कोरोनाले नागरिक थल्लिएका छन् । सरकारले लामो समयसम्म घरमै बस्न आदेश जारी गर्यो । सामान्य गरिबहरुका लागि भनेर खाद्यान्नको पोका बाहेक जनताका लागि कुनै राहत नीति वा प्याकेज जारी गरेन । बरू उल्टै समयमा कर तिर्न उर्दी जारी गर्यो । एक-दुई वटा राष्ट्रवादी काम बाहेक एकपछि अर्को अनुदारवादी निर्णयहरू अघि सार्ने काम भइरहेका छन् । खै जनताका लागि प्याकेज ? नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आवधिक सरकार छ । के यो साँच्चिकै समाजवादी अवधारणा बोकेकै पार्टीको सरकार हो त ? यसका लागि मैले कार्ल मार्क्सको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई व्याख्या गर्न उचित सम्झेँ ।
कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवाद मार्क्सको विचारको मुख्य इञ्जिन नै हो । हरेक देश र स्थानको फरक-फरक सामाजिक अवस्थामा पनि यो नियम लागु हुन सक्दछ । मार्क्स जुन समयमा सम्बन्ध राख्थे, त्यो समय पूरै युरोपमा औद्योगिक क्रान्ति चलिरहेको थियो र औद्योगिक क्रान्तिबाट भैरहेको दुष्परिणाम पनि सफासँग हेरिरहेका थिए । मजदुर वर्गको गरिबी (Working-class poor conditions), पुँजीपतिहरुद्वारा मजदुरहरुको अत्यधिक शोषण (excessive exploitation), चरम गरिवी (Extreme poverty), आर्थिक असमानता (Economic inequality) आदि तत्कालीन अवस्थालाई बुझेर समाजलाई साँच्चिकै बदल्न चाहन्थे मार्क्स । यी सबै अवस्थाले मार्क्सलाई साँच्चिकै चिन्तित बनाएको थियो । मार्क्स समाजको वर्तमानलाई गहिरोसँग बुझेर बदल्न चाहन्थे तत्कालीन अवस्था भनेको पुँजीवाद (Capitalism) लाई बुझ्नका लागि मार्क्स पछाडि फर्कनु आवश्यक थियो र सबैभन्दा नजिकको भूतकालीन अवस्थालाई हेर्दा सामन्तवादको (Feudalism) दबदबा पाए र त्यसभन्दा पनि अघिको समयलाई बुझ्दा दास समाज (Slave society) भेटियो । त्यसअघि आदिम साम्यवाद (Primitive Communism) देखियो ।
आदिम साम्यवादपछि दास समाज, त्यसबाट विकसित भएर सामन्तहरूको शासन, त्यसपछि पुँजीवाद । यिनै विकसित भिन्नतालाई यसपछिको अवस्थामा कसरी परिवर्तित गर्न सकिन्छ ? अर्थात् पुँजीवादपछि के ? अनि पुँजीवादलाई कसरी उखेलेर फाल्न सकिन्छ भन्ने नै मार्क्सको मुख्य खोजी हो । एउटा यस्तो प्राकृतिक नियम छ, जसलेगर्दा माथि ब्याख्या गरिएको सुरुको अवस्थाबाट पुँजीवादसम्म आइपुगियो भने पुँजीवादी व्यवस्थालाई जरैदेखि उखेलेर फाल्न के त्यस्तो नियम छ ? मार्क्सले दिएको त्यो दर्शन नै ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद हो ।

इतिहासको सिद्धान्त छोटकरीमा भन्नुपर्दा इतिहास भनेकै संघर्षको गाथा हो । यथार्थपरक मानव, श्रम र संघर्ष (human, labour and struggle) मानिसले आफ्ना लागि मुख्यतया यी आधारभूत आवश्यकताका सामग्रीहरूको उत्पादन गर्दछः १. खाना (Food), २. बासस्थान (Shelter), ३. कपडा (Cloths) । यी सबै मानिसको अत्यावश्यक सामग्री हुन् । यी सामानहरू हेर्न, देख्न र छुन सकिन्छ र यी भौतिक सामग्रीको पूर्ति कसरी हुन्छ त भन्ने सवालमा मानव बाहेक अन्य प्राणी केवल प्रकृतिमा भर पर्दछन् तर मानिस, प्रकृतिमा भएको कच्चा पदार्थलाई संकलन गरेर प्रशोधन गर्दै आफ्ना न्यूनतम आवश्यकता (Basic needs) पूर्ति गर्दछन् अर्थात् आफ्ना लागि न्यूनतम आवश्यकताका वस्तु उत्पादन गर्ने क्षमता मानिसमा अद्वित्तीय छ (Ability to produce is unique among humans) । यसका लागि आवश्यकता हो कच्चा पदार्थ र यो कच्चा पदार्थ तथा उत्पादनका साधन (Means of production), अब यो कसको नियन्त्रणमा छ ? यो पनि वर्ग संघर्षको महत्त्वपूर्ण पाटो हो, यसको मालिक को हो ? यसलाई चलायमान गर्न अनुमति दिने को हो ?
हरेक समाजमा यी सामग्री अर्थात उत्पादनका साधनहरू (Means of production) माथि प्रभुत्त्व जमाउने एउटा सानो समूह हुन्छ, यिनलाई (Dominant class) पुँजीपति तथा मालिक वर्ग र बाँकी अरुले केवलम मजदुरी मात्र गर्नेछन् वा भनौँ आकार प्रदान गर्नेछन् । तिनीहरुको (Means of production) उत्पादनको साधनमा कुनै प्रभुत्त्व वा अधिकार रहँदैन, यिनलाई (Dominated class) श्रमिक वा मजदुर वर्ग भनिन्छ । यी दुई वर्गको चाहना एक अर्काको ठिक विपरीत हुन्छ । यहि विपरीत विचारको संघर्ष नै वास्तविक वर्ग संघर्ष हो । यो नै (dialectical materialism) द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त हो ।
पुँजीवाद भन्दा अगाडिको चरणहरूमा पनि द्वन्द्व भएकै कारण परिवर्तन सम्भव भएको हो, जस्तै कि मानव सभ्यताको सुरुवातमा पूर्ण समाजवाद थियो भनेर मार्क्सले कल्पना गरेका छन् र उनले यसलाई आदिम साम्यवाद (primitive communism) भने । त्यसपछि केही बलिया वा तिक्ष्ण बुद्धि भएकाहरू वा समाजको एक समूहले भौतिक सामग्रीमा एकात्मक कब्जा जमाएर समाजमा, मालिक (Dominant) तहका र दास- कामदार (Dominated) तहका (class), मालिक र दास, (Master & slave) (Slave society) दास प्रथाको सुरूवात भयो । मजदुर किसानहरूलाई भौतिक सामग्री एकात्मक कब्जा गरेर चरम रुपमा दबाइयो । यिनीहरूलाई सबै किसिमले दास बनाइयो ।
यसपछि मालिक र दासका बिच भौतिक (Material) वस्तुलाई लिएर संघर्ष भयो र केही खुकुलोपनको अवस्था सहितको (Feudalism) सामन्तवादको सुरूवात भयो जहाँ (Lord & serf) भगवान र कामदारको रूपमा (class) श्रृजना भयो र यहाँ जसलाई भगवान भनिएको छ, ऊ मालिक (Dominant) तहका र जसलाई कामदार भनिएको छ, ऊ कामदार (Dominated) तहका बिच पनि शोषण कायमै थियो र यहाँ पनि (Material) भौतिक सामग्रीलाई लिएर संघर्ष भयो र (Feudalism) सामन्तवादको अन्त्य गर्दै पुँजीवाद (Capitalism) को सुरूवात तथा जन्म भयो जसमा पुँजीपति प्रभुत्वशाली वर्ग (Dominant class) र मजदुर अधिनस्थ वर्ग (Dominated class) को रुपमा रहन्छन् ।
दास प्रथा तथा सामन्ती प्रथालाई एकातर्फ र पुँजीवादी व्यवस्थालाई अर्कोतर्फ राखेर हेर्दा यी दुईको बिचको वास्तविक भिन्नता भनेको, दास समाज तथा सामन्ती प्रथाको मुख्य कच्चा पदार्थको रूपमा जमिन र किसानी उत्पादन, जसको जमिनमा आधिपत्य थियो, ऊ मालिक (Dominant) र जो त्यो जमिनमा श्रम गर्थे र आधिपत्य जमाउन सक्दैनथे, त्यो कामदार (Dominated) । तर अब पुँजीवादी समाजमा (Capital society) जमिन र किसानी मुख्य श्रोत होइन, यसको मुख्य उत्पादन भनेको कल कारखाना हो र जसको आधिपत्यमा कलकारखाना रहन्छ, त्यो (Capitalist) पुँजीपति वर्ग र जसको आधिपत्यमा कलकारखाना रहँदैन, जो केवल श्रम मात्र गर्छन्, ऊ कामदार वर्ग, यहाँ पुँजीपति मालिक (Dominant) र श्रमिक कामदार (Dominated) हो ।
यतिसम्मको ब्याख्या भूतकालीन र वर्तमान सन्दर्भमा हो र यसपछि सुरू हुन्छ भविष्यमा के हुन्छ ?
मार्क्सका अनुसार यसपछिको समाज भनेको वर्गविहीन समाजको निर्माण हुन्छ, जहाँ कोही मालिक र कामदार हुने छैन, पुँजीवादमा रहेको पुँजीपति र श्रमिक कामदारका बिच संघर्ष निश्चित छ, र त्यसपछि कुनै वर्ग रहने छैन, साम्यवाद (Communism) पछि अर्को कुनै तह रहने छैन ।
सुरूवाति समाज आदिम साम्यवाद जुन शिकार गरेर चलेको समाज (Hunter, gatherer society) बिल्कुल वर्गरहित रह्यो, जुन भूतकालीन ब्याख्या रह्यो, बिचमा दास समाज, सामन्ती समाज र पुँजीवादी समाजभन्दा पनि पछिको भविष्य अर्थात कस्तो होला त ? के समाजलाई पुरानै आदिम साम्यवादकै अवस्थामा पुर्याउने हो र ?
बिल्कुल होइन । भूतकालीन सुरूवाति वर्गविहीन अवस्था र हालको अवस्थामा ठूलो भिन्नता छ । समाज जसरी अगाडि बढ्दै गयो, त्यसरी नै प्रविधि, शिप विज्ञान पनि विकसित हुँदै अगाडि बढ्यो र मानिसहरुको जीवनस्तर पनि उच्च हुँदै गयो । सुरूवाति वर्गविहीन अवस्थामा यस्तो थिएन, वर्गविहीन त थियो तर विकास थिएन, शिकारी समाज (Hunter, gatherer society) मात्र थियो, भविष्यको साम्यवाद (Communism) वर्गविहीन समाज यस्तो हुने छैन, एउटा विकसित, प्रकृतिलाई पनि चुनौति दिने खालको हुनेछ ।
तर भविष्यको यो कल्पना बन्छ कसरी ? के सम्भव छ ? यसका लागि त पुँजीवाद समाप्त हुनुपर्छ । अनि मात्र वर्गविहीन समाजको सुरूवात हुन्छ । कसरी पुँजीवादले आफूलाई नष्ट गर्दछ ?
मार्क्स भन्छन् – पुँजीवाद समाप्तिको बिउ यही पुँजीवादभित्रै हुन्छः
१. मजदुर वर्ग बिच अलगाव (Alienation among the working class)।
२. श्रमिक वर्गको आर्थिक शोषण (Economic exploitation of the working class) ।
१. मजदुर वर्ग बिच अलगावः
मानिसमा भएको सबैभन्दा ठूलो गुण भनेको उत्पादन क्षमता (Ability to produce) अर्थात सामानहरुको उत्पादन गर्नु । हाम्रो आवश्यकताका भौतिक सामग्रीहरू पूर्ति गर्नका लागि सामानहरुको आविष्कार वा उत्पादन गर्ने क्षमता हुनु । तर उत्पादनका साधन (Means of production) श्रमिक वर्गको अधिनस्थ हुँदैन । श्रमिकसँग केवल श्रम मात्र हुन्छ । श्रमिकले केवल पुँजीपतिलाई श्रम बेच्ने कार्य गर्न सक्दछ । त्यो पनि केका लागि ? पारिश्रमिक तथा तलब (wage or salary) का लागि अर्थात् सामानको उत्पादन गरेपछि सो सामानबाट श्रमिकलाई पारिश्रमिक वा तलब दिएर अलग्याइन्छ वा उत्पादित सामग्रीसँग श्रमिकको कुनै सम्बन्ध रहँदैन । पुँजीवादमा श्रमिकसँग भएको प्रकृति (Nature) विरूद्ध काम गर्न थाल्दछ । श्रमिकसँग भएको स्वयं बिस्तार (Self extension) गर्ने क्षमता पुँजीपतिको नियन्त्रणमा रहन्छ किनकि श्रमिकसँग उत्पादनको साधन हुँदैन । यसरी श्रमिक र उत्पादित वस्तु एक अर्काबाट अलग हुन्छन् ।
२. श्रमिक वर्गको आर्थिक शोषणः
पुँजीवाद अन्तर्गत उत्पादन हुने हरेक सामग्री पुँजीपतिको नाफा कमाउनका लागि हुने गर्दछ । जो पुँजीपति श्रमिकमार्फत जे वस्तु बनाइरहेको छ, त्यो न त श्रमिक न त आफ्नै लागि बनाइरहेको छ, उसले त्यो वस्तु बजारमा विक्री गरेर नाफा कमाउनका लागि बनाइरहेको छ ।
कुनै पनि सामान उत्पादनार्थ दुई किसिमका पुँजीको आवश्यकता पर्दछः १. कच्चा पदार्थ, यन्त्र, ज्यावल र कारखाना, २. मानव शक्ति (Man power) । कुनै पनि उत्पादन मानव श्रमविना बन्दैन र वस्तुको मूल्य (value) श्रमिकले तैयार गरेपछि मात्र तय हुन सक्दछ । श्रमिकको यही श्रमले तैयार पारेपछि नै त्यो वस्तु वास्तविक मूल्यका साथ किन्न र बेच्न सकिन्छ । तर पुँजीपतिहरूद्वारा श्रमिकलाई दिइने पारिश्रमिक वा तलब घटाएर वा धेरै घण्टा काम गराएर पनि कम पारिश्रमिक दिएर जुन आर्थिक शोषण गरिन्छ, त्यसले मजदुर वर्गलाई जीवन धान्न गाह्रो हुन्छ र अन्तमा विद्रोह गर्न पुग्दछन् ।
यी दुई शीर्षक अलगावको भावना (Feeling of alienation) र आर्थिक शोषण (Economic exploitation) का कारण कम्युनिस्ट क्रान्तिको लागि चरणबद्ध सुरूवात (Set the stage for a communist revolution) हुन्छ । यसले विष्फोटक रूप त्योबेला लिन्छ, जुनबेला कुनै न कुनै रूपको आर्थिक मन्दी (Economic crisis) को सुरूवात हुन्छ ।
पुँजीवादी समाजको मेरूदण्ड भनेको व्यापार चक्र (Business circle) हो । अत्यधिक वृद्धिपश्चात एउटा भयानक मन्दीको सामना गर्नुपर्ने हुन्छ, त्यो जुनसुकै प्रकारको हुन सक्छ ।
आर्थिक मन्दी आयो भने के हुन्छ ? आर्थिक मन्दीको मतलब नागरिकको चुलो चिसो हुनु, नोकरीबाट निकालिनु, भयानक वा सामान्य रोगको उपचार गर्न नसक्नु ।
यसबाट सबैभन्दा बढी मजदुर प्रभावित हुनेछन् । मजदुर वर्गको आम्दानी प्रभावित हुँदा क्रयशक्तिमा ठूलो ह्रास आउँछ, साना किसान समेत प्रभावित हुनेछन्, जो भूमि वा कृषि उपजसँग सम्बन्धित छन् । जस्तै तरकारी, दुध, मासु जस्ता साना व्यवसाय आदि र यस्ता थुप्रै व्यवसाय । आम्दानी छैन, नोकरी गएपछि चरम गरिवीमा रहनुनै बाध्यकारी अखस्थाको श्रृजना हुन पुग्छ । चोरी, डकैती, हत्या आदि गर्न पनि पछि नपर्ने स्थिति श्रृजना हुन जान्छ । सामान्य सामाजिक कानूनको धज्जी उड्ने अवस्था श्रृजना हुन पुग्छ । त्यतिखेरै मजदुर किसान चरम गरिवीका कारण एउटै कुरामा ध्यान दिनेछन् कि हामी यत्ति धेरै मेहेनत र दुःख गर्दा पनि चरम गरिवी झेलिरहेका छौँ, उही समयमा पूँजीपति वर्गलाई केही फरक परिरहेको छैन ? उनीहरु उच्चस्तरीय जीवन बाँचिरहेका छन् । हामीमा के कुराको कमी छ र ? यस्ता प्रश्न तथा सवालहरूले जब आम मानिसको मस्तिष्कमा घच्घच्याउँछ, तब एउटा भयानक आशासहितको विद्रोह सुरू हुन्छ ।
त्यही आर्थिक मन्दीनै कम्युनिस्ट क्रान्तिका निम्ति प्रस्थान विन्दु सावित हुन सक्दछ । अर्थात् भविष्यको समाजवाद उन्मुख मजदुर किसानको सत्ता स्थापित गर्ने यो बलियो अवस्था हो । आर्थिक मन्दीले निसास्सिएका नागरिक नोकरी विहीन अवस्थामा पुगिरहेका छन् । सानो भन्दा सानो सरकार विरोधी आह्वान पनि विशाल जनसभामा परिणत भइरहेका छन् । यो अवस्था झण्डै मार्क्सले ब्याख्या गरेजस्तै अवस्था हो ।
फरक यत्ति हो, यतिखेर नेपालमा कम्युनिस्ट पार्टीको आवधिक सरकार छ । मार्क्सले कल्पना गरेको समाज वर्गविहीन हो । तर नेपाली कम्युनिस्टहरूले पुँजीवाद मै विश्राम लिएका हुन् वा होइनन् ? वा सत्ताबाहिर छँदा समाजवाद अलाप्ने र सत्तामा पुगेपछि यथास्थितिमै रहने ? यो द्वैध चरित्र नेपाली पुँजीवादभित्र शोषित समाजले कहिलेसम्म पचाउन सक्लान् ? वा पुँजीपतिको संरक्षणमै वर्तमान कम्युनिस्ट सरकार रमाउलान् ? वा दुई-चार वटा राष्ट्रवादी निर्णय लिनु नै कम्युनिस्ट पार्टी हो भनेर नागरिकले मानिदिइरहलान् ? यस्ता यक्ष प्रश्नहरुका लागि नै मैले माथि मार्क्सवादी दार्शनिक तथा आर्थिक प्रस्थापनाहरूको ब्याख्या गर्ने प्रयास गरेको हुँ ।
दुई-चार वटा राष्ट्रवादी काम मात्र गरेर आवधिक कम्युनिस्ट पार्टीको सरकारले धर पाउनेवाला छैन । मूलतः कोरोनाको कारणले बनाएको बन्दी र आगामी मन्दीलाई कसरी सम्बोधन गर्ला ? यो अहिलेको टड्कारो र न्यूनतम समस्यालाई टार्ने मेसो के-के हुन् ? यी समस्याहरुलाई कम्तिमा मजदुर, किसान र सर्वहारा वर्गका लागि प्याकेज घोषणा नगरी यथास्थितिमा बस्ने वा कर तथा अन्य आर्थिक सवालमा नागरिकलाई च्याप्ने हो भने समाजवादतर्फ अघि बढिरहेको भनेर आम नागरिकले कसरी पत्याउने ? वर्तमान सरकारको अनुहार मार्क्सले ब्याख्या गरेजस्तै आम, सर्वसाधारण, सर्वहारा वर्गका लागि हो भनेर पत्याउने न्यूनतम आधारहरू समाप्त भइसकेका छन् ।
भ्रष्टाचारमा लिप्तहरुको ढाकछोप, एमसीसी जस्ता अनुदारवादी सहयोगको वकालत गर्नमा व्यस्त, कम्युनिस्ट पार्टीको सरकार, नागरिकलाई कर तिर्न उर्दी जारी गर्ने, वर्तमानमा १/२ ओटा राष्ट्रवादी चुनावमुखी काम गरेर बाहबाही बटुलेर बसेकोमा बाहेक सर्वहारा वर्गको हितको दिशामा, आउँदो भयानक मन्दीको सामना गर्ने दिशामा कतै पनि देखिएन ।
अब निकट भविष्यमा आउने महामन्दीले विश्वलाई आक्रान्त पार्दा नेपाललाई नछुने कुरै छैन । त्यसको हल्का प्रतिबिम्ब अहिल्यै देखिइसकेको छ भने महामन्दी सँगसँगै उर्लने विद्रोहलाई समयमै बुझेर सम्बोधन गर्ने वा विद्रोहको सामना गर्न तैयार हुने, नत्र यो सरकार कुनै पनि हिसाबले समाजवादी हुँदै होइन र विद्रोहलाई सम्बोधन गर्न सच्चा कम्युनिस्टहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुने बेला आइसकेको छ ।
(लेखक वामपन्थी नेता हुनुहुन्छ ।)