नेपाल राष्ट्रको युगान्तकारी परिवर्तनका लागि नेपाली जनताको विगत ७० बर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । यी संघर्षका क्रममा हजारौँ नेपाली वीर योद्धाहरुले जीवन बलिदान गरेका छन् । हजारौ योद्धाहरु बेपत्ता, घाइते तथा अपाङ्ग भएका छन् । यस क्रममा कैयौँ व्यक्तिले कठोर यातनायुक्त जेल जीवन बिताए र अझै पनि कति जना बिताइरहेका छन् । अहिले आन्दोलन र संघर्षका निम्ति हजारौँ नेपालीहरु भूमिगत जीवन बिताउन बाध्य भएका छन् । यद्यपि यी संघर्षहरुको परिणामहरु राजनैतिक रुपमा सफल र सकारात्मक भएता पनि देशको आर्थिक र सामाजिक रुपान्तरणको क्रान्तिले भने अझै पूर्णता प्राप्त गर्न सकेको छैन ।
तत्कालिन नेकपा (माओवादी) पार्टीको सित्द्धान्त, विचार, नीति, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध हुँदै यो देशको मुहार फेर्नको निम्ति आफ्नो व्यक्तिगत जीवनलाई पूर्ण रुपमा देशका लागि समर्पण गर्ने दृढ अढोटका साथ क्रान्तिमा होमिए । यो देशको मुहार फेर्न अझै पनि हामी क्रान्तिकारीहरुको लक्ष्य उद्देश्य जनताको आकांक्षाहरु परिपूर्ति गर्नका लागि संघर्षरत रहेता पनि महान सहिद, बेपत्ता र घाइते कमरेडहरुको सपना अझै पूरा हुन सकेको छैन । उहाँहरुको सपना साकार पार्नका लागि लागि दुई थोपा रगत छउञ्जेल संघर्षरत रहन प्रतिबद्ध हुनुपर्छ ।
राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यो आफैमा ऐतिहासिक छ । अर्कोतर्फ संविधान सभाबाट नेपालको संविधान विदेशी दलालहरुले नचाहँदा नचाहँदै पनि सुधार उन्मुख जनताको संविधान जारी भई परिवर्तनका संवाहक उपलब्धिहरु संस्थागत भएका छन् । मुलुकमा यो ऐतिहासिक परिवर्तन ल्याउने शान्तिपूर्ण तथा शशस्त्र संघर्षहरु, झापा विद्रोह तथा २०५२ साल फागुन १ गते देखि सुरु भएको दस बर्षे तत्कालिन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्ध र मधेस आन्दोलन, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, सिमान्तकृत लगायत सयौँ बर्षसम्म उत्पीडित बनाइएका समुदायले चलाएका संघर्षहरुको ठूलो भूमिका छ भने तिनको सफलताका लागि आफ्नो जीवन उत्षर्ग गर्ने महान सहिदहरु, घाइते तथा बेपत्ता योद्धाहरु, तमाम योद्धाहरू र जनसमुदाय आदरणीय र उच्च सम्मानका भागिदार छन् । ती सबै महान सहिदहरु, आन्दोलनका अग्रजहरु, आन्दोलन र संघर्षका योद्धाहरु एवं आम जनसमुदायको सपना, आकांक्षाहरु पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघर्षरत छ र रहिरहनुपर्दछ ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै हाम्रा कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुले लोकतान्त्रिक तथा देशभक्तिपूर्ण आन्दोलनका साथै सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरणको नेतृत्व गर्दै राष्ट्रिय स्वतन्त्रतता, स्वाधिनता, राष्ट्रिय स्वाभिमान र जनहितको रक्षाको सवालमा अग्र भूमिका खेलेको छ भनेर गौरवकासाथ भन्न सकिन्छ । कम्युनिस्ट तथा वामपन्थी शक्तिहरु लोकतान्त्रिक र राष्ट्रिय स्वाधिनताका पहरेदार हुन् । यसकारण नेपाली कम्युनिस्ट शक्तिहरु जनअधिकार र देशभक्तिको प्रर्याय बन्न पुगेको छ ।
अर्कोतर्फ सामन्तवाद र निरङ्कुशतन्त्र विरुद्धको लोकतान्त्रिक क्रान्तिको आरम्भिक चरणहरुमा कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको नेतृत्व हुन नसक्दा ती आन्दोलनहरुले पूर्णता पाउन नसकेको अवस्था थियो भने कम्युनिस्ट आन्दोलनको शक्ति र प्रभाव बिस्तारसँगै लोकतान्त्रिक क्रान्तिमा, नेपालका वामपन्थीहरुले क्रमशः निर्णायक भूमिका निर्वाह गरेका छन् ।
लोकतान्त्रिक आन्दोलनहरुमा कम्युनिस्ट पार्टीको नेतृत्व स्थापित भएपछि आन्दोलनहरु एकपछि अर्को सफल हुँदै आएको पाइन्छ । संसद, सरकारमा सामेल भएका कम्युनिस्ट क्रान्तिकारीहरुले सुधारात्मक कामहरुद्वारा सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरणका लागि गति दिन तथा राष्ट्रको स्वतन्त्रता र स्वाधिनता तथा सार्वभौम सत्ताको पक्षमा महत्त्वपूर्ण कामको थालनी गरेका छन् ।
२००७ सालको परिवर्तनका साथै ५८ बर्षसम्म मुलुकमा भएका अनेकौँ संघर्षहरुमा कम्युनिस्टहरुको आगमनसँगै अग्रगन्य भूमिका रह्यो । कमरेड पुष्पलालले ३० को दशकमै अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको अवधारणा अनुरुप कतिपय निर्णायक संघर्षहरुमा नेपाली काँग्रेसलाई साथ लिन सकियो । फलस्वरुप २०४६/०४७ को संघर्षद्वारा निरङ्कुश राजतन्त्रद्वारा नेतृत्व गरिएको पञ्चायती तानाशाहीलाई पराजित गर्न सकियो । त्यसपछि संसदभित्र र बाहिर अनेकौँ संघर्षहरु, २०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादीको नेतृत्वमा सुरु भएको दस बर्षे महान तथा ऐतिहासिक जनयुद्ध, २०६२/०६३ को शान्तिपूर्ण जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान सभाको मौलिक एवं विशिष्ट प्रक्रिया मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो र नेपाली लोकतान्त्रिक क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको छ ।
अर्कोतर्फ नेपालका दुई शक्तिशाली पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को निर्णायक नेतृत्व नभएको भए न त संविधान सभाको विषय राष्ट्रिय कार्यसूचीमा सुचीकृत हुन सक्थ्यो, न विभिन्न बाधा अवरोधलाई पन्छ्याउँदै संविधान सभाबाट समाजवादतर्फ उन्मुख गणातान्त्रिक संविधान नै घोषणा हुन सक्थ्यो । कम्युनिस्ट पार्टीहरु र त्यसको नेतृत्वको अथक प्रयत्न कुशल नेतृत्वको पहल नभइदिएको भए नेपालमा आजको अग्रगामी परिवर्तन संभव हुने थिएन । अब नेकपाको काँधमा सामाजिक न्यायमा आधारित सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।
संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि समाज नयाँ युगमा प्रवेश गरिसकेको छ । संविधानले नेपाललाई समाजवाद उन्मुख राज्य घोषणा गर्नुका साथै समाजवाद उन्मुख सामाजिक राजनैतिक, आर्थिक रुपान्तरणका निम्ति मार्गदर्शन गरिसकेको छ । कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुको मुख्य भूमिकामा आधारभूत रुपमा सम्पन्न भएका सामन्तवाद विरोधी लोकतान्त्रिक क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा सीमित छ । यो समाजवाद उन्मुख लोकतन्त्र निरन्तर विकसित हुँदै जानेछ ।
नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको राज्य शक्तिको बाँडफाँड संघ, प्रदेश र स्थानीय गरी तीन तहमा गरिएको छ । स्थानीय तहदेखि नै जनताको स्वशासनलाई महत्त्वका साथ स्थापित गरेको छ । वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक, सांस्कृतिक उत्पीडन, दमनको अन्त्य गर्ने प्रतिबद्धताका साथ संघीय प्रणाली तथा समानुपातिक समावेशीकरण र सामाजिक न्यायको मान्यतालाई स्थापित गरिएको छ । महिला, दलित, जनजाति, सिमान्तकृत, मधेसी, थारु, मुस्लिम, तराइवासी, पिछडिएका क्षेत्र एवं विभिन्न उत्पीडित जनताको राज्यशक्तिमा समानुपातिक समावेशीकरणलाई अबलम्बन गरिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सप्रभुता र आवास लगायतका विषयलाई नागरिकको मौलिक अधिकारको रुपमा अंगिकार गरिएको छ । यो संविधान गतिशील र विकासशील दस्तावेज हो ।
आवश्यकता बमोजिम यसको संसोधन र परिमार्जन र विकास भइरहनु पर्दछ । परन्तु यसरी नेपालको संविधानले सार्वभौमिकता, भौगिलिक अखण्डता, स्वाधिनता बाहेक वैधानिक बाटोबाट परिवर्तनको ढोका खुलेको छ । नेपालले अबलम्वन गरेको लोकतन्त्रको मौलिक स्वरुप नयाँ प्रयोगको रुपमा स्थापित भएको छ । निर्वाचित संस्थाहरु समावेशी चरित्रमा संसारकै नमूनाका रुपमा छन् । आफ्नो क्षेत्रको विकास समन्वय, सशक्तीकरण र प्राकृतिक श्रोत साधनको संरक्षण र उपयोग मार्फत समृद्धि तथा सुसाशनका निम्ति यिनीहरु अधिकार र कर्तव्यले सुसज्जित छन् । संघीयताको अभ्यासले संविधान पूर्ण कार्यान्वयनमा आइसकेको छ । हाल नेकपाको प्रमुख जिम्मेवारी संविधानको अक्षरस कार्यान्वयन गर्ने गराउने र समृद्ध नेपालको निर्माण गरी समाजवादतर्फ रुपान्तरण गराउनु रहेको छ ।
(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।)