कतिपय घटनाहरु यथार्थ हुँदाहुँदै पनि विश्वास गर्न गाह्रो हुने रहेछ । अझै पनि कृष्ण सेनको हत्याको पत्यार गर्न गाह्रो हुन्छ । हिरासतमा उहाँसँगै यातना शिविरमा बिताएका क्षणहरु आँखा वरिपरि आएझैँ हुन्छ । दुश्मनको चर्को यातनाका कारण सबैको दुखाइबाट निस्किएको चित्कार अझै पनि मानसपटलबाट हराउन सकेको छैन । दिमाखी रिलमा ती सबै दृश्यहरु ताजा भएर आइनै रहन्छ ।
जनयुद्धको तीव्र विकासका कारण अत्तालिएको फासिस्ट शाही सरकारले २०५८ मंसीर ११ गते संकटकालको घोषणा गरेपछि के पत्रकार, के साहित्यकार, जो कोही पनि गिरफ्तार हुन सक्थ्यो, बेपत्ता पारिन सक्थ्यो र हिरासतभित्रै नरवधशालामा मारिन सक्थ्यो ।
एक दर्जनभन्दा बढी पत्रकार, साथीहरु सुरुआतमा नै गिरफ्तार भए तर सेन दाइ र मसहित हामी बाँकी रहेका सबैजना २०५९ जेठ ६ गते गिरफ्तार भइसकेका थियौं । हिरासत सेन दाइसँगै हामीले भोगेका दर्दनाक यातनाहरुका बारेमा मैले यसभन्दा अगाडि पनि पटकपटक लेखिसकेकी छु ।
घटना पुरानो भए पनि कहिल्यै बिर्सन नसकिने ती क्रूर यातनाका क्षणहरु हाम्रो मानसपटलमा ताजै रहिरहन्छन् । एउटै हिरासतमा सँगै भोगे पनि उहाँलाई त्यहींभित्रै गुमाउनुपर्दाको पीडा सायदै कुनै शब्दमा व्यक्त गर्न सकिन्छ होला ।
जब हामी सबैलाई महेन्द्र पुलिस क्लब पुर्याइयो, केही क्षण मौखिक बयान लिइएपछि सुरु भएको थियो शारीरिक यातनाको शृंखला । महेन्द्र पुलिस क्लबको बाहिरको ग्राउण्ड जहाँ फलामको काम गर्नेले तातो फलाम चुटेझैं चुटिएको थियो, जेठ ६ गतेको रातभरि । हाम्रा चित्कारहरु एकआपसमा ठोक्किँदै हावामा बिलाउँदै जान्थे तर हाम्रो आस्था गलाउन उनीहरुले सकेनन् ।
राति ९ बजेदेखिको पिटाइ बिहान ५ बजेपछि मात्र रोकियो सायद उनीहरु थाके होलान् । त्यतिबेला सेन दाइलगायत हामी धेरैजना अर्धमूर्छित अवस्थामा थियौँ । आफ्नो शरीर हो कि मुढो हो, थाहा नहुने अवस्था थियो ।
७ गते बिहान १० बजेबाट पुनः यातना दिने काम सुरु भयो । सेन दाइबाट केही कुरा लिन उनीहरुले गरका हरकोसिसहरु निष्फल भइरहेका थिए । त्यसैले होला अत्यन्तै हिंस्रक बाघले झैं उनीहरु सेन दाइमाथि झम्टिरहेका थिए । त्यतिबेला दिन स्वयं डिआईजी अमरसिहं शाह र डिएसपी विक्रम थापा उपस्थित थिए । कम्तिमा क. बादललाई गिरफ्तार गर्न सहयोग गर भनिरहेको थियो डिएसपी विक्रम थापाले तर आफूलाई थाहा नभएको बताउनुभयो ।
उहाँले भौतिक शरीर बचाउनका निम्ति गद्दारको बाटो राजेको भए आज उहाँ जीवित हुनुहुथ्यो होला भौतिक हिसाबले तर उहाँले दुश्मनका सामु कुनै सम्झौता गर्नुभएन बरु एकपटक मरेर पनि युगौं युगसम्म बाँचिरहने विरताको बाटो राज्नुभयो ।
प्रहरीले चरम यातना दिएरहँदा उहाँको मुखबाट ‘आइया आमा’ भन्ने शब्द र थाहा छैन भन्ने शब्दबाहेक अरु सुनिँदैनथ्यो । प्रहरीले केही प्रश्न गर्दा उहाँले जुन निडरताको साथ जवाफ दिनुहुन्थ्यो, त्यसबाट हामीमा थप दृढता पैदा भएका थियो ।
सेन दाइबाट कुनै उपलब्धि लिन नसकेपछि आजित भएर एकपटक उनीहरुले सोधेका थिए – “तँलाई मर्न डर लाग्दैन ?”
सेन दाइले जवाफ दिनुभएको थियो, “मर्न त सबैलाई डर लाग्छ, तर केका निम्ति मर्ने भन्ने कुरा प्रमुख हो ।”
यो जवाफले झन् आक्रोशित भएका प्रहरीले पछि यातनाले धेरै ठाउँमा भाँच्चिएको सेन दाइको शरीरलाई जबर्जस्ती भित्तामा उभ्याउदै विक्रम थापा लगायत अन्य प्रहरीले किक हानेर ढलाउने गर्थे । उनीहरु लिस्ने र गाममा आफूले भोगेको पराजयको बदला लिएको हुँकार छाड्दथे । तर सेन दाइको दृढताका सामु उनीहरूको केही लागेन ।
७ गते करिब दिँउसो ३ बजेतिर उहाँको अवस्था चिन्ताहनक भइसकेको थियो । उहाँले पटकपटक बान्त गर्नुभयो । उहाँको अवस्था बिग्रँदै गएपछि नपिट्न उनीहरूले नै आदेश दिएर गए । १२ बजेतिर दाइ र मबाहेक अन्य सातजनालाई लिएर गए । करिब २ बजेतिर मलाई पनि त्यहाँबाट लगे ।
म त्यहाँबाट बाहिर निस्कने बेलासम्म पनि सेन दाइ त्यही हुनुहुन्थ्यो । त्यतिबेला उहाँले “मलाई गाह्रो भयो” भनेर बेलाबेलामा भन्नुहुन्थ्यो ।
जब जनआस्था पत्रिकामा उहाँको हत्याको खबर आयो, कतै छाँगाबाट खसेझैँ अनुभूति भयो । विश्वास गर्न गाह्रो भयो । उहाँ हाम्रो सम्पादक मात्रै हुनु हुन्थेन, हाम्रो अभिभावक पनि हुनुहुन्थ्यो । हिरासतमा उहाँले देखाउनुभएको दृढताले नै म आफूले पनि दृढ हुन प्रेरणा पाएकी थिएँ ।
उहाँको हत्याले जनपक्षीय पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको छ । उहाँको हत्या भएको पाँच वर्ष बितिसक्दा पनि राज्यले न हत्या भएको स्वीकारेको छ , न त सहिद घोषणा गरेको छ ।
गिरफ्तार गरेर यातना दिँदै “तँ गिरफ्तार भएको खबर महाराजलाई पुर्याइसक्यौं” भनेर गद्गगद् हुने डिआइजी अमरसिँह शाह र डिएसपी विक्रमसिंह थापाहरु अहिले “कृष्ण सेनको नामसमेत नसुनेको” बकवास गरिरहेका छन् । उनीहरु ‘शान्ति पुरस्कार’ लिँदै र बढुवा हुँदै स-सम्मान विराजमान छन् । यो न्यायप्रेमी जनताका लागि अत्यन्तै विडम्बनाको कुरा हो । जसले आफ्नो जीवन देशका निम्ति समर्पित गर्यो, उसका सम्मान हुनुपर्ने हो कि अपराधीहरुको ? पाँचौँ स्मृति दिवसका सन्दर्भमा उहाँलाई राज्यले सम्मान गर्नसकेमा र उहाँको उद्देश्यलाई पछ्याउनसके मात्र वास्तविक अर्थमा उहाँको सम्मान हुनेछ ।
(लेखक जनादेशकर्मी तथा प्रेस काउन्सिलका सदस्य हुनहुन्छ । महान सहिद कृष्ण सेन ‘इच्छुक’को ५औँ स्मृति दिवसको सन्दर्भमा प्रस्तुत लेखकको विचारलाई सान्दर्भिक ठानी ‘आस्था र निष्ठाको सतिसाल कृष्ण सेन इच्छुक’ नामक पुस्तकबाट साभार गरी प्रकाशित गरेका छौँ – सम्पादक ।)