नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, झण्डा, Flag, Communist Party of Nepal, CPN Maoist Centre,
 

१. काम योग्यताअनुसार, वस्तु आवश्यकताअनुसार

समाजवाद र साम्यवाद दुवै सामाजिक व्यवस्थाको आर्थिक आधार एउटै हो – उत्पादनका साधनको सामाजिक स्वामित्व । यी दुवै व्यवस्था एउटै सामाजिक अवस्थाका दुई चरण हुन् । समाजवाद साम्यवादको प्रारम्भिक चरण हो । यो विकसित भएपछि स्वतः साम्यवादमा संक्रमण गर्दछ । सामाजिक उत्पादनको अवस्थाले मात्र यी दुई सामाजिक पद्धतिमा भिन्नता देखाउँछ। साम्यवादको चरणमा वस्तुको उत्पादन उच्चस्तरमा पुगेको हुन्छ। उत्पादकत्वको वृद्धि वैज्ञानिक प्राविधिक कारणले हुन्छ। व्यवस्थित योजनाबद्ध अर्थतन्त्रको विकास भएकाले भौतिक सम्पदा र प्राकृतिक स्रोत साधनको विवेकपूर्ण ढङ्गबाट उपयोग गरिन्छ । प्रकृतिमाथि मानिसले सामूहिक ढङ्गबाट अधिपत्य कायम गर्दछ। समाजका प्रत्येक सदस्यलाई उसको बढ्दो आवश्यकता, माग र रुचिअनुसार वस्तु र साधन उपलब्ध गराइन्छ । समाजवादको प्रत्येकलाई उसको ‘कामअनुसार दिने’ वितरणको सिद्धान्त ‘प्रत्येकबाट योग्यताअनुसार काम लिएर आवश्यकताअनुसार दिने’ मा रूपान्तरण हुन्छ ।

समाजवाद र साम्यवाद एउटै सामाजिक र आर्थिक अवस्थाका दुई चरण भएकाले एकबाट दोस्रोमा हुने संक्रमण एक्कासी फड्कोको रूपमा हुँदैन । समाजवादी व्यवस्थामा तलब र ज्यालामा हुने भिन्नताको कारण व्यक्तिको आर्थिक अवस्थामा अन्तर रहन सक्छ । पुँजीवादी बाटो हिँड्ने चाहना व्यक्तिमा आउन सक्छ। तर त्यहाँ साम्यवादतर्फको बाटोमा अवरोध खडा गर्ने परस्पर विरोधी वर्गहरू अस्तित्वमा रहेका हुँदैनन् । समाजवादभित्र देखापर्ने अन्तर्विरोधलाई शिक्षा, चेतना र राजसत्ताको प्रयोगबाट समाधान गर्न सकिन्छ। साम्यवादको बाटोतर्फ अघि बढ्दा विगतमाझैँ क्रान्ति नै गर्नुपर्ने वातावरण रहन्न। जनताको चेतनाको स्तर उकास्दै लगिन्छ, विकासले क्रमिक चरित्र ग्रहण गर्दछ र समाजवादमा हुने चौतर्फी प्रगतिले नै स्वतः साम्यवादको आधार तयार गर्दछ। समस्त जनताको निम्ति आवश्यक वस्तु प्रचुर मात्रामा उत्पादन भएपछि समाजमा आवश्यकताअनुसार वितरण गर्ने प्रणाली स्वतः लागु हुनजान्छ ।

२.राजसत्ताको समाप्ती

राम राज रेग्मी, ram raj regmi
लेखक

उत्पादनको विकास भएर समाजवादी समाज साम्यवादमा प्रवेश गरेपछि समाजमा बुद्धिजीवी र श्रमजीवी बिचको भेद, मजदुर र किसान बिचको भेद र गाउँ र सहर बिचको भेद सबै हराएर जान्छन्। यी भेदहरू हराएपछि विभिन्न वर्गको अस्तित्व अनावश्यक र निरर्थक बन्न जान्छ ।१ त्यसबेला सबै व्यक्तिको वर्ग एउटै हुन्छ, भनाइको मतलब सबैजना कामदार हुन्छन् । समाजमा न कोही बिलासिताको जीवन बिताउने धनी हुन्छन्, न त अभावको जीवन बिताउने गरिब नै ।

साम्यवादमा वर्ग नभएपछि अन्तर्विरोध रोकिनुपर्ने भन्ने विचार कोही निकाल्छन् । तर वर्ग भएमा मात्र अन्तर्विरोध उत्पन्न हुने होइन । वर्गविहीन समाजमा पनि मानिसहरूमाझ अन्तर्विरोध पैदा हुन्छन् । कुनै चीज कसैले रुचाउने र कसैले नरुचाउने हुन सक्छ। अन्तविरोधको अन्त कहिल्यै हँदैन। साम्यवाद मानिसको अन्तिम युग होइन । यो युगपछि पनि मानिस धेरै अघि जानुपर्दछ । तर साम्यवादपछि समाज कस्तो हुन्छ र त्यो कसरी अगाडि बढ्छ, यी यतिखेर हाम्रो दृष्टिभन्दा टाढाका कुरा हुन्।

राजसत्ता वर्गीय समाजको उपज हो र यो एउटा वर्गले अर्को वर्गलाई अधीनमा राख्ने यन्त्र हो । अतयब जब समाजमा वर्ग नै रहन्नन्, त्यसबेला राजसत्ताको औचित्य समाप्त हुन जान्छ । समाजवादमा सर्वहारा वर्गले राजसत्तालाई शोषक वर्गको अस्तित्व मेटाउनको निम्ति प्रयोग गर्दछ र वर्ग उन्मूलन भएपछि आफ्नो हातको राजसत्ता आफै बिसाउँछ। समाजमा विद्यमान वर्ग विरोध र वर्ग अस्तित्वको आधारलाई भत्काएपछि आफ्‌नो प्रभुत्वलाई पनि यसले समाप्त गर्दछ ।२ तर कुनै एक देशमा मात्र साम्यवादी व्यवस्था कायम हुने र एउटा देशमा मात्र राजसत्ता बिलाउने हुन सक्दैन । राजसत्ताको मरणको निम्ति सम्पूर्ण देशमा नै समाजवादको विजय र यसको सुदृढीकरण हुन अनिवार्य छ । केही पुँजीवादी विचारकहरू भन्दछन् कि राजसत्ता समाजको निम्ति उपयोगी संस्था यस अर्थमा हो कि यसले एक आपसमा संघर्ष गर्ने वर्गहरू बिच शान्ति र मेलमिलापको वातावरण कायम गराउँछ। लेनिन यो भनाइलाई गलत ठान्नुहुन्छ । उहाँ भन्नु हुन्छ कि राजसत्ता वर्ग विरोध कै फल हो र यो विरोधी वर्गहरूको सामन्जस्यताको माध्यम कसैगरी बन्न सक्दैन ।३

राजसत्ताको अन्त भएपछि राष्ट्र वा देश कतै रहन्नन्। मानिसको राष्ट्र मार्क्स-एंगेल्स भन्नुहुन्छ, “वर्गहरू र वर्ग विरोधले मुक्त भएको पुरानो पुँजीवादी समाजको ठाउँमा यौटा स्वतन्त्र मानव संघको स्थापना जसमा प्रत्येक व्यक्तिले स्वतन्त्र विकास गर्ने अवसर पाउँछन् ।”४ समाज स्वचालितरूपमा सामाजिक नीति र मान्यताका नियमहरूले चल्दछ । मानिसहरूले र आफै त्यसको पालना गर्दछन्। नियम लागु गर्न कसैले कसैलाई दबाब दिनुपर्ने आवश्यकता पर्दैन ।

एक वर्गलाई दबाउने उद्देश्यले राज्यसत्ता नचाहिए पनि साम्यवादम देखापर्ने अपराधको रेखदेख र नियन्त्रण गर्न र अपराधीमाथि कानुनी कारबाही चलाउन यो चाहिन्छ भनी कोही भन्दछन् । तर जहाँसम्म अपराधहरूको सवाल हो, मानिस जन्मदादेखि नै ठग लुच्चो बदमास भएर जन्मिँदैन। भर्खरै जन्मेको शिशु बिलकुलै अज्ञानी हुन्छ र हुर्कदै जाँदामात्र समाजबारे सिक्दै जान्छ । मानिस जस्तो समाजमा हुर्कन्छ, त्यही समाजअनुसार नै उसका विचार र भावना निर्दिष्ट हुदै जान्छन्। पुँजीवादमा हुर्कने शिशुले लोभ, घमण्ड, रिस, डाह र अरुमाथि शोषण दमन गर्ने बानी छ भने साम्यवादमा हुर्कने शिशुले सहयोग, दया, माया, मित्रताजस्ता राम्रा बानी सिक्दा निश्चय नै कहिलेकाँहि भुलले वा दिमाग बिग्रनाले मानिसबाट गल्ती हुन सक्छन्। तर यस्ता मानिसलाई राज्यसत्ताको प्रयोग गरी समात्ने, थुन्ने, मुद्दा चलाउनेजस्ता कारबाही चलाउन पर्दैन। तिनलाई साथीभाइको सामुन्ने राखेर आलोचना गर्ने, सम्झाउने र दिमाग बिग्रेको भए ओखती उपचार गर्ने र राम्रो मानिसमा बदल्ने प्रयास गरिन्छ । त्यसमा पनि साम्यवादमा राज्यसत्ता एकैपटक सुतीको डोरी चुँडिएकै चुँडिने होइन, यो क्रमशः लोप हुँदै जाने कुरा हो । आर्थिक, सामाजिक, सांस्कृतिक आदि विविध कारणले राज्यसत्ताको अस्तित्व जसरी कायम हुँदै आएको थियो र यो वर्गहरूको अस्तित्वसँगै वर्गीय बन्दै आएको थियो, क्रमश: त्यस्तो अवस्था समाप्त हुँदै गएपछि त्यसको आवश्यकता नै पर्दैन ।

३.स्वेच्छाको श्रम

साम्यवादमा श्रमको चरित्रमा पनि परिवर्तन आउँछ । त्यसबेला गरिने श्रम कुनै प्रकारको करकापको नभई स्वेच्छाको हुन्छ । लेनिनको शब्दमा ‘यो श्रम कसैको निम्ति गरिदिने र बदलामा ज्याला पाउने खालको हुँदैन, यो राज्यले तोकेको कोटा पूरा गर्न भनी गरिने श्रमजस्तो पनि हुदैन, न त यो गाउँमा कुनै छिमेकीको सहयोगको निम्ति गरिने श्रमजस्तो नै हुन्छ । यो श्रम त सामाजिक भलाइको निम्ति व्यक्तिले आफ्नै राजीखुसीले गर्ने खालको हुन्छ ।’५ साम्यवादी समाजमा मानिसहरू कामचोर, अल्छी र निष्कृय हुँदैनन् । उनीहरूको चेतनाको स्तर निकै उन्नत हुनाको कारण मानिसले आफ्नो क्षमताअनुसारको श्रम समाजलाई उपलब्ध गराउँछन् । श्रमको चरित्र जीवनयापनको साधनमात्र नभई आनन्द र सुखको स्रोत बन्दछ ।

४. महिलाको स्थान

साम्यवादमा उत्पादनका साधनलाई सामूहिक रूपले उपभोग गरिन्छ भन्ने सवाललाई भ्रमपूर्ण ढंगबाट पेस गर्दै कुनै कुनै बुर्जुवा राजनीतिज्ञहरू बुझ पचाउँदै के भन्छन् भने साम्यवादी समाजमा महिलाहरूलाई आदिम साम्यवादी समाजमाझैँ सामूहिकरूपले उपभोग गरिन्छ । त्यहाँ लोग्ने-स्वास्नी भन्ने नाता हुँदैन र मानिस जंगली युगमाझैँ भेडाबाख्रा सरह हुन्छन् । यो मूर्खतापूर्ण बकवास सिवाय केही होइन किनकि भविष्यको साम्यवादी समाज आदिम युगको जस्तो पछौटेपन र दरिद्रताले भरिपूर्ण प्रकृतिमाथिको निर्भर समाज होइन, यो त उच्च विकसित प्रविधियुक्त वैज्ञानिक समाज हो, जसमा मानवजातिको विकासको क्रममा प्राप्त उपलब्धि एकनिष्ठ विवाह पद्धतिलाई प्राथमिकता दिइन्छ । पुरानाको निषेध गर्दा तिनका राम्रा पक्षको संरक्षण गरिन्छ भने नराम्रा पक्षलाई त्यागिन्छ ।

वास्तवमा भन्ने हो भने सामन्तवादी एवं पुँजीवादी समाजमा नै महिलाहरू अत्यधिक रूपमा पुरुषको काम बासनाको शिकार भएका हुन्छन् । सामन्तवादी समाजमा यौटा सामन्तले भोग विलासको निम्ति बहुपत्नी राख्ने चलन थियो भने पुँजीवादी समाजमा एकनिष्ठ विवाहको चलन चले पनि महिलाहरूलाई बेश्यालय खोलेर सामूहिक रूपमा उपभोग गर्ने गरिएको छ । पुँजीपतिहरू आर्थिक प्रलोभनमा फँसाई मजदुरका चेलीबेटी र बुहारीको सतित्व नष्ट गरेर मात्र अघाउँदैनन्, उनीहरू अर्काकी स्वास्नी उडाउँदा विशेष खालको आनन्द मान्दछन् । मार्क्स-एङ्गेल्स भन्नुहुन्छ, “महिलाहरू सनातन कालदेखि नै समाजको सामूहिक सम्पत्ति भएर आएका छन् । कम्युनिष्टहरूले त नारीलाई बाँधिएको बन्धनलाई तोडेर उनीहरूलाई यस दुर्दशाबाट मुक्त गरी माथि उठाउन चाहन्छन् ।” वास्तवमा निजी सम्पत्तिमा आधारित उत्पादनको पुँजीवादी ढाँचा कै कारण समाजमा बेरोजगारी उत्पन्न हुने र गरीबी बढ्ने कारणले विवश भएर वर्गीय समाजमा महिलाहरू बेश्यावृत्ति अपनाउन बाध्य भएका हुन्छन्। लण्डन, न्यूयोर्क, टोकियोजस्ता पुँजीवादी सहरका रेडलाइट एरियामा महिलाको देह व्यापार अत्यधिक मात्रामा चल्दछ ।

साम्यवादमा चाहिएको कुरा पाइने भएकाले कुनै पनि महिलाले पेट पाल्न भनी आफ्नो शरीरको पसल थाप्नु पर्दैन । जहाँसम्म विवाहको सवाल हो, पुँजीवादी समाजमा झैँ धनी र गरिब, ठुलो जात र सानो जात केही भनिन्न । विवाह केटाकेटीको इच्छामा भर पर्ने हुनाले यसमा आमाबाबु, इष्टमित्र कसैले पनि हस्तक्षेप गर्दैनन् । लोग्ने मानिस र स्वास्नी मानिसले माया प्रेम गरेको भरमा नै विवाह गर्ने गर्दछन् ।

सन्दर्भ सामग्रीहरू

१. फ्रेडरिक एंगेल्स, समाजवाद – वैज्ञानिक और काल्पनिक, पृ.४८
२. कार्लमार्क्स-फ्रेडरिक एंगेल्स, कम्युनिष्ट पार्टीको घोषणापत्र, प्रगति प्रकाशन, २०५४, पृ.६६
३. भि. आइ लेनिन, राज्य र कान्ति, (अंग्रेजी संस्करण), पृ.१३
४. कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, उही, पृ.६६
५. भिआई लेनिन, रिपोर्ट अन सबोट्निक्स एट अ मस्को सिटी कन्फरेन्स अफ द आरसिपि (बि)

(लेखक नेकपा (माओवादी केन्द्र)का नेता तथा मार्क्सवादी चिन्तक हुनुहुन्छ ।)