यतिबेला नेकपाका अध्यक्षद्वय क. केपी ओली र क. प्रचण्डको मुख्य जिम्मेवारी के हो ? पहिलो, विश्व इतिहासको सिंहावलोकन गरेर, दुरगामी सोचका साथ युगका चुनौती र सम्भावनाहरू पहिल्याएर कम्युनिस्ट एकता सुदृढ गर्दै समाजवादी क्रान्तिको खोजी गर्न, मार्क्सवादी दर्शन र वैज्ञानिक समाजवाद विकास गर्न विशेष योगदान गर्ने ।
दोश्रो, नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको एकता सुदृढ गर्दै वैज्ञानिक र जनमुखी राष्ट्रिय नीति र योजना अघि सारेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा जनताको जीवनमा लागु गर्न नेतृत्वदायी र कार्यकारी भूमिका निर्वाह गर्ने ।

यसबाहेक अरू पनि धेरै जिम्मेवारी छन् तर ती सहायक हुन् । यो कुरा दुवै नेताले निकै राम्ररी बुझेका छन् । इतिहासले उनीहरूलाई युगन्तकारी जिम्मेवारी सुम्पेको छ । उनीहरूले यो जिम्मेवारी बहन गर्न सकेनन् वा चुके भने त्यसको क्षति राष्ट्रले नै बेहोर्नुपर्ने जटिल स्थिति पैदा हुन्छ । यसबारेमा नेकपाका सबै नेता, कार्यकर्ताहरू सजग छौँ ।
इतिहास साक्षी छ, पूर्वराजाहरू निरङ्कुश बाटो हिँडे । प्रजातन्त्रवादी नेताहरू चोर बाटो दौडे । लाटा सोझा जनता कच्ची बाटोमै लत्रे । त्यसकारण अहिले पनि नेपालको नाम संसारका अति गरिब राष्ट्रहरूको सूचीमा लेखिएको छ । अर्थात नेपाल तेश्रो विश्वमा गनिन्छ । तेश्रो विश्वमा गनिने राष्ट्र भन्नाले तन्नम राष्ट्र । तन्नम राष्ट्र भन्नाले कुनै भरपर्दो राजनीतिक स्थीरता र समृद्धि नभएको, गएगुर्जेको देशका रूपमा चिनिन्छ ।
पटकपटक सत्तामा पुगेका नेपालका शासक प्रशासकहरूले यो कठोर सत्य अस्वीकार गरे पनि हामी नेपालीहरू धेरै पहिलेदेखि दुःखी गरिबी झेल्न, अभाव, तनाव सामना गर्न विवश छौँ ।
अब नेपालले तेश्रो विश्वबाट पहिलो विश्वमा फड्को मारेर तीव्र विकास, समृद्धि र समाजवादमा श्रेष्ठता प्रदर्शन गर्न कस्तो विचार, नेतृत्व, नीति, विधि, प्रविधि एवम् सभ्यता, साहित्य, कला र संस्कृति विकास गर्नुपर्छ ? यसबारेमा नेपालका कम्युनिस्ट नेताहरू र अन्य गैरकम्युनिष्ट नेताहरूले के सोचेका छन् ?
पटकपटक प्रधानमन्त्री, मन्त्री बनेर जीवनभरि सत्ता र शक्तिमा रनभुल्ल हुने अवसरवादी नेताहरू वा भ्रान्तिमा परेर जिन्दगी नै राजनीतिक गोलचक्करमा बिताउने केही बोलक्कड नेताहरूलाई यसबारेमा सोच्ने फुर्सदै छैन् ।
यो देशका काँग्रेसहरू सच्चा काँग्रेस बनेर लोकतन्त्र सुदृढ गर्न किन सकेका छैनन् ? स्थानीय निकाय, प्रदेश र संघीय सरकारको नेतृत्व गरिरहेका यो देशका शक्तिशाली कम्युनिस्टहरू सिद्धान्तनिष्ठ कम्युनिस्ट बनेर समाजवादमा अघि बढ्न किन हच्किएका छन् ? यो राजनीतिक प्रश्नको व्यावहारिक जवाफ दिने सुनौलो अवसर अर्थात जीवनकै अन्तिम अवसर क. केपी ओली र क. प्रचण्डले पाएका छन् भन्दा अतिसयोक्ति नहोला ।
दिल खोलेर सत्य बोल्दा, लेख्दा जसले जेसुकै भनोस्, जस्तोसुकै ठानोस्, मैले देशलाई सबैभन्दा धेरै माया गर्छु, जनताप्रति पूरै विश्वास गर्छु, राष्ट्र र जनताको सेवा गर्नु मेरो मुख्य जिम्मेवारी हो । यो कुरा महशुस गरेर यसपटक राष्ट्र, जनता र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व गरिरहेका क. केपी ओली र क. प्रचण्डलाई खुला अनुरोध गर्ने जमर्को गरेको छु ।
(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ।)