Flag of the Communist Party of Nepal (CPN) नेपाल कम्युनिस्ट पार्टी नेकपाको झण्डा
 

मानव जाति सभ्य युगमा प्रवेश गरेपछि समाज र परिवार चलाउन केही विधि, मान्यता र मापदण्ड बनायो । समाजमा आपसी झगडा र लँडाइले मानव अस्तित्त्व संकटमा पर्ने भएपछि समाजमा ‘के गर्न हुने, के नहुने, गर्न नहुने काम गर्नेलाई के कसरी नियन्त्रण गर्ने वा के दण्ड गर्ने’ भन्ने जस्ता संहिता र समाजको जेठो मानिसलाई कसरी आदर गर्ने तथा परिवारमा वरियता र सम्मानको विधि तय गर्‍यो ।

तर ती सबै रीति-थिति एकैनास थिएनन् । बरु समूह समूहमा अलग थिए । भारतीयहरु नमस्ते गर्छन् र चरण स्पर्श गर्छन् । बेलायतीहरु हात मिलाउँछन्, न्युजिल्याण्ड नाकमा नाक रगड्छन् । चिनियाँहरु पूरै शरीर हल्लाउँछन्, फ्रान्सेलीहरु चुम्बन गर्छन् । यी हुन भेट हुँदा गरिने सम्मान वा अभिवादनका कुरा । त्यस्तै खाने कुरा, पहन अलग अलग छन् । सबै लेख्न सम्भव भएन ।

यी सबै विषयलाई आदर्श नियम भनियो र यस आदर्श नियमलाई लोक रीति, लोकआचार, विधि, प्रथा एवं शोभाचारमा विभक्त गरियो । यीमध्ये लोकआचार अलि ठोस कानूनको रुपमा आयो । विद्वानहरु भन्दछन्, समाजमा असहजता, विग्रह र विद्रोह फैलाउने बाहेकका लोकरीति कायमै रहन्छन् भने लोकआचार प्रयोगमा जाँदा आवश्यक्ता अनुसार फेरवदल भइरहन्छ ।

शोभाचार, प्रथा तथा संस्कृति पनि उत्पादन संघर्षसँगै बदलाव आउँछ। यसको अर्थ यी सबै प्रथा,परम्परा, लोकरीतिहरु श्रमले निर्धारण गर्छ । कुनै समयमा स्थापित मान्यता अर्को समयमा परिवर्तन भइरहन्छन् ।

Kali Bahadur Malla, कालीबहादुर मल्ल
लेखक

सन्दर्भ हो हाम्रो परिवेशको । आज देशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुविधायुक्त सरकार छ, । कम्युनिस्ट भनेको चरित्रैले प्रगतिशील हो । यसको पथप्रदर्शक सिद्धान्त द्वन्द्वात्मक भौतिवाद तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सका अनुसार “संसार बुझ्न त धेरैले बुझे, मुख्य कुरा बदल्नु हो ।” परम्परा, प्रथा र लोकरीति जस्ता पुरानो विचारबाट चलेका प्रगति विरोधी सत्तालाई बदल्नु र नयाँ, प्रगतिशील र मानव जीवन उपयोगी समाज निर्माण गर्नु आजको आवश्यकता हो । यसको अर्थ समाजलाई एउटा वस्तु मानेर वस्तुको गुण र रुपमा पूर्ण परिवर्तन गर्नुपर्छ ।

हरेक राज्यसत्तामा राजनीतिक सत्ता, आर्थिक सत्ता र सांस्कृतिक सत्ता विद्यमान हुन्छन् । तीमध्ये आर्थिक सत्ता स्वरुप अनुसार राजनीतिक र त्यसको माथि सांस्कृतिक हुन्छ । राजनीतिक सत्तामा परिवर्तन भए पनि सांस्कृतिक सत्ता कायम रहे राजनीतिक सत्तामा प्रतिक्रान्ति अनिवार्य छ । ठिक यहिँनेर कम्युनिस्ट पार्टीले ध्यान दिनु जरुरी छ कि हामी प्रथा र लोकआचार बदल्नु पर्छ । त्यसको रक्षा गर्ने होइन ।

यही विषय नेपाली काँग्रेसले गहिरोसँग बुझेर बारम्बार भन्ने गर्छ, “यो कम्युनिस्ट सरकार मात्रै हो, सत्ता होइन ।” उसलाई चिन्ता छ कि नेकपाको सरकारले नेपाली समाजलाई अर्कै ठाउँमा लिँदैछ र चिन्ता सामन्ती-पुँजीवादी संस्कृति परम्परा हटाउँदैछ यो सरकारले । त्यही ठाउँमा कम्युनिस्ट नेताहरु मृत्यूकार्यमा किरिया गर्ने, कपाल खौरिने, १३ दिन नून बार्ने, जनै हाल्ने, बहुविवाह गर्ने, दाइँजो खोज्ने, धामी-झाँक्री, भूत, देवता, बोक्सी जस्ता अन्धविश्वासका पछि लागिरहेका छौं । तिहार, दशैं, जमरा, कलश स्थापना गरिरहेका छौँ । नेताहरु मन्दिर, चर्च, गुम्बा, मस्जिद उद्घाटन गर्दै हिँडेको देखिन्छ र जुन समुदायको कार्यक्रम हो, त्यहाँ त्यही भाषण गर्दा आफ्नो स्पष्ट विचार नभएको प्रतित हुन्छन । सरकारमा रहने नेताहरु बोको काटेर पदभार ग्रहण गर्नु, ब्राह्मण बोलाएर मन्त्र वाचन गराउनु, “संसदीय परम्परा यो हो” भन्दै पछि फर्किनु सांस्कृतिक प्रतिक्रान्ति हो । यदि प्रथा परम्परा र शोभाचार, लोकरीतिलाई न छोड्ने हो भने हामी धार्मिक कम्युनिस्ट बन्न पुग्छौं । कम्युनिस्टको आचार श्रमले निर्धारण गर्छ, धर्मले होइन ।

अन्तमा, कम्युनिस्ट पार्टी समाजको आवश्यक्ता अनुसार बदल्ने र त्योभन्दा पहिले आफू बदलिने हो । तर आदर्श नियम, लोकआचार, शोभाचार र प्रथाको उत्तराधिकारी हुँदैन र हुनु हुँदैन भन्दा “छोटी मुँह बढी बात” त हुँदैन?