काठमाडौँ । नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले किसान संगठनको एकताको काममा लागिसकेको बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बर्दिया जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताउनु भएको हो ।
जिल्ला पार्टीको एकीकरण पछि सपथ ग्रहण कार्यक्रमका लागि लामो समयपछि बर्दिया पुगेका नेता गौतमले निमन्त्रणा गरेकोमा धन्यवाद दिँदै “यो भन्दा पहिला म आएको पनि थिइन र पार्टीको कुनै निर्णय पनि नभएको र आउने बहाना पनि नभएकोले आफू नआएको” बताउनु भयो ।
उहाँले आफू “पार्टीको केन्द्रीय सचिवालय सदस्य भएको र भएर मात्रै त्यो पुर्णता हुँदैन, स्थायी कमिटीको सदस्य छ, त्यो भएर मात्रै पूर्णता प्राप्त हुँदैन, सदस्यता पूर्णता त्यो बेला हुन्छ, जतिबेला केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्यविभाजन हुन्छ” भन्नु भयो ।
उहाँले “कार्यविभाजन नभएकोले मैले यही काम गर्ने भन्ने अहिले केही छैन । भर्खरै मात्र नेपाल किसान संगठनको एकीकरण भएको छ र आफूले त्यसको संयोजकको जिम्मेवारी पाएको र त्यो कार्यमा आफू लागिसकेको” जानकारी गराउनु भयो ।
उहाँले आफूले एक बर्षसम्म कुनै जिम्मेवारी नपाएको र यो देशै भरका लाखौं कमरेडहरुका लागि पनि चिन्ताको विषय भएको र यसले गर्दा पार्टीलाई धेरै नोक्सानी भएको गुनासो गर्नुभयो ।
आफू राजनीतिमा लागेदेखि सँधैभरी पार्टीको जिम्मेवार भएर काम गरेको र दुई बर्ष जेल बस्दा पनि पार्टी संगठनबाट एक दिन पनि अलग नभई आफ्नो जिम्मेवारी पूरा गरेको तर अहिले यति लामो समयसम्म पार्टी एकता नटुङ्गिदा लाखौँ कार्यकर्ता र जिम्मेवार नेताहरु जिम्मेवारी विहिन भएकोले यो पार्टी लाई ठूलो नोक्सानी भएको बताउँदै यसको क्षतिपूर्ति गर्नका लागि रातदिन मेहनत गर्नुपर्ने बताउनुभयो ।
सम्बोधनकै क्रममा उहाँले “एउटा पार्टी सदस्यको निम्ति संगठित हुन नपाउनु,पार्टी नीति, विचारहरु बुझ्न नपाउनु , पार्टीका निर्देशन प्राप्त गर्न नपाउनु र काम गर्न नपाउनु भनेको त्यो पीडाको विषय हो । त्यो अब हुँदैन । बिना जिम्मेवारीको कमिटी भएर मात्र त्यसको कुनै अर्थ छैन,” भन्नुभयो ।
नेकपाका वर्दिया जिल्ला अध्यक्ष भुवनकुमार थारुको अध्यक्षतामा एकीकृत जिल्ला कमिटीलाई सपथ ग्रहण कार्यक्रममा नेता वामदेव गौतमले नयाँ जिल्ला कमिटीलाई सपथ ग्रहण गराउँदै प्रशिक्षण दिनु भएको थियो ।
अहिले पार्टी एकतापछि बनेका सबै संगठन गतिशील भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकारका निर्वाचन क्षेत्रमा पहिले नै तय गरिसकेका, डीपीआर तयार भएका पूर्वाधार पूरा गर्न प्रदेशका जिम्मेवार व्यक्तिसँगको सुझावमा स्थानीय तहमार्फत खर्च गरिने रकमले निर्वाचन क्षेत्रको सम्बन्धित जिल्लाको विकासमा मद्दत पुग्ने बताउनु भयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषले सांसदलाई जनतासमक्ष पुर्याउन सहयोग पुग्ने उहाँको भनाई थियो ।
कार्यक्रमको समापन पार्टी जिल्ला अध्यक्ष भुवनकुमार थारुले गर्नु भएको थियो ।