काठमाडाैं, प्रधानमन्त्री के पी शर्मा ओलीले हो ची मिन्हको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।
समाजवादी गणतान्त्र भियतनामको दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रतामा त्यहाँका नेता हो ची मिन्हले दिएकाे योगदानकाे स्मरण गर्दै उहाँले आफू हो ची मिन्हबाट बाल्यकालदेखि नै प्रभावित भएको बताउनुभयाे । उहाँले मिन्हले सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको र स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको भन्दै नेता मिन्हकाे सम्झना गर्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीले मिन्हलाई नेपालमा सम्मानका साथ हेरिने गरिएको र उहाँको सम्मानमा अनेकौँ कविता, निबन्ध र गीत लेखिएको सुनाउनुभयाे।
प्रधानमन्त्री ओलीले मिन्ह असाधारण नेता भएको उल्लेख गर्नुभयाे । उहाँले इतिहास परिवर्तन गर्दै आफ्ना जनता तथा मुलुकलाई गौरवान्वित बनाएको र विश्वलाई समाजवादी आन्दोलनको नयाँ दिशा र आयाम दिएको प्रधानमन्त्रीकाे भनाइ थियाे ।
प्रधानमन्त्री ओलीले मिन्ह राष्ट्रिय बल तथा साहसको प्रतीक भएको र उहाँले जनताको निःशर्त समर्थन प्राप्त गरी विश्वको सबैभन्दा बलियो सेनालाई पराजित गर्न त्यसलाई उपयोग गरेको भन्दै भियतनाम र नेपालकाे इतिहास उस्तै भएकाे बताउनुभयाे ।
प्रधानमन्त्रीले नेपाल कहिल्यै कसैकाे उपनिवेश नभएको र यसले आफ्नो सार्वभौमसत्ता तथा स्वतन्त्रता संरक्षण गर्न संघर्ष गरेको हुनाले दुई मुलुकका जनता बिच एकता तथा मित्रता बलियो भएको उल्लेख गर्नुभयाे । प्रधानमन्त्री ओलीले भियतनामको वर्तमान इतिहासले एउटा युद्धग्रस्त मुलुकले आफूलाई कसरी पुनर्निर्माण गर्छ भन्ने देखाएको र नेपालमा पनि युद्धपछिको अवस्थामा पुनर्निर्माणको चुनौती रहेको बताउनुभयाे।
प्रधानमन्त्रीले भियतनाममा मार्क्सवादकाे मौलिक उपयोगले नेपाली जनतालाई आफ्नो मुलुकले भोगेका अनेकौँ चुनौतीको उपयुक्त दिगो समाधान खोज्न अभिप्रेरणा दिएको बताउनुभयाे । प्रधानमन्त्री ओलीले मार्क्सवाद तथा समाजवादको सिर्जनात्मक उपयोगबाट दुवै मुलुकले सामान्तवादी राजतन्त्र अन्त्य गर्न सफलता प्राप्त गरेको धारणा राख्नुभयाे।
भियतनाममा झैँ नेपालमा पनि मार्क्सवादको विचारधारालाई स्थानीय परिस्थितिमा उपयोग गरी समाजवाद निर्माण गर्न चाहेको बताउँदै प्रधानमन्त्री ओलीले समाजवादको खोजी नेपाली संविधानको लक्ष्य भएको र नेपाल तथा भियतनाम दुवैले क्रान्तिकारी परिवर्तन शान्तिपूर्ण तरिकाले सम्भव भएको देखाएको पनि उल्लेख गर्नुभयाे ।
प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका अध्यक्ष न्युऐन सुआन थाङले स्वागत गर्नुभएकाे थियाे ।