम्रो जीवन त्यसै त्यसै सल्किएर सकिँदैन ।
बिहानदेखि बेलुकासम्म निरन्तर हामी सल्किएकै छौँ । मैन रातको अँध्यारामा सल्किन्छ, हामी दिनको उज्यालामा ज्यादा बल्छौँ । बिहानदेखि बेलुकासम्म निरन्तर घोटिन्छौँ, कुद्छौँ, परिश्रम गर्छौँ र तलब थाप्छौँ । एकचोटि थापेको तलबले महिनादिन बाँच्ने प्रयास गर्छौँ । भर्खरै एकजना साथीले भन्थ्यो, हामी साहुको काम गरिदिन बाँचेका हौँ । हामी म¥यौँ भने उसको काम रोकिन्छ, उसको नाफा घट्छ, त्यसैले तलबका नाउँमा उसले हामीलाई सदासर्वदा बचाउनै खोज्छ । मर्न दिँदैन र आफ्नै लागि बाँच्न पनि दिँदैन । जागिरले हामीलाई नोकर बनाउनका लागि एक महिनासम्म अल्झाइरहन्छ । जागिरले हामीलाई खटाएर त्यत्ति नै पैसा दिन्छ जति पैसाले हाम्रो दुखिया जीवन गुजारा हुन्छ । जिन्दगीभरि जागिर खान्छौँ र केही नै नकमाई निवृत्त हुन्छौँ । काम छोड्यो कि त ज्यान छुट्छ, ज्यान बचाउन खोज्यो भने त्यो सबै साहुको, हाकिमको, मालिककै लागि खर्चिनु पर्छ । हामीलाई फुर्सदमा बस्ने छुट छैन, रमाइलो गर्ने छुट छैन, दुई पैसा तलब बढ्छ कि भनेर चाकरीमा रमाउनु पर्ने बाध्यता छ । कहिलेकाहीं त यस्तो लाग्छ, हामीले बिरामी हुन पनि पाउँदैनौँ ।
आज मलाई उत्ताउलो हुने रहर छैन । मलाई प्रतिक्रिया दिइहाल्ने हतारो छैन । सबैका आफ्ना आफ्ना सोचाइ छन्, बुझाइ र दौडधुपहरु छन् । म यी सबैलाई हेर्ने फुर्सद निकालिरहको छु । साथीहरुलाई म भनिरहेको छु– मलाई एकैछिन फुर्सद देऊ । मलाई एकैछिन एक्लै छोड । म कछुवा हुँ कि कुखुराको पोथी ? मलाई एकैछिन सोच्न देऊ । केका लागि यो संसारमा छु, किन म इच्छामरण रोजिरहेको छैन ? एकैछिन मलाई गम्न देऊ । मैले खोजेको जीवन के हो ? मैले रोजेको सपना के हो ? एकैछिन मलाई सम्झन देऊ । यो महानगरको घच्चाघमासानमा धेरै थोक मलाई छुटे झैँ लाग्दै छ ।
मैन ! तेरो मौनता मलाई लोभ लाग्दो हुँदै गएको छ । तेरो शालीनता मलाई ईर्ष्या लाग्दो बन्दै गएको छ । म पनि हिजो तँ जस्तै असल थिएँ मैन । आज म आफूलाई निठुरी बनेको पाउँदै छु । म पनि तँ जस्तै शान्त थिएँ आज म आफैँलाई रिसाहा बनेको पाउँदै छु । म एकछिन नरिसाईकन बस्न खोज्दै छु । मान्छेहरुको यात्रा कता जाँदै छ उनीहरुलाई टाढै बसेर हेर्न खोज्दै छु । कसको कामको के मोल रहेछ, कसैलाई नसोधी बुझ्न खोज्दै छु । आज म गफाडी छैन मैन, म धेरै धेरै बोलेर थाकिसकेँ । आज म अहँ हाँस्ने छैन, मलाई मेरै हाँसो सस्तो लाग्न थालेको छ । आफ्नै सपनाहरुले गिल्ला गरेको बेला आज म अरुलाई जिस्काउने छैन । आजको दिन अहिले नौलो लाग्दै छ । बोलेका आवाजहरु हलुका लाग्दै छन्, देखेका दृश्यहरु नमिठा लाग्दै छन् । आज कसैको गफमा कुनै मिठास छैन । शब्दहरु आज निकम्मा लाग्दै छन् ।
आजको सङ्गीत शब्दविनाको होस्, आजको साहित्य आग्रहविनाको होस् । शब्दहरु, आग्रहहरु अहिले कमजोर लाग्दै छन् । मौनता अहिले बलियो, बलियो र अझै बलियो हुँदै गएको छ । नीरवता अहिले प्रिय, प्रिय र झनै प्रिय हुँदै गएको छ । अहिले म त्यस्ता मान्छेहरु भेट्न चाहिरहेको छु जससँग कुनै भाषा छैन र पनि जीवन छ, जससँग भन्नु र सुन्नु केही छैन खालि बुझ्नु छ । म पहाडहरु खोजिरहेछु जो अग्लिरहेका छन् तर कसैलाई धाक सुनाइरहेका छैनन् । त्यस्ता हाँसहरु, बाख्राहरु, सुँगुर र चीलहरुलाई एकैचोटि भेट्न चाहिरहेको छु जसले कसैलाई केही भन्न सक्दैनन् र फेरि पनि धेरै कुरा भन्न सक्छन् । म बोक्सीहरु, कविहरु, पूर्वराजा र आफैँलाई भेट्न चाहिराखेको छु जसका आँखामा मैले धेरै बेरसम्म अडिएर गहिरो गरी हेर्न सकूँ ।